दैलेख । बिहीबारदेखि सञ्चालन हुने एसईई परिक्षामा दैलेखबाट ५ हजार ५ सय १८ जना विद्यार्थी परिक्षामा सहभागी हुने भएका छन् । नियमित समुहत साधारण तर्फका ४ हजार ६ सय ३, प्राविधिक तर्फका ९१ र ग्रेड वृद्धि तर्फका ८ सय २४ जना परीक्षार्थी परीक्षामा सहभागी हुने भएका हुन् ।
एसईई परीक्षामा नियमित समुहतर्फ २ हजार १ सय ८५ छात्र र २ हजार ४ सय १८ छात्रा रहेका छन् । त्यसैगरी प्राविधिक धारतर्फ ५५ जना छात्र, ३६ जना छात्रा छन् भने ३ सय ३८ छात्र, ४ सय ४६ छात्रा रहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तेजबहादुर थापाले जानकारी दिए । उनले भने, ‘दैलेख जिल्लामा एसईई परीक्षामा सहभागी परीक्षार्थी छात्रको संख्या २ हजार ५ सय ७८ छात्र २ हजार ९ सय ४० छात्रा गरी ५ हजार ५ सय १८ सहभागी हुने छन् ।’
दैलेखमा २४ परीक्षा केन्द्र तोकिएका मध्ये तीन केन्द्रमा महिला केन्द्राध्याक्ष रहेको जिल्ला शिक्षा ईकाई कार्यालयका प्रमुख थापाले बताए । महाबु गाउँपालिकाको गैडावाज मावि परीक्षा केन्द्रमा सरिता गुरुङ्ग, नारायण नगरपालिकास्थित त्रिभुवन मावि परीक्षा केन्द्रमा देवी बुढा र सरस्वती माविमा पार्वती पोखरेललाई केन्द्राध्यक्षमा नियुक्त गरिएको हो । नियमित समुहतर्फका २२ र ग्रेडवृद्धि तर्फका २ वटा गरी कुल २४ परीक्षा केन्द्र तोकिएको छ थापाले थपे । एसईई परीक्षा केन्द्रको तयारी पुरा भईसकेको सबै परिक्षा केन्द्रमा उत्तरपुस्तिका पुगिसकेको छ भने केन्द्राध्यक्षलाई अभिमुखिकरण गरी केन्द्रमा पठाएको जानकारी दिए ।
परीक्षाका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, प्रहरी र सहायक कर्मचारी र विद्यालय सहयोगी गरी झण्डै ८ सय ६७ कर्मचारी खटिनेछन् । दैलेखमा ७५ प्रतिशत हाजिरी नपुगेकै कारणले परीक्षा दिनबाट बञ्चित हुने विद्यार्थी नभएको इकाइ प्रमुख थापाले बताए । एसईई परिक्षा रहेको स्थानीय तहसँग समन्वय गरी परीक्षा केन्द्रमा कोरोना भाइरस रोकथामका लागि हेल्थ डेक्स स्थापनाको तयारी भइरहेको छ ।






