पोखरा । पोखराको फिर्केखोलाको खोलाघरभित्र पर्ने १ सय ६० वटा संरचना भत्काइएको छ । पोखरा महानगरपालिकाले १० दिनअघि सुरु गरेको सो अभियानमा तत्काल भत्काउनुपर्ने १ सय ६० वटा स्थायी वा अस्थायी संरचना डोजर लगाएर भत्काइएको हो । पोखराको मुख्य बजार क्षेत्र भई बग्ने फिर्केखोला स्थायी वा अस्थायी संरचनाका कारण यसको अस्तित्व मेटिँदै गएको थियो । फिर्केखोलाको संरक्षण, विकास तथा सौन्दर्यीकरण अभियानअन्तर्गत महानगरले खोलाघर खाली गर्ने अभियान चलाएको हो ।
गत १० जेठमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जिरो किमीबाट खोलाघरका संरचना भत्काउने कार्यको उद्घाटन गरेका थिए । यो अभियानमा सम्बन्धित वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगर सभा सदस्य, सचिव तथा कर्मचारीहरु, सुरक्षाकर्मीसमेतको उपस्थितिमा महानगरले विभिन्न ३ केन्द्र मान्दै त्यहाँबाट डोजर चलाएको हो । खोलाघरका संरचना भत्काउने क्रममा पाँचतले भवन पनि भत्किन पुगेका छन् ।
केही भवनहरु आंशिकरुपमा भत्काइएको छ, किनकि आफैँ भत्काउने आश्वासन दिएका केही व्यक्ति तथा संस्थाहरुलाई भने समय दिइएको हो । अव्यस्थित बसोबास गर्दै आएका सुकुमबासीहरु पनि हटाइएको छ । उनीहरुको उचित व्यवस्थापन गर्ने महानगरले जनाएको छ । आंशिक रुपमा हटाइएका तर पूर्णरुपमा हटाउन बाँकी संरचनाहरु आफैँ भत्काउन लिखित प्रतिबद्धता जनाएका व्यक्ति तथा संस्थाहरुले तोकेको समयमै आफैँ हटाउन पनि महानगरले अनुरोध गरेको छ ।
पोखरा वडा १८, अँधेरीकुना मुहान रहेको यो खोला पोखराका विभिन्न ८ वटा वडा भई फेवातालमा पुगेर मिसिन्छ । फिर्के वडा १८ बाट सुरु भई वडा २, ४, ५, ६, ७, ८ र १७ भई बग्दै आएको छ । केही दशकअघिसम्म यहाँको पानी पिउनयोग्य रहेको बूढापाका बताउँछन् । बढ्दो सहरीकरणका कारण क्रमशः दुर्गन्धित र अतिक्रमणको पर्दै गएको हो ।
फिर्केखोला संरक्षणका लागि मेयर आचार्यकै कार्यकालको सुरुआततिर २०८० असारमा प्राविधिक नापजाँच गरिएको थियो । नापजाँचपछि पिल्लर गाडेर खोलाको सिमानाभित्र पर्ने निर्माण भएका अस्थायी–स्थायी सबै १ सय ६० संरचना रहेको पाइएको थियो । ती संरचना हटाउन पोखरा महानगरले ३ वर्षअघि पनि प्रयास थालेको हो । तर उच्च अदालत पोखरामा रिट प¥यो । लामो समयपछि अदालतले महानगरकै पक्षमा फैसला गरेपछि पुनः महानगरले सार्वजनिक सूचना जारी गर्दै अघि बढेको हो । फिर्केको मापदण्ड यसअघि १० मिटर कायम गरिएकोमा महानगरले सरोकारवाला र विज्ञसँगको छलफलपछि ६ मिटरमा झारेको छ ।
फिर्के खोलालाई दक्षिण कोरियाको चेओङगेचेन खोलालाई जोडेर प्रचार गरिएको छ । मेयर आचार्यले चेओङगेचेन खोलाकै परियोजना फिर्केमा लागु गर्ने काल्पनिक योजना अघि सारेका हुन् । चिओङगेचेन त्यस्तो खोला हो, जुन लामो समय राजमार्ग र ढल निकासका लागि प्रयोग भएकोमा २३ वर्ष पहिले पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको थियो । त्यहाँ हाल दैनिक ६४ हजार र वर्षभरी २ करोड ३० लाख पर्यटकले भ्रमण गर्छन् । पछिल्लो २० वर्षमा ३ सय ३० मिलियन अर्थात् ३३ करोडभन्दा बढी मान्छेले भ्रमण गरिसकेको तथ्यांक छ ।
एशियाली विकास बैंकको साझेदारीमा महानगरपालिकाले पोखराको फिर्केलाई त्यस्तै खालको बनाउने लक्ष्य लिएको छ । जसअनुसार करिब ८ किमी लामो फिर्के खोला दायाँबायाँ व्यवस्थित फुट ट्रेल, सुरक्षित साइकल लेन, मर्निङ तथा इभिनिङ वाकका लागि आकर्षक गन्तब्य निर्माण गरिने लक्ष्य छ । एशियाली विकास बैंकले ६२ करोड रुपैयाँ सहयोग गर्ने जनाइएको छ । यसैबीच, फिर्खेखोलाको मापदण्डभित्र निर्माण भएका संरचनाको सन्दर्भ तथा फिर्केखोला करिडोर निर्माण परियोजना’bout विस्तृति जानकारी चाँडै दिइने पोखरा महानगरले जनाएको छ ।
पोखरा महानगरले फिर्केखोला संरक्षण अलावा पोखरा बसपार्क मिचेर बनाइएका संरचनामा समेत यसै साता डोजर चलाउने तयारी गरेको छ । पृथ्वीचोकस्थित सार्वजनिक जग्गामा निर्मित केही भवनमा भने गत साता डोजर चलाएर भत्काइसकिएको थियो ।
सम्बन्धित समाचार
अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सभामुखको व्यवहारप्रति सांसदको प्रश्नैप्रश्न
प्रधानमन्त्री जनताप्रति उत्तरदायी र जिम्मेवारी नभएको कांग्रेसको निष्कर्ष
आज १८ खर्ब ९० अर्बहाराहारी बजेट ल्याइँदै
वीरगन्ज महानगरका महानगर प्रमुख सिंह पक्राउ
गण्डकीको नीति तथा कार्यक्रम: रिटर्न टु भिलेज
रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिच भेटवार्ता






