मुलुकभरका सिनेमा हल ४० दिनलाई बन्द

काठमाडौं । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस सन्त्रास मध्यनजर गर्दै सरकारले आगामी १८ वैशाखसम्म सिनेमा हल बन्द गर्न निर्देशन दिएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले यस्तो निर्णय गरेको हो । आगामी १८ वैशाखसम्म सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लबलगायत बन्द गर्ने निर्णय सो समितिले बुधबार गरेको हो ।

नेपालमा चलचित्र भवन यति लामो समयसम्म बन्द गर्न लागिएको यो पहिलोपटक हो । यसअघि २०५८ सालमा तत्कालीन राजा वीरेन्द्र र उनका परिवारको राजदरबारभित्रै हत्या हुँदा १८ दिनसम्म सिनेमा हल बन्द गरिएको थियो ।

२०७२ वैशाखको विनाशकारी भूकम्पका बेला भूकम्प प्रभावित क्षेत्रमा ७ दिनदेखि १५ दिनसम्म सिनेमा हल बन्द गरिएका थिए । यसरी मुलुकभरका सिनेमा हल सबैभन्दा लामो समय ४० दिनसम्म बन्द गर्न लागिएको यो पहिलोपटक हो ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिद्वारा बुधबार गरिएको निर्णयको बुँदा नम्बर २ मा यस्तो भनिएको छ, ‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने ।’

सिनेमा हल बन्द भएको छ कि छैन भनेर सरकारले अनुमगन पनि गर्ने भएको छ । सो अनुगमनको जिम्मा गृह मन्त्रालय, संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिइएको छ ।

सरकारको यो निर्णयसँगै आफूहरूले मुलुकभरका सिनेमा हल सञ्चालक सदस्यलाई ६ चैतबाट आगामी १८ वैशाखसम्म सिनेमा हल बन्द गर्न निर्देशन दिइसकेको नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले बताए । ‘नेपाल चलचित्र संघका सम्पूर्ण सदस्यलाई हामीले भोलिबाटै हल बन्द गर्न सूचना सर्कुलर गरिसकेका छौं । अब यो अवधिमा दर्शकका लागि सिनेमा हल बन्द गरिनेछ ।’

यतिबेला मुलुकभर १९१ हल सञ्चालनमा छन् । यी सबै हल अब ४० दिनसम्म बन्द हुनेछन् । कोरोनालाई मध्यनजर राख्दै सरकारले ६ चैतबाट सिनेमा हल पनि बन्द गर्ने तयारी गरिरहेको बेला हल सञ्चालकको संस्था नेपाल चलचित्र संघका पदाधिकारीले मंगलबार अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडालाई भेटे ।

मन्त्रीसँगको सो भेटमा हल सञ्चालकले चलचित्र भवन बन्द गर्दा तिर्नुपर्ने ट्याक्स, बैंकको ऋणलगायतका विविध समस्या’bout जानकारी गराए । यस’boutमा मन्त्री खतिवडाले कर’boutमा सरकारले पछि छलफल गर्ने जवाफ हल सञ्चालकलाई दिएका थिए ।

नेपाल चलचित्र संघले सरकारले यो निर्णयलाई सकारात्मक रूपमा लिएको छ । चलचित्र संघका प्रवक्तासमेत रहेका महासचिव अशोक शर्माले भने, ‘स्वास्थ्यभन्दा ठूलो मनोरञ्जन होइन, त्यसैले अहिले सरकारले गरेको यो निर्णयलाई हामीले पूर्ण सकारात्मक रूपमा लिएका छौं ।’

उनले अगाडि थपे, ‘तर यो अवस्थामा सरकारले हामीसँग कर लिनु भएन । हामीले तिर्नुपर्ने बैंकको ऋणका लागि पनि सहुलितयको प्याकेज सरकारले दिनुपर्छ ।’ आफूहरूले मंगलबार राखेको यो मागलाई अर्थमन्त्रीले सकारात्मक रूपमा लिएको पनि महासचिव शर्माले बताए ।

सिनेमा हल दर्शकका लागि बन्द गरिए पनि प्राविधि कारणले दैनिक १ घन्टा प्रोजेक्टर र सातामा कम्तीमा एक दिन हल खोल्नैपर्ने कारण’bout शर्माले भने, ‘दिनमा कम्तीमा १ घन्टा हलमा प्रोजेक्टर एवं सरबर चलाएर त्यसको चिप्स, प्लेट र ब्याट्री चार्जलाई अपडेट राख्नुपर्छ । यसो नगर्दा महँगा प्रोजेक्टर केही दिनमै बिग्रिन्छन् ।’

यस्तै हलमा अक्सिजनको अभावले ढुसी पर्ने र सिटका कपडा सड्ने भएकाले सातामा एक÷दुई दिन हल खोलेर सरफाइसँगै केही घन्टाका लागि पँखा र एसी चलाउनुपर्ने आफूहरूको बाध्यता रहेको पनि उनले बताए । यसो गर्दा हल खोल्यो भनेर सकारको अनुगमन टोलीले कारबाही नगरोस् भन्ने जानकारी पनि उनले राजधानी दैनिकबाटै गराएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 386 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?