कोरोना संक्रमणलाई भयाबह हुन नदिउ

कोरोना भाइरसको संक्रमणबाट तीन महिनापछि एकजनाको मृत्यु भएको छ भने मंगलबार मात्रै १०६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्ला केही दिन यता कोरोना संक्रमित बढ्दै गएपनि मृत्यु भएको तीन महिनापछिको पहिलो घटनाको रुपममा लिन सकिन्छ । मंगलबारको मृत्युको घटनाले यो पनि पुष्टि गरेको छ अब पनि गम्भिर नहुने हो भने कोरोना संक्रमण फेरी पनि भयाबह हुन सक्छ । मंगलबार ४७६ जनामा पीसीआर परिक्षण र १ हजार ९६० मा गरिएको एन्टिजोन परिक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो भनेको लगभग २२ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणकै कारण १२ हजार २१ सर्वसाधरणको मृत्यु भएको घटनालाई फेरि एक पटक स्मरण गर्दै कोरोना संक्रमणले महामारीको रुप नलोओस् भन्नका लागि केही पूर्व तयारी गनैपर्ने बेला भएको छ । पूर्वतयारीका लागि केही काम सरकारी स्तरबाट हुनुपर्छ भने कतिपय सर्वसाधरणले पनि गर्न सक्छन् । आफ्नै तर्फबाट गर्न सकिने काम पनि नगर्ने र अन्तिममा सरकारको आलोचना गर्ने हाम्रो पुरानै परम्परा हो । अब हामीले हाम्रो आनीबानीमा पनि परिवर्तन गर्न जरुरी छ । सबैलाई जानकारी भएकै कुरा हो । मास्कको नियमित प्रयोग र सामाजिक दुरी कायम गर्ने हो भने पनि संक्रमणबाट जोगिन सकिन्छ र यति कुरा सरकारले फेरि सम्झाइरहन जरुरी छैन । तर, पनि हामीले अहिलेसम्म सम्भव हुने ठाउँमा पनि सामाजिक दुरी कायम गर्ने तर्फ ध्यान दिएका छैनौं । सार्वजनिक यातायात, सिनेमा हल पार्टी प्यालेसलगायत भिडभाड हुने ठाउँमा मास्कविनाका अनुहारहरु हामीले प्रसस्तै देखेका छौं । सरकारले बुष्टर डोज खोप उपलब्ध गराए पनि बुष्टर डोज नलगाउनेहरु अझै बाँकी छन् । जसले दोस्रो चरणको खोप लगाएर बुष्टर लगाएका छैनन् तिनले नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउने हो भने महामारीबाट जोगिने एउटा उपाय हुन सक्छ ।

अहिले नेपालमा कोरोना संक्रमण फैलनुको एउटा कारण नेपाल–भारत सहज आउजाउ नै हो । भारतका केही प्रदेशमा कोरोना संक्रमण बढ्दो छ भने काम विषेशका लागि भारत गएका नेपालीहरु फर्किने क्रम जारी छ र हाम्रा नाकाहरुमा अझै पनि राम्रो संग चेकजाँच हुने गरेको छैन । यदि सिमा नाकामा चेकजाँच मात्रै राम्रो संग गर्ने र संक्रमितलाई आफ्नै घरमा केही दिन आइसोलेसनमा राख्ने ब्यवस्था गर्ने हो भने पनि संक्रमणलाई जनस्तरमा पुग्नबाट रोक्न सकिन्छ । यस्तो अवस्थामा सर्वसाधारणको भुमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । आफुलाई संक्रमण भएको लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा चेकजाँचका लागि जाने र केही दिन छुट्टै बस्ने हो भने आफ्नै परिवारका सदस्यलाई संक्रमण हुनबाट जोगाउन सकिन्छ । आज मृत्यु भएको घटनालाई गम्भिर रुपमा लिँदै फेरि कोरोनाकै कारण मृत्युको घटना नदोहोरियोस् भन्ने हो भने सर्वसाधारणमा पनि सचेतना जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 259 times, 1 visits today)

epaper

ताजा समाचार

पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु