मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि प्रयोग हुने अधिकांश निर्वाचन सामग्री विदेशबाटै आयात गरिएपछि नेपाल अब परनिर्भरताको पराकाष्टामा पुगेको देखिएको छ । निर्वाचन आयोगले केन्द्र र जिल्ला गरी दुई निकायबाट निर्वाचनका लागि ७२ प्रकारका सामग्री खरिद गरेको छ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक सामग्रीको लिस्ट तयार गरी खरिदका लागि केन्द्रीय कार्यालयमार्फत बोलपत्रबाट ५७ प्रकारका सामग्री खरिद गरेको छ । ती सामग्रीमा अधिकांश विदेशबाट मगाइएका सामग्री रहेका छन् । त्यसैगरी, जिल्ला तहबाट १५ प्रकारका सामग्री मगाउँदा पनि धेरैजसो विदेशबाटै मगाइएका सामान परेका छन् । आयोगले मतपेटिका उत्तरी छिमेकी देश चीनबाट ल्याएको छ भने सियो, लाह छापदेखि स्टेसनरीका सम्पूर्ण सामग्री दक्षिणी छिमेकी देश भारतबाट खरिद गरेको छ । हेर्दा सामान्य लाग्ने तर नेपालमा त्यसको उत्पादन नहुने मतपेटिका स्टिकर र परिचयपत्र, छपाइसम्बन्धी पोलबुक तथा कार्ड, सुरक्षण सिल, रबर म्याट, स्वस्तिक छाप, स्ट्याप्लर मेसिन, स्ट्याप्लर पिन, छेकबार, स्ट्याम्प प्याड, मसी, मार्कर, सिसाकलम, सोसर, प्लास्टिक थैलो, बोरा, फोटोकपी पेपर, स्केल, कैंची, जेलपेन, मार्कर पेन, पन्चिङ मेसिन, कार्ड होल्डर, सलाई, धागो, ग्लुस्टिक तथा कोरा कपडा अनि डोरी, सियो, खापसियो र मैनबत्तीसम्म भारतबाट खरिद गरिएको छ ।
आयोगले सार्वजनिक जानकारी गरेअनुसार निर्वाचन प्रयोगमा ल्याउने १ लाख २० हजार थान मतपेटिकामा जगेडा केही मतपेटिकाबाहेक सबै अहिले नै खरिद गरिएका छन् । स्थायी मतदान स्थल १० हजार ८ सय ९२ र मतदान केन्द्र २२ हजार २ सय २७ निर्धारण गरिएकाले हरेक मतदान केन्द्रमा पठाइने कम्तीमा चारदेखि बढीमा पाँचवटा मतपेटिका विदेशबाटै खरिद गरिएका छन् । नेपालमा मात्र निर्वाचनका लागि प्रयोग गरिने ८ करोड ३ लाख ९४ हजार ५ सय थान मतपत्र छपाइ गरिएको छ । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीका लागि १ करोड ९८ लाख ७१ हजार थान, प्रदेशसभातर्फ प्रत्यक्षका लागि १ करोड ९९ लाख १८ हजार ५ सय थान, प्रतिनिधिसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि २ करोड ४ लाख २१ हजार थान र प्रदेशसभाको समानुपातिकतर्फका लागि २ करोड १ लाख ८४ हजार थान मतपत्र छपाइ स्वदेशमा भएको छ । यी मतपत्र धमाधम ढुवानी भइरहेका गाडीमा राखिने पेट्रोल÷डिजेल त झन् विदेशबाट नमगाई सुख्खै छैन । यो नेपालका लागि परनिर्भरताको उच्च रूप हो, जुन निकै दुःखद् छ । चीन र भारतबाट मगाइएका सामान सबै विदेशी करेन्सीमा खरिद गरिएको छ । आर्थिक संकटतर्फ उन्मुख देशका लागि यो डरलाग्दो अवस्था हो ।
सियो र धागोदेखि अन्य सबै सामग्री विदेशबाटै आयात गरेर गुजारा गर्ने देशले अबका दिनमा उस्तै परे निर्वाचन पनि गर्न र धान्न सक्ने देखिँदैन । पहिलो कुरा, त स्वदेशमा केही सामग्री पाइन्छन् कि भनी प्राथमिकीकरण गर्ने चासो सरकार र सरकारी निकायलाई छैन । दोस्रो कुरा, नेपालमा सबै उद्योगधन्दा टाट पल्टिएकाले पनि यस्तो अवस्था सिर्जना हुन गएको छ । प्रणाली, विधि, प्रक्रिया र तरिका विकसित देशहरूको अपनाउने तर त्यसको व्यवस्थापनमा परनिर्भर रहने हुनाले पनि नेपालमा प्रणाली राम्रा भए पनि अविश्वास र वितृष्णा जन्मँदै गएको छ । सबै कुरामा परनिर्भर हुँदै जाने यस्तो प्रवृत्तिलाई आयोगलगायत सरकारका सबै निकायले नियन्त्रण गर्न सक्नुपर्छ ।





