काठमाडौं । हलमालिकले २७ भदौ सोमबार मुलुकभरका सिनेघर बन्द गर्ने घोषणा गरेका छन् । निर्माता, कलाकार, चलचित्र विकास बोर्ड प्रतिनिधि ‘वार्ता र सम्झौतामा नआएको खण्डमा नियमित सिनेमा हल बन्द गर्ने’ घोषणा हल सञ्चालकले गरेका छन् ।
सञ्चालकलाई नेपाली सिनेकर्मीले ‘विभिन्न गालीगजौल गरेको र स्वतन्त्र रूपमा कानुनअनुसार व्यापार गर्न नदिएको’ उनीहरूको आरोप छ । ‘आफूहरूले नेपाली र विदेशी सिनेमालाई समान रूपमा हेरेको र कसैलाई पनि पक्षपात नगरेको’ उनीहरूको दाबी छ ।
सोमबार देशभरका हल बन्द
नेपाली चलचित्र चलाउन ‘दबाब दिएको र नचलाउँदा गाली गजौल गरेको’ भन्दै हल सञ्चालकले हिजो बिहीबार बिहानैबाट आज शुक्रबारको ‘अग्रिम बुकिङ’समेत रोकेका छन् । तर, ‘चौतर्फी दबाब आएको’ भन्दै बिहीबार तीन हल सञ्चालकले भने ‘बुकिङ’ खुला गरेका थिए ।
उता, सञ्चालकले २७ भदौमा हल बन्द गरेको खण्डमा आफूहरूले भोलिपल्ट मंगलबारबाट ‘नेपाली चलचित्र प्रदर्शनी रोक्ने’ चेतावनी निर्माताले दिएका छन् ।
पछिल्लो समय नेपालीभन्दा विदेशी सिनेमालाई प्रदर्शनीमा महŒव दिएको आरोप हल सञ्चालकमाथि लाग्ने गरेको छ । विश्वकै लोकप्रियमध्यको अन्तर्राष्ट्रिय ‘बुसान फिल्म फेस्टिभल’मा समेत चयन भएको ‘ऐना झ्यालको पुतली’का निर्माता रामकृष्ण पोखरेलको टोलीले नेपालमा रिलिज गर्न चाहेका थिए । शुक्रबारबाट रिलिज हुने भनिएको ‘ऐना झ्यालको पुतली’का लागि हल माग गरिएको थियो तर हल दिइएन ।
यद्यपि, फिल्मका लागि नेपालमा मल्टिप्लेक सिनेहलले ‘सो’का लागि अस्वीकार गर्दै अग्रिम टिकट खुला गरेन । यसको नेपाल चलचित्र निर्माता संघले विरोध गरेको छ ।
संघद्वारा जारी विज्ञप्तिमा ‘नेपाली चलचित्र निर्बाध र समानान्तर प्रदर्शन हुनुपर्ने र विदेशी सिनेमाको हैसियतअनुरूप नै समान व्यवहार गरिनुपर्ने’ माग गरिएको छ । तर, पछिल्लो समय विदेशी सिनेमाका तुलनामा नेपालीलाई ‘सो कम दिएर समस्यामा पार्न खोलिएको’ संघको आरोप छ ।
‘पछिल्लो समय हल सञ्चालकलाई सिनेकर्मीले पत्रकार सम्मेलन नै गरेर देशद्रोहीजस्ता विभिन्न आरोप लगाउँदै अनावश्यक दबाब दिएपछि विरोधस्वरूप हल बन्द गर्ने निर्णय गरेका हौं,’ नेपाल चलचित्र संघका पूर्वअध्यक्ष प्रदीप कुमार ‘उदय’ भन्छन्, ‘यदि सरकारले कर छुटसहित सहुलियत दिएको खण्डमा नेपाली फिल्म मात्र चलाउन तयार छौं ।’
आफूरूलाई ‘नेपाली फिल्म चलाउन कानुनले कतै पनि दबाब नदिएको’ बताउँदै उनले ‘आफूखुसी जुनसुकै फिल्म चलाएर व्यापार गर्नसक्ने’ उल्लेख गरे । ‘हामीले बैंकबाट ऋण लिएर राष्ट्रियताका लागि हल खोलेका हैनौं र राष्ट्रिय सिनेमा जोगाउने काम चलचित्र विकास बोर्डको हो,’ उदयले राजधानीसँग भने, ‘दर्शकले जुन फिल्म हेर्छन्, त्यसैलाई महत्व दिन्छौं ।’
नेपाल चलचित्र निर्माता संघ अध्यक्ष नवल खड्का ‘हल खोलेर नेपाली फिल्म चलाउँ दिन भन्नेले अबका दिन विदेशतिरै गएर हल चलाए हुने’ प्रतिक्रिया दिए ।
‘हाम्रो माग विदेशी सिनेमाजत्तिकै समान सो नेपाली फिल्मलाई दिनुपर्छ भन्ने आग्रह हो,’ उनले भने, ‘त्यो आग्रहलाई नीतिगत रूपमा लागू गर्ने प्रयासमा रहनेछौं ।’
हल सञ्चालकसँग संस्थागत रूपमै वार्ता गर्ने खड्काको जोड छ । ‘यदि आपसी सहमतिको बाटो नखोजेर सोमबार हल सञ्चालकले बन्द गरेको खण्डमा मंगलबारबाट हामी नेपाली चलचित्र प्रदर्शन बन्द गर्नेछौं,’ खड्काले भने ।
नेपाल चलचित्र निर्देशक समाजले ‘आवश्यक सो नदिएर पक्षपात गरेको’ भन्दै बिहीबार विज्ञप्ति निकालेको छ । ‘ऐना झ्यालको पुतली’लाई सो नदिएर पक्षपात गरेको भन्दै समाजले भत्र्सना गरेको हो ।
उता, चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले ‘पहिलो प्राथमिकता राष्ट्रिय चलचित्र उद्योग रहेको’ प्रस्ट पारे । ‘कानुनअनुसार हल सञ्चालकले सबै फिल्म चलाउन पाउँछन्, तथापि नेपाली चलचित्रलाई प्रदर्शनीमा प्राथमिकता दिन हाम्रो आग्रह छ,’ उनले राजधानीसँग भने, ‘एकअर्कालाई दबाब दिएर झगडा गरेर राष्ट्रिय उद्योगको हित नहुने भएकाले हल सञ्चालक र निर्मातालाई बोलाएर वार्ताबाट समाधान खोज्नेछौं ।’






