ललितपुर । सरकारले ग्वार्कोस्थित देशकै पहिलो फ्लाइओभर निर्माण कार्य अघि बढाएको छ । यसअघि डिजाइन कार्य हुँदै आएकोमा अब ग्वार्को चोकमा भौतिक काम नै सुरु भएको हो ।
भौतिक संरचना निर्माण कार्य सुरुसँगै ग्वार्को र आसपासमा ट्राफिक जाम भने बढेको छ । यद्यपि, सामान्य अवस्थामै पनि ग्वार्को चोकमा अत्यधिक जाम हुने गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले निर्माण लक्षित गरेर शुक्रबारदेखि सो सडकमा सवारीसाधन व्यवस्थापन सुरु गरिसकेको छ । सवारीसाधन अत्यधिक चापका कारण ट्राफिक व्यवस्थापनमा भने समस्या देखिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत २३ मंसिरदेखि बिहान ६ बजेदेखि निर्माण कार्य सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुईपांग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट ‘सर्भिस लेन’मा र साना चार पांग्रे्रेलाई ‘फास्ट ट्रयाक’बाट चलाउन सुरु गरिएको छ ।
– देशकै पहिलो फ्लाइओभर बन्दै
– निर्माण क्रममा जामको सास्ती
कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारीसाधनलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि ‘सर्भिस लेन’ हुँदै चलाइनेछ ।
बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुबस, मालवाहक तथा दुईपांग्रे सवारीसाधनलाई बल्खुबाट ‘सर्भिस लेन’मा र साना चारपांग्रे सवारीसाधनलाई ‘फास्ट ट्रयाक’बाट सञ्चालन गरिने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ग्वार्को चोकमा बन्ने ‘फ्लाइओभर’ निर्माण कार्य १४ महिनाभित्र सक्ने लक्ष्य छ । आयोजना ठेक्का पाएको आरसी, समानान्तर र रेलिग्रेले शुक्रबारदेखि निर्माण सुरु गरेको हो ।
सरकारले चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडकखण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमा ‘फ्लाइओभर’ निर्माण गर्ने लक्ष्य राखेको छ । जसअन्तर्गत ग्वार्को चोकमा पहिलो ‘फ्लाइओभर’ निर्माण हुन लागेको हो ।
सरकार आफैंले ईपीसी (इन्जिनियरिङ प्रोक्युअमन्ट एन्ड कन्सट्रक्सन)मा सम्झौता गरी ‘फ्लाइओभर’ निर्माणअघि बढाएको हो ।
अन्तर्राष्ट्रिय मापपदण्डअनुसार नै ‘फ्लाइओभर’को उचाइ ६ मिटर हुने आयोजनाले जनाएको छ । बालकुमारीतर्फबाट ४ प्रतिशतको ग्रेडमा चढेपछि ‘फ्लाइओभर’ पुगिने जनाइएको छ । त्यतातर्फ २ सय ८० मिटर लामो र सातादोबाटोतर्फ झर्न १ सय ७५ मिटर लम्बाइको ‘¥याम’ हुने बताइएको छ ।






