काठमाडौं । शिवानी बस्नेत त्यस्तै कक्षा ५ मा पढ्दै थिइन् । उनी अध्ययनरत विद्यालयले एउटा कार्यक्रम राखेको थियो । सो कार्यक्रममा आफ्नो मन्तव्य राख्नु पर्ने भयो तिनै सानी बालिका शिवानीले पनि । जब कार्यक्रममा बोल्न उनी ‘स्टेज’ उक्लिन्, तर आवाज नै निस्केन । उनको आवाज ननिस्केपछि पछाडिबाट उनलाई ढाडस दिन खोजिन् एक जना म्यामले । भनिन्, ‘शिवानी बोल, बोल शिवानी बोल ।’
ती म्यामले सानी बालिका शिवानीलाई बोल्न हौंस्याइरहेकी त थिइन् नै, नेपथ्यबाट पनि सानो आवाजमा यस्तै प्रकृतिको शब्द उनको कानमा गुन्जिरहेको थियो ।

त्यसबेला ५ कक्षामा पढ्ने ती सानी बालिका, स्टेजमा उक्लेर पनि बोल्न नसकेकी ती बालिका शनिबार भने भिन्न अवस्थामा स्टेजमा उभिएकी थिइन् । सेन्ट मेरिज स्कुल जावलाखेलकी ती पूर्व विद्यार्थी शिवानी सो विद्यालयको अभिभावक दिवसको प्रमुख अतिथीका रुपमा कार्यक्रममा उपस्थित भएकी थिइन् । अर्थात् सबैको आकर्षणको केन्द्र बनेकी थिइन् ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा विगतलाई यसरी सम्झिइन् शिवानीले । ‘म त्यही व्यक्ति हुँ, त्यो बेलाको यही स्कुलको स्टेजमा आवाज निस्कन गाह्रो परेको म, आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरमहरुमा बोलिरहेको छु । महत्वपूर्ण विभिन्न स्टेजहरुमा राष्ट्रका तर्फबाट प्रतिनिधित्व गरिरहेको छु । द्विपक्षीय तथा बहुपक्षीय वार्ता, संवाद र नेगोसिएसनमा राष्ट्रको तर्फबाट प्रतिनिधित्व गरिरहेको छु । यसमा मेरो मेहनतका साथै मेरो अभिभावकले पु¥याएको योगदान तथा स्कुल एवं शिक्षक वर्गले गरेको त्याग र समर्पणको प्रतिफल हो भन्ने ठान्दछु,’ शिवानीले भनिन् ।

त्यसो त सो विद्यालयले शिवानीलाई त्यसै प्रमुख अतिथी बनाएको होइन । सेन्ट मेरिज स्कुलकै उत्पादन उनी सरकारी सेवाकै सर्वोत्कृष्ट मानिएको परराष्ट्र सेवाको उपसचिव छिन् ।
कार्यक्रममा मन्तव्यका क्रममा उनले भनिन्, ‘मेरो यो गौरव, योग्य वर्तमानको निर्माणमा सेन्ट मेरिज स्कूलको योगदान अविस्मरणीय र अतुलनीय छ । स्कुलले दिएको यही अनुशासन, सिकाएको नैतिकता र इमान्दारिताको संस्कार र मेहेनत गर्ने गुणले आज म सरकारी सेवाकै सर्वोत्कृष्ट मानिएको परराष्ट्र सेवाको उपसचिव भएको छु । मेरो यो गौरवयोग्य वर्तमानको निर्माणमा सेन्ट मेरिज स्कुलको योगदान अविस्मरणीय र अतुलनीय छ ।’

त्यसो त शिवानी पढाइका हिसावले सो विद्यालयकी औसत छात्र थिइन् । आसैत छात्र भए पनि आफ्नो सफलतामा स्कुलले दिएको अनुशासन, सिकाएको नैतिकता र इमान्दारिताको संस्कार र मेहेनत नै प्रमुख कारण रहेको उनको भनाइ छ ।
‘औसतबाट अब्बल विद्यार्थीको दर्जामा गणना हुन निकै मिहेनत गर्थेँ । लोकसेवा परीक्षा दिने क्रममा त्यो क्षण मलाई याद छ जब मेरो सोच र लेखनको उचित तालमेल मिलेर जुन गतिमा उत्तर लेख्दै थिएँ, त्यो बेला पो बल्ल थाहा भयो त्यही औसत विद्यार्थीबाट अब्बलमा गणना हुन स्कुलले सिकाएको मिहेनती हुने बानीले मेरो जीवनमा ठूलो प्रभाव पारेको रहेछ । त्यसदिन म लोकसेवा परीक्षाका सबै प्रश्नका उत्तरहरु सहजरुपमा समाधान गर्दै एक औसतबाट अब्बल विद्यार्थीका रुपमा स्थापित भएँ । त्यसैले आफूले गरेको मेहेनत कहिले खेर जाँदैन र मेहेनतको विकल्प अझ बढी मेहेनत नै हो भनेर मलाई सेन्ट मेरिज र यहाँका शिक्षकहरुले नै सिकाएको हो ।’

त्यसो त कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रित भएपछि उनी पनि अचम्ममा परिन् । उनले घरमा सोधिन् पनि–‘मुलुकमा यत्तिका स्कुलहरुको भीडमा मेरो अध्ययनको पहिलो रोजाइमा किन प¥यो यो स्कुल ?’ जवाफ दिँदै उनका बाबुले भने, ‘हामी सुरक्षा सेवाका मान्छे, परिवारलाई खासै समय पनि दिन नसकिने, न्यूनतम फि तथा सन्ततिको भविष्यको चिन्ता लिनु नपर्ने ठानेर यस स्कुलमा पढाएको हो छोरी ।’
त्यसपछि प्रमुख अतिथीका रुपमा उनको भनाइ थियो, ‘अभिभावक वर्गको यो विश्वास वास्तवमै स्कुलका लागि सम्पत्ति हो र विद्यार्थीका लागि उज्वल भविष्यको ढोका पनि । त्यो ढोकाबाट छिरेका हामीले आज हरेक विहानीसँगै आइपर्ने विभिन्न बन्द ढोकाहरुलाई चिर्दै र छिचोल्दै अगाडि बढिरहेका छौं । जुन कार्यका लागि आवश्यक ज्ञान कौशल तथा साहस र जुक्तिहरु यसै विद्यालय तथा शिक्षक वर्गको परिश्रमको उपज हो भन्दा अन्यथा हुदैन । सेन्ट मेरिज स्कुलले वास्तवमा विद्यार्थी वर्गलाई अनुशासन सिकाएको छ, कर्तव्य र दायित्व सिकाएको छ, नैतिकता र इमान्दारिताको संस्कार दिएको छ, भविष्यका चुनौतीलाई सामना गर्ने कला सिकाएको छ, सामथ्र्य दिएको छ ।’

कार्यक्रममा ५ कक्षासम्म अध्ययन गरिरहेका छात्राहरुले विभिन्न सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा क्षेत्रीय निर्देशक सिस्टर जेसि.सि.जे, प्रबन्धक सिस्टर मरिसा सि.जे, प्रधानाध्यापक सिस्टर लिलियन सि.जे, शिक्षकर अभिभावकहरुको उपस्थिति थियो ।






