जनकपुरधाम । शीतभण्डार निर्माणको रकम भुक्तानी गर्न माग गर्दै किसानले मधेश प्रदेशको कृषि तथा सहकारी मन्त्रालयको लेखा शाखा तथा खाद्य शाखामा तालाबन्दी गरेका छन् । तालाबन्दीपछि उनीहरू मन्त्रालयमै धर्नामा बसेका छन् ।
प्रदेश सरकारले २०७६ जेठ २९ गते शीतभण्डार निर्माणका लागि कृषक समूहसँग सम्झौता गरेको थियो । कृषक समूहले शीतभण्डार निर्माण शुरू गरिसकेका छन् । तर, अहिलेसम्म रकम भुक्तानी नगरेपछि आन्दोलनमा उत्रिनुपरेको किसान समेत रहेका जनता समाजवादी पार्टीका नेता शेषनारायण यादवले बताए ।
उनीहरू पाँच वटा माग राखेर आन्दोलनमा उत्रिएका छन् । शीतभण्डारको रकम अविलम्ब भुक्तानी गर्न, किसानलाई समयमै पर्याप्त मलखाद, बीउबिजन उपलब्ध गराउन, प्रदेशको कृषि मन्त्रालय अन्तर्गत सञ्चालन हुने अनुदान, सेवासुविधा र विभिन्न योजनामा एकरूपता कायम गरी किसानको हकहित सुनिश्चित गर्न, शीतभण्डारको बाँकी कार्य अघि बढाउन माग गरेका छन् । यसैगरी कृषि उपजमा प्राकृतिक तथा विभिन्न कारणले भएको क्षतिमा सहयोग उपलब्ध गराउन माग गरेका छन् ।
पटक पटक भुक्तानीका लागि निवेदन दिंदा पनि आलटाल गरेकाले बाध्य भएर आन्दोलनमा उत्रिने परेको यादवले बताए । तीन वर्षसम्म मन्त्रालयले भुक्तानि नदिंदा अप्ठ्यारो भएको उनको भनाइ छ ।
शीतभण्डारको काममा अनियमितता भएको भन्दै समाचार प्रकाशित भएपछि मन्त्रालयले रकम रोकेको थियो । मन्त्रालयले रकम दिन आनाकानी गरेपछि किसान अदालत पुगेका थिए।
शीतभण्डारका लागि तीन वटा समूहको चार करोडभन्दा बढी रकम भुक्तानी हुन बाँकी छ । कृषि मन्त्रालयकी सचिव नम्रता सिंहले रकम दिने विषय प्रक्रियामा रहेको बताइन् । पुरोना रकम भएकाले कानून मन्त्रालयसँग राय मागिएको उनको भनाइ छ ।







