आज दर खाँइदै : स्वास्थ्यको ख्याल गरेर दर खान सुझाव

काठमाडौं । मिठा मिठा परिकारका साथमा सोमबार दर खाइँदै छ । आफ्ना दुःख भुलाउन र भोलिपल्ट बसिने हरितालिका तीजको अवसर पारी भाद्र शुक्ल द्वितीयाका दिन नेपाली महिलाले दर खाँदै छन् ।

दर खाने दिनबाट हरितालिका तीज सुरु हुन्छ । टाढाटाढा रहेका चेलबेटी माइतीघरमा भेला भएर वा आप्mनै घरमा रहेर खिर, गुँद, हलुवा, ढकनी, घिउ, दही दूध मिठाई, फलफूललगायतका मिठा परिकारको दर खाने चलन छ । भोलिपल्ट निराहार व्रत बस्ने भएकाले भोलिपल्टको आडका लागि अघिल्लो दिन साँझ अथवा बेलुकी शरीरलाई तागत दिने खालका परिकार बनाएर दर खाने चलन रहेको बुढापाकाको भनाइ छ ।

भोलिपल्ट निराहार व्रत बस्नुपर्ने भएकाले एक दिनभर शरीरमा शक्ति सञ्चय गर्ने खालका खाद्यवस्तु सेवन गर्ने गरिन्छ, भक्तपुरकी ७८ वर्षीय सरस्वती उपाध्यायले भनिन् । हरितालिका तीजका बेला पानी पनि नखाई व्रत बस्ने र त्यस दिन महिलाले नाचगान पनि गर्छन् । त्यसैले, शक्ति आवश्यक हुने भएकाले गुलिया र शरीरमा पूmर्ति दिने खालका वस्तु सेवन गरिन्छ । कतै कतै साँझमा अन्य चिज नखाई दर खाने प्रचलन छ भने कति ठाउँमा पहिले खाना खाएर मध्यरातमा दर खाने गरिन्छ । दर पकाउन महिलालाई श्रीमान, दाजुभाइ, छोराले पनि सहयोग गर्ने र रातको समयमा नाचगान गर्दै रमाइलो गर्ने परम्परा पनि यथावतै छ ।

हिन्दु महिला दिदीबहिनीले निराहार व्रत बसी हरितालिका तीज भने मंगलबार मनाउँदै छन् । पछिल्लो समयमा व्रत बस्ने तरिकामा भने परिमार्जन हुँदै आएको छ । दरको नाममा कतिले माछा–मासु तथा मादक पदार्थ सेवन गरेकोे पाइन्छ । ती परिकारमा उच्च क्यालोरीयुक्त भएको यस्ता खानेकुरा चाँडै भोक लाग्न नदिने र शक्तिवर्धक हुन्छन् ।

तीजका दिन बिहानै नुहाइधुवाइ गरी भगवान शिवको आरधना गर्दै महिला नाचगान र रमाइलो गर्नमा व्यस्त हुने गर्छन् । पौराणिक कालमा हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउन बसेको व्रतसँग यो हरितालिका तीज जोडिएको पाइन्छ । तीजका दिन विवाह भएका महिलाले मात्र नभई अविवाहिता महिलाले सुयोग्य वर प्राप्त होस् भन्ने कामनाका साथ व्रत बस्ने गर्छन् । कति भने मनमा शान्तिका लागि व्रत बस्ने गरेका छन् । धार्मिक दृष्टिकोणले राम्रो मानिएको उपवास स्वास्थका लागि पनि उत्तिकै राम्रो हुन्छ । व्रतले शरीरमा भएको विकार हटेर जान्छन् । यसले शरीरका नराम्रो कोलेस्ट्रोल हट्नुका साथै यसले तौल नियन्त्रणमा पनि सहयोग गर्दछ ।

स्वाथ्यकर्मीको सुझाव
दर खाने निहुँमा आफ्नो स्वास्थ्य बिग्रने खालका खाद्यवस्तु नखान चिकित्सकले सुझाव दिएका छन् । दरका रूपमा विभिन्न अखाद्य वस्तु, रंग हालेका मिठाई, विषादी हालेका तरकारी र फलपूmल खानाले स्वास्थ्यमा नराम्रो असर गर्ने मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बताए । ‘संस्कृति धान्ने निहुँमा हामी आप्mनै स्वास्थ्यमा समस्या निम्ताउन सक्छौं’, उनले भने ।

उनले यी अखाद्यवस्तुको साटोमा आप्mनै घरमा बन्ने खिर, हलुवालगायतका घरमै बन्ने खाद्यवस्तु खान सुझाव दिए । खाद्य वस्तु खाएर मात्र नभई मध्यरातमा दर खानाले निन्द्रा समेत बिग्रने हुँदा थप समस्या आउने उनले बताए । ‘अखाद्यसँगै निन्द्रा बिग्रिँदा रक्तचाप बढाउने, सुगर बढाउने, कोलस्टोर, थाइराइड, हृदयघातसमेत हुन सक्छ’, उनले भने, ‘मध्यरातको सट्टा ठिक्क समयमा दर खाएर, स्वास्थ्यवर्धक चिज मात्र खाने गरौं, तीजको यो दर खाने संस्कृतिलाई रमाइलोसँग जर्गेना गरौं । उनले चाडपर्वलाई खानेकुरासँग मात्र नजोड्न अनुरोध गरे ।

तपाइको प्रतिक्रिया
(Visited 378 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री शाहले देशवासीका नाममा गरेको सम्बोधनको पूर्णपाठ