लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको तथा सबभन्दा धेरै जनसंख्या भएको चीनमा विगतमा सम्पन्न वेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को दोस्रो सम्मेलनमा ३७ देशका राष्ट्र प्रमुख अगाडि हाम्रा राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो भाषा नभए पनि कनिकुथी अंग्रेजी बोल्ने मान्यतालाई तोड्दै गौरवसाथ नेपाली भाषामा सम्बोधन गरेको सुन्दा धेरै खुसी लाग्यो । त्यो सम्मेलनमा उपस्थित धेरैजसो राष्ट्र प्रमुख पुरुष भए पनि हाम्रो देशका राष्ट्र प्रमुख महिला हुँदा गर्वले अझै शिर ठाडो भएको अनुभव भएको थियो । तर, त्यतिखेर शिर ठाडो भएको अनुभव धेरैबेर टिक्न सकेन ।

त्यही दिन शुक्रबार दाइजो नल्याएको निहुँमा सिरहा घर भएकी कञ्चन मण्डलको मट्टितेल खन्याएर आधा शरीर जलेपछि मृत्यु भयो । यस घटनाले समस्त नेपालीको शिर झुकाएको अनुभव भयो । बीआरआई सम्मेलनले गरिबी निवारणमा पनि सहयोग पु¥याएको चर्चा भइरहँदा एउटा गरिब परिवारकी कञ्चन मण्डललाई दाइजोको निहुँमा जिउँदै जलाएर हत्या प्रयास भएको भनिएको थियो । अन्तमा ५० प्रतिशत शरीर जलेकी उनी डेढ वर्षीय छोरीलाई टुहुरो बनाउँदै मृत्युवरण गर्न पुगेकी थिइन् । हामीले पनि बर्सेनि अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्ध नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म १६ दिने अभियान चलाइरहेका छौं । यो अभियानको नारा ‘सभ्य समाजको पहिचान, लैंगिक हिंसाविरुद्ध अभियान’ तय गरिएको छ । जस्तासुकै नारा राखेर अभियान चलाइए पनि लिंगकै आधारमा हेर्ने हो भने महिलामाथि हुने चरम दुव्र्यवहार भने कम हुन सकेका छैनन् । हालै महोत्तरीकी नेहा चौधरीलाई बिहेपश्चात् उनका श्रीमानलगायतले गालीगलौज, कुटपिटसँगै अनेकौं यातना दिएका घरेलु हिंसाका भिडियो सञ्चार माध्यमभरि फैलिएका छन् । ११ कक्षामा पढ्ने कलिली नेहालाई उनका परिवारले २ करोड खर्चेर गरिदिएको विहेपश्चात् दाइजो कम भएको निहुमा कुटपिटपश्चात रगताम्य भएर अस्पतालमै भर्ना गर्नुपरेका पीडा सुन्दा सबैका आङ सिरिङ हुन्छन् । सोर्सकै आधारमा उनको उजुरीलाई इलाका प्रहरीले लिन नमान्नु नेहामाथि गरिएको अर्को हिंसा हो ।

कस्तो विडम्बना ! सिंगो देश भनेको एउटा घर हो । यो घरका प्रत्येक सदस्य यही देशका नागरिक हुन् । तिनै सदस्यमध्ये एक जना नारी अगाडि, पछाडि सुरक्षा गार्डसहित पार्टी, भोज भतेरसँगै काममा रमाउँदै हुन्छिन् भने त्यहि देशकी अर्की नारी सदस्यका अगाडि, पछाडि यमराजरुपी श्रीमान र सासु कु्ररतापूर्वक मट्टितेल खन्याइ आगो लगाएर हत्या प्रयास गरेका वा हत्या नै गरेका दुःखद समाचारहरू आइरहन्छन् । दुई वर्ष अगाडिको चैत १५ गते वीरगन्जकी सुनिता यादवको उनका डाक्टर श्रीमानले २० लाख दाइजोले नपुगेर मारुती कार ल्याउन भन्दै कुटपिट गर्दा मृत्यु भयो ।

