म सानो छँदा तीज पर्वमा दिदी, भाउजू र काकीले ‘लीला हेर न नयाँ जोवान’ भन्ने तीजको गीत गाउँदै नाँच्नुहुन्थ्यो । त्यो बेला गीतको अर्थतिर ध्यान जाँदैनथ्यो । गीत र नाँचगानले आकर्षण गर्दथ्यो । लीला भनेको अर्थ थाहा थिएन । साक्षरबाट शिक्षित हुने क्रममा लीला शब्दको अर्थ पढ्दा यसको अर्थ मन बहलाउने खेल, तल्लीन भएका बेला, विलास, ख्यालठट्टा, अभिनय र नाटकीय रूप हुँदो रहेछ । माथि उल्लेखित लीला शब्दको पर्यायवाची शब्दहरूमध्ये सम्भवतः त्यो तीजको गीतको अर्थ अभिनय थियो होला, भन्ने लाग्छ ।
गीतको अर्थ जे लागे पनि रमाइलो नै हुन्छ । गीतले व्यक्ति, समाज र सिंगो देशलाई हानि पु¥याउँदैन । तर, राज्यको लीलाले व्यक्ति, समाज र सिंगो राष्ट्रको वर्तमान र भविष्यप्रति ठूलो प्रभाव पार्छ । हाम्रो देशको सन्दर्भमा हुने गरेको राजनीतिक खेलबाड र राज्यलीला सीमित वर्गको हित वरिपरि केन्द्रित छ । सत्तालोलुपमा तल्लीन छ । देश र जनताप्रति खेलबाड गरिएको छ । लोकलाजरहित अभिनय छ । दलका शीर्ष भनिनेका क्रियाकलाप सीमित वर्गको भोगविलासका लागि अभ्यस्त छ । राजनीति र सत्तालाई विकासमा उपयोग होइन, स्वार्थका लागि उपभोग गरिएको छ ।
पुस्तक अध्ययनका क्रममा त्रिभुवन विश्वविद्यलयको केन्द्रीय पुस्तकालयमा भेट भएका मेरा पुराना मित्र मुक्तिले शोध पुस्तिकाबाट आँखा छुटाउँदै भने, ‘हाम्रा नेताजीहरूको लीलाकर्मले मुलुक बर्बाद भयो र हुुँदै छ । यिनीहरूमा शिक्षाको कमी हो कि ? पद र पैसाको भोक ?’ उनले थपे, ‘हाम्रा नेताजीमा यहाँ आएर अध्ययन गरेका कति जना होलान् ?’ मुक्तिले उठाएका सवालको जवाफमा मैले भने ‘मित्र, राजनीति गर्ने मान्छेले विश्वविद्यालयभन्दा बढी समाज पढ्नुपर्छ । समाजको दुःख बुभ्mनुपर्छ । विकास निर्माणको प्रस्ट मार्गचित्रको ज्ञान राख्नुपर्छ । देश र जनताको माया हुनुपर्छ । लोभ नभएको ऋषि मन हुनुपर्छ । विधिको शासनमा देशलाई हिंडाउन सक्ने प्रशासनिक कौशलता चाहिन्छ । देश बनाउने अठोट र दृढ संकल्प हुनुपर्छ ।
हामी बसिरहेको परिसरमा अवस्थित त्रिभुवन विश्वविद्यालयको शाख पनि यस्तै राज्यलीलाले धराशायी बन्यो
विश्वविद्यालयको शास्त्र र शास्तार्थले उल्लेखित राजकीय गुणहरू आर्जन हुन सक्दछ भने तपाईको शिक्षित राजनीतिक कर्मीहरूको चाहाना उचित हो । तर मित्र, यो देश अपठितले भन्दा विश्वविद्यालयमा अध्ययन गरेकाले नै बर्बाद पारेका होइनन् र ? अपठित किसान मजदुरले न त भ्रष्टाचार गर्छन् न त देशमाथि गद्दारी गर्छन् । हो, व्यक्ति, समाज र देश विकास गर्न शिक्षा अनिवार्य सर्त हो । यदि शिक्षालाई सिर्जनामा लगाउन सकिएन भने शिक्षा ध्वंशका लागि पनि उपयोग हुँदो रहेछ ।’ मेरा भनाइले मुक्तिलाई चित्त बुझेछ क्यारे । पुस्तकालयको भीडभाडलाई छलेर देशको चिन्ता, चिन्तन र अवस्थाको संवादमा केही समय कफी सपमा व्यतीत गर्ने अग्रह गरे । हामीले यसै ग¥यौं ।
