काठमाडौं । नेपालले साफ यू–२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । श्रीलंकालाई ३–० ले पराजित गर्दै लगातार दोस्रो जित निकालेपछि नेपाल फाइनलनजिक पनि पुगेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा बुधबार भएको खेलमा नेपालको लगातार दोस्रो जितमा कप्तान आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे ।
खेलको सुरुवातदेखि नै बल पोसेसन राख्दै श्रीलंकालाई दबाबमा राखेको नेपालले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । २४औं मिनेटमा मोहमेधु मुन्सिफले वान भर्सेस वानको स्थितिमा गरेका प्रहार पोलमा लाग्दै बाहिरिँदा श्रीलंका अग्रता लिनबाट चुक्यो । २९औं मिनेटमा नेपालले गोल गरे पनि फउल भएको भन्दै गोलले मान्यता पाएन ।
कृतिशरत्न छुन्जुको कर्नरपछि रिबाउन्डमा अजय चौधरीको शक्तिशाली प्रहार डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएको थियो । उक्त मुभमा आशीष राईले थेसान थुसमिकालाई फउल गरेको देखिएको थियो । ३८औं मिनेटमा कप्तान आयुष घलानको फ्रिकिकमा सुगम सुवालको हेडर पोस्ट नजिकैबाट बाहिरिँदा नेपाल अग्रता लिनबाट चुक्यो । ५९औं मिनेटमा कप्तान आयुषले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाए । अभिषेक वाइबाको क्रसमा श्रीलंकाका गोलरक्षक र डिफेन्डरबीच तालमेल नमिल्दा आयुषले पेनाल्टी बक्सभित्रबाट उत्कृष्ट फिनिसको नमुना पेस गरेका थिए ।
६५औं मिनेटमा कृतिश रत्न छुन्जुले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । कप्तान आयुषको पासमा छुन्जुले पेनाल्टी बक्स बाहिरबाट गरेको सशक्त प्रहारले सिधै जाली चुम्यो । ८४औं मिनेटमा मनग्य नकर्मीले गोल गर्दै नेपालको सहज जित पक्का गरे । सुगम सुवालको चलाखीपूर्ण पासमा गोलरक्षक पोजिसनमा नरहेका बेला मनग्यले वान टचमा फिनिस गरेका थिए । मनग्य दोस्रो हाफको सुरुमै सन्दीप कार्कीको स्थानमा मैदान छिरेका थिए ।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा गोलरक्षक ईश्वर गुरुङले वान भर्सेस वानको स्थितिमा सुन्दर बचाउ गर्दै नेपालको खतरा टारे । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा अजय चौधरी र अभिषेक वाइबाले गोल लाइनबाट सम्भावित गोललाई क्लियर गरिदिए । लगातार दोस्रोसँगै अपराजित रहेको नेपाल दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।
समान ६ अंक नै रहे पनि बंगलादेश गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । भारत, माल्दिभ्स र श्रीलंका अंकविहीन छ । यू–१८ र यू–१९ को नाममा हुँदै आएको च्याम्पियनसिप यसपालिदेखि यू–२० को नामबाट भइरहेको छ । हालसम्म यसको तीन संस्करण सकिँदा नेपालले दुई तथा भारत एकपटक च्याम्पियन बनेको छ । अब, नेपालले १५ साउनमा आयोजक भारतको सामना गर्नेछ ।
राउन्ड रोविनको अन्तिम खेल नेपालले १७ साउनमा बंगलादेशसँग खेल्ने तालिका छ । सहभागी पाँच टोलीको राउन्ड रोविनपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल २० साउनमा हुनेछ ।
भारत पहिलो खेलमै स्तब्ध
साफ यू–२० को आयोजकसमेत रहेको साबिक विजेता भारत पहिलो खेलमै स्तब्ध बनेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा बुधबार भएको खेलमा बंगलादेशले भारतलाई २–१ ले पराजित गर्दै च्याम्पियनसिपमा बलियो दाबेदारी प्रस्तुत गरेको छ ।
बंगलादेशको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराएको थियो । बंगलादेशलाई महत्वपूर्ण जित दिलाउन मोहम्मद अहमद नोभाले २ गोल गरे । भारतका लागि हिमांशु झांग्राले १ गोल फर्काए । २९औं मिनेटमा नोभाले गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाए ।
३५औं मिनेटमा गुरकिरतले बराबरी गोल फर्काए । परिवर्तित खेलाडीका रूपमा मैदान प्रवेश गरेको दुई मिनेटमा नै हिमांशुले बराबरी गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा नोभाले पेनाल्टीमा गोल गर्दै बंगलादेशको जितको आधार तयार पारे । दोस्रो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन् ।