विश्व रफ्तारमा २१औं शताब्दीमा दौडिरहेको छ । पुराना कुरालाई सुधार्दै नयाँ कुराको खोजी तथा आविष्कार भइरहेको छ । हामी भने मानव सभ्यतालाई नै लज्जित तुल्याउने उही दाइजो, बोक्सी, छाउपडी प्रथा जस्ता कुरीतिलाई झनै अंगाल्दै गइरहेका छौं । पैंसासिवाय केही नदेख्ने रोगले देशलाई गाँज्दै लगेको प्रतीत हुन्छ । शरीरमा भएका एकसरो लुगाले आफूलाई भगवान भक्ति गर्न अप्ठ्यारो भएको भन्दै नांगै हिंड्ने अन्तिम जैन गुरु महावीरबाट केही सिक्न सकिन्छ । गाँस, बास र कपास तीनवटा चीजहरू छन् भने हाम्रो जीवन सजिलै बाँचिन्छ । पुस्तौं पुस्तासम्मलाई सम्पत्ति थुपारेर के काम ? छोरा, नाति आप्mनो लागि आफंै कमाउन सक्छन् । हामीले थुपारी दिएको सम्पत्तिले उनीहरूलाई घमण्डी, अल्छी र रोगी बनाउन सक्छ ।

अमेरिका, युरोपजस्ता विकसित देशमा आपूmले कमाएको सम्पत्ति अरूलाई जोगाएर राख्ने चलन छैन । आप्mनो सम्पत्तिले आफैं घुमघाम, मनोरञ्जन गर्ने गर्दछन् । स्कुलको पढाइ सकेपछि अगाडि पढ्न तिनका सन्तानले आफैं कमाउँदै पढ्नुपर्छ । यसकारण उनीहरू मेहनती र विकासका काममा अघि बढ्छन् ।

वर्षौं पहिले पश्चिममा छोरी बेच्ने चलन थियो । लुलो, लंगडो, विदुर वा केटीभन्दा धेरै उमेरको केटाले केटी माग्न आयो भने केटी पक्षले केटीलाई बेच्ने गर्दथे । यस्ता केटा पक्षले केटी पक्षले मागेजति पैसा दिएपछि केटी लिएर जान्थे । त्यो पैसाले माइती पक्षलाई केही राहत भए पनि बेचिएपछि माइतीले पैसा खाएर बेचेको भनेको सुन्नेदेखि अनेकौं दुःख बेहोर्नुपथ्र्यो केटीले नै । थोरै समयभित्र दाइजो नल्याएको निहुँमा निर्मला, सुनिता र कञ्चनको विभत्स तरिकाले हत्या प्रयास भयो ।

शारीरिक तथा मानसिक रूपले स्वस्थ भएको खण्डमा खेतमा काम गरेर पनि खान सकिन्छ तर, हिंसा सहनु हुन्न भन्ने प्रण गर्नुपर्छ

बिहे गर्ने बेला दाइजोसम्बन्धी भएको समझदारीलाई लत्याउँदै लामो समयदेखि दाइजो माग्दै कुटपिट गर्ने श्रीमानलगायतले माग्न सडकमा बस्दा बेस हुने देखिन्छ । ’cause सडकमा माग्न बस्नेलाई न कसैको हत्याको आरोप लाग्दछ न त कसैमाथि जबरजस्ती गरेर माग्नुपर्छ । दाइजोको निहुँमा कुटपिट गरेर पैसा असुल्नेभन्दा हजार गुणा राम्रो पेसा बरु सडकमा बसेर माग्नु । आफंै पनि पेटभरि खान नपाएर हुर्केकाहरू छोरा भएर जन्मेकै कारण ठूलो भएपछि बिहे गर्दा अर्काको गाँस–बास खोसेर कसरी खान सक्छन् ? सँगै जिउने, मर्ने सुख दुःखमा साथ दिन्छु भन्दै समाजका अगाडि अग्नि देवता साक्षी राखेर सात फेरा लगाउँदै कसम खानेले कसरी तिनै अर्धांगिनीको ज्यान लिने हर्कत गर्न सक्छन् ? सुन्दै आङ जिरिङ हुन्छ ।

हाम्रा पौराणिक कथामा वर्णन गरिएका राक्षस वा दैत्य सायद यस्तै मानव रूप भएका तर मानव हृदय नभएका प्राणीलाई दिइएको संज्ञा थियो । त्यसैले कलियुगका राक्षस हाम्रै गाउँ समाजमा निर्धक्क शिर ठाडो पारेर हिंडिरहेका देखिन्छन् । अब देवतारुपी सज्जन तथा शक्तिरुपी नारी मिलेर यस्ता दैत्यका क्रियाकलाप निर्मुल पार्न विलम्ब गर्नुहँुदैन । यस्ता नर पिचास आफ्नै काका, दाइ, मामा, भाइ, भतिजा, दिदी, काकी, सासु जो सुकै भए पनि कानुनी कठघरामा उभ्याउन कोही पनि पछि पर्नुहुँदैन । सबै मिलेर यस्तालाई सामाजिक बहिष्कार गर्न आनाकानी नगरौं । यस्ता व्यक्तिलाई सहयोग गर्ने अन्य आफन्त, नातेदारलाई पनि कानुन बनाएर कडाइका साथ लागू गर्न सक्यो भने महिलामाथि हुने जघन्य अपराध वा हत्याका घटना कम भएर जानेमा शंका छैन ।

