आइतबारदेखि पश्चिमी वायुको प्रभाव बढ्ने, तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको प्रभाव विस्तारै बढ्दै जाँदा आईतवारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ ।

केही स्थानमा मेघगर्जन, चट्याङ तथा असिनासमेत पर्नसक्ने भएकाले काट्न बाँकी रहेको धानबाली सुरक्षित गर्न मौसमविद्ले सुझाव दिएका छन् ।

नेपाल मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलकाअनुसार शुक्रवार र शनिवार देशभरको मौसम सामान्यतया सफा रहनेछ । यी दुई दिन पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा भएपनि ठूलो मौसमी परिवर्तनको सम्भावना छैन । तर आईतवारदेखि पश्चिमी वायुको प्रभावका कारण मौसममा परिवर्तन आउने देखिएको छ ।

आईतवार विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुनसक्ने मौसमविद् पोखरेलले बताइन् । त्यस्तै वागमती र कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

पश्चिमी वायुको प्रभावबाट हुने वर्षासँगै केही स्थानमा असिना, मेघगर्जन र चट्याङको सम्भावना पनि रहने उनको भनाइ छ । विशेषगरी अहिले खेतमा रहेको धानबाली र काटेर सुकाउन राखिएको परालमा वर्षा तथा असिनाले क्षति पु¥याउन सक्ने भएकाले किसानले सावधानी अपनाउनुपर्ने देखिन्छ ।

मौसमविद् पोखरेलकाअनुसार आगामी दिनमा पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएमा पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात गराउन सक्छ । यद्यपि अहिले देखिएको प्रणाली ठूलो र व्यापक प्रभाव पार्ने खालको भने छैन । यसबाट भारी वर्षाको सम्भावना नरहेको र अधिकांश स्थानमा मध्यमसम्मको वर्षा हुनसक्ने अनुमान गरिएको छ ।

उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमसम्म हिमपात हुनसक्ने सम्भावना रहे पनि यसलाई असामान्य मौसमी जोखिमका रूपमा लिनुपर्ने अवस्था नरहेको उनले स्पष्ट पारिन् । हिउँदको समयमा हुने वर्षा र हिमपातले हिउँदे बालीका लागि आवश्यक चिस्यान उपलब्ध गराउने भएकाले कृषि उत्पादनका दृष्टिले यसलाई सकारात्मक रूपमा पनि लिन सकिने उनको भनाइ छ ।

उनकाअनुसार पश्चिमी वायुबाट विकसित हुने न्युनचापीय प्रणाली छिटो गतिमा एक स्थानबाट अर्को स्थानतर्फ सर्ने प्रकृतिको हुन्छ । त्यसैले यस्तो प्रणाली सक्रिय हुँदा केही समय वर्षा गराएर पार हुने गर्छ । असिनासमेत सबै क्षेत्रमा पर्ने नभई निश्चित स्थानमा मात्रै सिमित हुने सम्भावना रहन्छ ।

यस वर्ष मनसुनका समयमा एल निनोको प्रभावका कारण कम वर्षा हुनसक्ने आकलन गरिए पनि नेपालमा अपेक्षाकृत नियमित वर्षा भएको मौसमविद् पोखरेलले बताइन् । त्यसमा पश्चिमी वायुको समेत प्रभाव देखिएको उहाँको भनाइ छ ।

एल निनोको प्रभाव मनसुन र हिउँदमा फरक हुने भएकाले मनसुनमा जस्तै हिउँदमा पनि सुक्खा नै हुन्छ भन्ने निष्कर्ष निकाल्न नमिल्ने बताइन् । हिउँदमा पश्चिमी वायुबाट विकसित हुने न्युनचापीय प्रणाली सक्रिय हुँदा वर्षा र हिमपातको सम्भावना रहने मनौसमविद् पोखरेलको भनाइ छ । यद्यपि समग्र हिउँदमा कस्तो मौसमी अवस्था रहनेछ भन्ने विषयमा विभागले छुट्टै मौसमी आँकलन सार्वजनिक गर्नेछ ।

मौसमविद् पोखरेलले विभागले जारी गर्ने मौसम पूर्वानुमान तथा परामर्श नक्शामा नियमित अद्यावधिक भइरहन पनि आग्रह गरिन् । विशेषगरी पहेँलो सङ्केत भएका क्षेत्रका बासिन्दाले मौसमसम्बन्धी सूचनामा ध्यान दिनुपर्ने उनको सुझाव छ ।

समग्रमा आगामी मौसमी प्रणालीबाट ठूलो विपद्को जोखिम नरहे पनि कृषि क्षेत्रमा हुनसक्ने सम्भावित क्षतिलाई ध्यान दिनुपर्ने देखिएको छ । विशेषगरी धान काट्न बाँकी रहेका किसानले मौसमको अवस्था हेरेर बाली भित्र्याउने र काटिसकेको धान तथा पराल सुरक्षित राख्ने तयारी गर्नुपर्ने मौसमविद्को सुझाव छ ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

काँग्रेसको देउवा पक्षको गण्डकी अधिवेशन मंसिर ५ देखि पोखरामा