धत्तेरी † हाम्रा देशका नेताहरू † एउटा हातमा कफीको कप र अर्को हातमा राजधानी दैनिक पत्रिका समातेका मुक्तिले निराश शब्दमा भने । ‘देश बर्बाद भइसक्यो मित्र । राजनीतिक नेताले आप्mनो हितभन्दा माथि उठेर काम गर्न सकेनन् । सीमित वर्गको हितमा रातदिन तल्लीन यो जत्थाले राष्ट्रको ढुकुटीमा सित्तैको धन फुपूको श्राद्धका रूपमा उपभोग गरिरहेको छ । जनप्रतिनिधिले सुशासन र विकासका कुरा जनतालाई सुनाउन थालेको तीन दशक बितिसक्यो । तर, देशको अवस्था झन् पछि झन् जटिल बन्दै गएको छ ।’
उनले थपे, ‘राज्यलीलाको पछिल्लो घटना मात्र हेर्दा यो जमात सीमित वर्गको हितमा काम गर्ने एजेन्टजस्तो देखिन्छ । जनप्रतिनिधिले निर्वाचनमा गरेको खर्चको विवरण निर्वाचन आयोगलाई बुझाएनन् । निर्वाचन आयोगले नियमको अटेरी गर्ने ठूलो संख्याका जनप्रतिनिधिलाई जरिमाना तिर्न आदेश दियो । तर, मन्त्रिपरिषद्को बैठकले उनीहरूको दण्ड मिनाहा गर्ने निर्णय ग¥यो । यही होइन त सीमित वर्गको हितमा गरिने राज्यलीला ?’ यसोभन्दा मुक्तिको अनुहार गम्भीर देखिन्थ्यो ।
माथिका वाक्यांशले मात्र मुक्तिको असन्तुष्टि रोकिएन । उनले थपे, ‘यस्तो सीमित वर्गको पक्षपोषण गर्ने, नीतिनियम नमान्ने, राज्यबाट के अपेक्षा गर्ने ? मुक्तिले निधार खुम्च्याएर भने, राजनीतिक नियुक्तिमा नेताहरूकै मान्छे । राजदूत नियुक्तिमा यिनीहरू कै सेटिङ ? न्यायालय, निर्वाचन आयोग, ठेक्का पट्टा आदि ठाउँहरूमा भागबन्डा । यिनीहरूले देशलाई कता लग्दै छन् ? अहिलेका प्रधानमन्त्रीले आगामी पुस्ताले सम्झन लायक काम गर्छु भनेको सुनिन्छ । अहिले दुई महिनामा नै सरकार परिवर्तन गर्ने प्रमुख नायक प्रधानमन्त्री नै भएको घामजस्तै छर्लंग छ । बारम्बार अनेक बाहानामा देशलाई अस्थिर बनाउने, मन्त्रीहरू हेरफेर गरिरहने, नेतृत्वले जस्तो काम गर्दा पनि ताली पड्काउने कार्यकर्ता र टीका लगाउनेलाई पालैपालो सत्ता र भत्तामा पु¥याउने नेता, यही होइन त सीमित वर्गको लागि अभ्यस्त राज्यलीला ?’ मुक्तिले लामो सास फेरे ।
मुक्तिको न्यारेटिभ्समा राज्यलीलाको जीवन्त चित्रण उत्रिएकाले सहमति जनाउँदै मैले थपे, ‘हामी बसिरहेको परिसरमा अवस्थित त्रिभुवन विश्वविद्यालयको शाख पनि यस्तै राज्यलीलाले धरासायी बन्यो । बन्दै छ । शिक्षा क्षेत्रमा राजनीतिकरण गरी आप्mनो दुनो सोभ्mयाउने काम गर्नु अत्यन्तै गैरप्राज्ञिक कार्य हो मित्र । विश्वविद्यालयको शैक्षिक व्यवस्थापन गर्ने प्रमुख पदहरू मेरिटोक्रेसीमा चल्नुपर्ने हुन्छ । महिनांैसम्म उपकुलपति जस्तो प्राज्ञिक आयुक्तलाई कार्यालय आउन वञ्चित गराउने वातावरणको सिर्जना गर्ने अलोकतान्त्रिक कार्य हो । प्रजातन्त्रको पुनस्र्थापना पछाडि देशको शिक्षा क्षेत्र झन् पछि झन् खस्कदै गएको तथ्यांकले देखाउँछन् । २०४७ सालबाट यता कुनै पनि राजनीतिक दल वा व्यक्ति विशेषले शिक्षाको गुणस्तर उकास्ने काम गर्न सकेनन् । केवल क्षणिक स्वार्थ र लाभको कर्म गर्दा विश्वविद्यालय लथालिंग भए । सरकारले लगानी गरेका विद्यालयको अवस्था अत्यन्त नाजुक छ । देशको भविष्यलाई दिशा निर्देश गर्ने शिक्षा क्षेत्र नै भत्किएपछि कस्तो समाज निर्माण होला ? राज्यले कस्ता नागरिक उत्पादन गर्ला ?’ यसो भन्दा मुक्तिले पुर्पुरोमा हात लगाएका थिए ।
घडीको सुईले हामीलाई अलग बनाएपछि मेरो मनमा देशको परिस्थितिको हुरि चल्यो । मनमा देशको वर्तमान अवस्थाको पहिरो खस्यो । जनताका दुःख र पिडालाई बुझ्न नसक्ने राज्य, शब्दमा विकास र सुशासनको रटान लगाउने नेतृत्व, राजनीतिक विसंगतिको फाइदा उठाएर भ्रष्टाचारमा अभ्यस्त कर्मचारीतन्त्र, दलमा बाँडिएका जनता । जसो जसो बाहुन बाजे उसैउसै स्वाहा भनेझैं दलगत स्वार्थ र सुविधामा लठ्ठीएको राजनीति संस्कार । काले काले मिलेर खाउँ भालेको अभ्यासमा रमाएका निर्माण व्यबसायी । जता हेर्यो त्यतै समस्या नै समस्या । नेपाल आमाले किन एक जना पनि देश बनाउन सक्ने सपुत जन्माउन सकिनन् ?
कहिले यता कहिले उता गठबन्धनको नाम दिँदै उनै असफल अनुहारहरू पालैपालो सत्तामा बस्ने कामबाहेक जनताले केही देख्न, सुन्न र अनुभव गर्न पाएनन्
मुलकमा धरैपटक आन्दोलनहरू भए । राजनीतिक दलले देश विकासको बाधकका रूपमा राज्य व्यवस्थालाई देखे । राजनीतिक व्यवस्थालाई ठाने । राणाकाल र पञ्चायती व्यवस्थाको राज्यलीलाले देश बर्बाद भएको सूचना जनतालाई सुनाए । जनताहरू सडकमा आए । प्रजातन्त्र आयो । पुनस्र्थापना भयो । तर, पनि जनताको अवस्था बद्लिएन ।
अहिलेका नेपाली कांग्रेस, एमालेलागायतका देशको व्यबस्था बदल्ने राजनीतिक दलले राम्रो काम गर्न सकेनन् भनेर ०५२ सालको अन्त्यतिर माओवादीको जन्म भयो । देशको अवस्था कमजोर हुनुमा राजनीतिक व्यवस्था र सामाजिक संरचनालाई दोष लगाइयो ।
यति मात्र होइन, माओवादीले समाजको मेलमिलाप, धर्म, संस्कार, संस्कृति, रीतिरिवाजमा प्रहार गरे । कसैका टुप्पी काटियो । कतिका जनै चुडालियो । नैतिक शिक्षाका किताबहरू जलाइयो । कतिपय शिक्षकलाई गाली हानियो । अर्थ न बर्थ गोविन्द गाई भनेझंै बुझी नबुझी जनवादी शिक्षा भनियो । समय बद्लियो । माओका चेलाहरू सत्तामा पुगे । सर्वहारा भन्न रूचाउने यिनीहरूले राजनीतिलाई आयआर्जनको माध्यम बनाए । राजनीतिक अस्थिरताका संवाहक बने । घुम्ने मेचका अन्धा मान्छे जस्ता भए । लाटो देशको गाँडा तन्नेरी जस्तै देखिए ।
राजनीतिक दलहरूले सत्ताको लागि गठबन्धनको नाममा भाडबण्डा गर्दै पालैपालो सत्ताभोग गरेको लामो समय भयो । राजनीतिलाई बाँदरले घाउ कोट्याए झंै बिगारीरहने, राजनीतिक सिद्धान्त, निष्ठा, नैतिकता, विवेक कुनै पनि दलमा नहुने, फाइदाका लागि जो जता पनि मिल्ने र मिलाउने कर्म अब त अति भो । कहिले यता कहिले उताको गठबन्धनको नाम दिँदै उनै असफल अनुहारहरू पालैपालो सत्तामा बस्ने कामबाहेक जनताले केही देख्न, सुन्न र अनुभव गर्न पाएनन् । जनतालाई कतिसम्म अल्मल्याउने ? कहिलेसम्म नेपाल र नेपालीहरूमाथि अन्याय गरिरहने ? ठट्टा गरिरहने ? वाक्क भो । दिक्क भो । अति भो । जताततै खति भो । अब यसो नहोस् ।