विशेषगरी मधेसमा भइरहने दाइजो प्रथा, बोक्सीको आरोपमा मलमूत्र खुवाउने वा अन्य बहानामा नारी हिंसा गर्ने समुदायका पुरुषसँग कुनै पनि समुदायका नारीले विवाह नगर्ने अभियान चलाउन जायज हुन्छ । यही पृथ्वीको एउटा कुनामा यस्तो एउटा गाउँ पनि छ जहाँ बलात्कृत भएका महिला मात्र बस्छन् । त्यो गाउँमा उनीहरूले कुनै पनि बाहिरको पुरुषलाई प्रवेश निषेध गरिएको छ ।

हामीहरूले पनि सजक र हिम्मतसाथ अगाडि बढ्यो भने हिंसा सहेरै बस्नु पर्दैन । अधिकार मागेर पाइन्न खोसेर लिनुपर्छ भनेजस्तै हिंसाविरुद्ध आवाज उठाउन सक्नुपर्छ । सहेर बस्नुहुन्न । हिंसाविरुद्ध बोलिएन भने झनै हिंसा बढ्छ । सम्बन्ध विच्छेद भयो भने कहाँ जाने के गर्ने भनेर डराउनु पर्दैन । बाँचियो भने जिउने हजार बाटा हुन्छन् । शारीरिक तथा मानसिक रूपले स्वस्थ भएको खण्डमा खेतमा कमाएर भए पनि खान सकिन्छ तर हिंसा सहनु हुन्न भन्ने हामीले पनि प्रण गर्नुपर्दछ । यसमा बिहे गरेर पठाएको छोरीलाई माइती पक्षले सकेजति सहयोग गर्नु जरुरी देखिन्छ । आफ्नाे बदनाम हुने डरले छोरीलाई जबरजस्ती घरमा बस्न बाध्य पारियो भने उनीहरू पनि उत्तिकै दोषी मानिन्छन् ।

हाम्रो देशले महिला राष्ट्रपति पाएको पनि लामो समय भइसकेको छ । सभामुख, प्रधानन्यायाधीश पनि महिला भइसकेको अवस्थामा पनि यस्ता घटनामा सुधार हुनुको सट्टा बढ्दै गएका छन् । यसको मुख्य कारण पितृसत्तात्तमक मान्यताले जकडिएको हाम्रो समाजमा घरेलु हिंसापीडित महिलाका हकमा बनेका कानुनहरू एकदमै फितला छन् । अहिलेसम्म हेर्दा घरेलु हिंसा गर्नेलाई अरू हिंसा गर्ने सरह सजाय हुनुको सट्टा बढीमा एक महिना मात्र सजाय भएको देखिन्छ । वर्षौंदेखि कुटपिट गर्दै अन्तमा कुटेरै वा जलाएरै ज्यान लिंदासम्मका घटना हुँदा पनि जन्मकैद सम्मको सजाय हुनुपर्नेमा कतै उजुरी नै नलिने, उजुरी लिइहाले पनि धरौटीमा छुट्ने, सामान्य तारेखमा राख्ने जस्ता सजाय हुनुले पीडकलाई बढावा दिएको छ ।

सुखी नेपालीकोे सपना देखाउने सरकारले दोषीलाई कारबाही गरी निर्दोषलाई न्याय दिन सकोस् । अनि मात्र मट्टितेल खन्याएर जलाइएका, तथा कुटपिटबाट मृत्युवरण गर्न पुगेका सुनिता, कञ्चन, निर्मलालगायत सम्पूर्ण हिंसाबाट पीडित भएर मृत्युवरण गर्न पुगेका नारीको आत्माले शान्ति पाउनेछ । आधा आकास ढाक्ने महिलालाई हिंसाविरुद्ध लड्न आत्मबल प्रदान गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 342 times, 1 visits today)

epaper

ताजा समाचार

सरकार र चिकित्सकबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित