राज्यको दयाले होईन डोल्पालीको संघर्षले समृद्ध बनेको जगदुल्ला


जुम्ला । जुम्लाबाट चार घण्टाको मोटर यात्रापछि जुम्ला, डोल्पा र जाजरकोट सिमाना मौरीलेक पुगिन्छ । समुन्द्री सतहबाट ४ हजार मिटर उचाइमा अवस्थित मौरीलेकमा झन्डै दर्जन ससाना घर छन् । वर्षायामको झरी होस् वा हिउँदको मुटु कमाउने जाडो, मौरीलेकमा यिनै घरले जुम्ला, डोल्पा र जाजरकोटका बटुवालाई कुखुराको प्वाँखझैं लुकाउँछन् ।

नेपालकै ठूलो जिल्ला, डोल्पा । डोल्पालीका दुःखका कथा पनि ठूलै छन् । आठ स्थानीय तह भएको डोल्पा क्रमशः विकास र प्रविधिसँग जोडिँदै छ । जुम्लासँग सिमाना जोडिएको जगदुल्ला गाउँपालिका सडक सञ्जालमा जोडिएपछि स्थानीयले पिठ्युँमा नुन चामलको भारी बोक्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् ।

जुम्ला–डोल्पा हुँदै मनाङ–मुस्ताङ जोड्ने सडक जगदुल्लासम्म विस्तार गरिएको छ । यही सडककै कारण जगदुल्ला समृद्ध बन्दै छ । मौरीलेकको भिर छिचोलेर जगदुल्ला गाउँपालिका केन्द्र हुँदै अघि बढेको छ, मनाङ–मुस्ताङ जोड्ने सडक । यही सडकले जगदुल्लावासीलाई १२ दिनको पैदल यात्रा गरी नुनचामल बोक्ने बाध्यता हटाएको छ ।

अहिले फोनकै भरमा सामान बस्तीबस्ती पुग्छ । ‘दुई दशकअघि १२ दिन हिँडेर जाजरकोट सल्ली बजारबाट उपभोग्य सामान बोक्नुपथ्र्यो,’ स्थानीय लालभक्त बोहोरा दंग पर्दै भन्छन्, ‘जुम्ला सडक सञ्जालमा जोडिएपछि दूरी घटेर तीन दिन पैदल यात्रा गर्नुपथ्र्यो, दुई वर्षयता आँगनमै गाडी पुग्छन् ।’

डोल्पा काममारा हिमालको शीतल छहारीमा हुर्किएका जगदुल्लावासी प्रकृतिकै कारण सम्पन्न पनि छन् र दुःखी पनि । चार महिना हिउँसँगै बस्छन्, यहाँका स्थानीय । हिउँ हेर्र्दा जति रमाइलो देखिन्छ, झेल्न डोल्पालीलाई त्यति नै कठिन छ ।

प्रकृतिले डोल्पालीलाई चिसो हिँउ मात्रै दिएको छैन, बहुमूल्य जडीबुटी पनि दिएको छ । जगदुल्लामा पाइने यार्सा, कटुकी, भुल्ते, सुमयो, सेतो चिनीजस्ता जडीबुटी संकलन गरेरै स्थानीय जीविका चलाइरहेका छन् । प्रतियार्सा ५ सयका दरले बिक्री भइरहेको स्थानीय धनशिला बोहोरा बताउँछिन् ।

कुल ९ वटा गाउँ मिलेर बनेको जगदुल्ला गाउँपालिका ८३.३० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । २०६८ को जनगणनाअनुसार यहाँको जनसंख्या २ हजार २ सय ७३ रहेको छ ।

डोल्पाका डोल्पोबुद्ध, से–फोक्सुन्डा, मुड्केचुला, काइके, छार्का ताङसोङ तथा जगदुल्ला गरी ६ गाउँपालिका र ठूली भेरी तथा त्रिपुरा सुन्दरी गरी दुई नगरपालिका छन् । डोल्पाका आठ पालिकामध्ये विकसित र व्यवस्थित पालिका जगदुल्ला हो ।

जुम्ला सडक पुगेको १४ वर्षपछि जगदुल्ला सडक सञ्जालमा जोडिएको हो । राज्यको दयाले होइन, डोल्पालीको निरन्तर ‘खबरदारी’ले सडक पुगेको छ । गाउँपालिका अध्यक्ष नारसिंह रोकायाका अनुसार २०६८ सालमा ‘जनता सहभागिता कार्यक्रम’बाट सडक बनाउनका लागि स्थानीयले काठमाडौं सिंहदरबार पुगेर धर्ना दिएका थिए ।

जगदुल्ला गाउँपालिका नारसिंह रोकाया अध्यक्षमा दोहोरिएका हुन् । २०७४ मा निर्वाचित रोकायासँग पाँच वर्षे अनुभव छ । जगदुल्ला गाउँपालिका भौतिक संरचनामा पनि अब्बल छ । पालिकासँग साढे ४ करोडमा व्यवस्थित प्रशासनिक भवन छ भने ४३ रोपनी जग्गा पनि छ । ‘हामी करोडांैं खर्चेर गाडी किन्ने, विलासी बन्ने होडमा छैनौं, नागरिकलाई कसरी सम्पन्न बनाउने ? भन्ने सपनामा छौं,’ गाउँपालिका अध्यक्ष रोकका भन्छन् ।

परम्परागत हानिकारक अभ्यासविरुद्ध जगदुल्लाले उल्लेख्य काम गरेको अध्यक्षको दाबी छ । पालिकाले गत आवमा अन्तर्जातीय विवाह गरेका ६ जोडीलाई १/१ लाख रुपैयाँ पुरस्कार दिएर ‘जातीय विभेद हटाउनुपर्ने’ सन्देश दिएको छ । संघीयताको मर्म र भावना झल्किने जगदुल्ला समृद्धिको यात्रातर्फ लम्किरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 476 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