काठमाडौं । राजधानी राष्ट्रिय दैनिकको सम्पादकमा सरोजप्रसाद मिश्र नियुक्त भएका छन् । राजधानी न्युज पब्लिकेसन प्रालिको सञ्चालक समिति बैठकले सोमबारदेखि लागू हुनेगरी मिश्रलाई सम्पादक पदमा नियुक्त गरेको हो ।
यसअघि राजधानी डेली डटकमका सम्पादक धु्रव लम्सालले नै दैनिकको पनि सम्पादकको जिम्मेवारी बहन गरेका थिए । राजधानी न्युज पब्लिकेसन प्रालिले लम्साललाई राजधानी डेलीडट कमको मात्र जिम्मेवारी दिने निर्णय गरेको र मिश्रलाई सम्पादकमा नियुक्त गरेको आइतबार प्रालिका सञ्चालक आशिष शेरचनले जानकारी दिए ।
मिश्रसँग सत्याग्रह साप्ताहिकको सम्पादकका रूपमा कार्य गरेको अनुभव रहेको छ । प्राध्यापन क्षेत्रमा सक्रिय रहेका मिश्रले त्रिभुवन र लाहोर विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेका छन् । साथै इजरायल सरकारको छात्रवृत्तिमा आइआरआरडी योजनामा समेत स्नातकोत्तर गरेका छन् । स्वतन्त्र विश्लेषकका रूपमा मिडिया क्षेत्रमा योगदान दिँदै आएका काठमाडौं तीनकुनेका मिश्र आर्थिक क्षेत्रमा विशेष दखल राख्छन् ।
थापाको नियुक्ति अनुमोदन भएन
राजधानी राष्ट्रिय दैनिकको प्रकाशन संस्था राजधानी न्युज पब्लिकेसन प्रालिको सञ्चालक समिति बैठकले यसअघि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका डोलेन्द्र थापाको नियुक्ति अनुमोदन गर्न अस्वीकार गरेको छ ।
सञ्चालक समितिको गत ३ असारमा बसेको बैठकले थापाको नियुक्ति अनुमोदन नगरेसँगै उनी यस पब्लिकेसनबाट स्वतः अलग भएका छन् । साथै थापासँग यस पब्लिकेसनका नाममा कुनै पनि काम कारबाही नगर्न पनि राजधानी न्युज पब्लिकेसन प्रालि सबैमा अनुरोध गर्छ ।
‘हामी क्षमाप्रार्थी छौं’
राजधानी न्युज पब्लिकेसन प्रालिद्वारा प्रकाशित राजधानी राष्ट्रिय दैनिक पत्रिका प्राविधिक कारणले गत २६ जेठबाट प्रकाशन हुन नसकेकोप्रति हामी क्षमाप्रार्थी छौं । २४ दिन पत्रिका प्रकाशन नहुँदा ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति जिम्मेवार हुँदै यो अवधिलाई थप गरी पत्रिका वितरण गरिने जानकारी गराउँछौं ।
साथै, यो अवधिमा पत्रिकालाई निरन्तर प्रकाशन गर्न प्रोत्साहित गर्नु हुने सम्पूर्ण पाठक, विज्ञापनदाता, शुभेच्छुकप्रति हार्दिक कृतज्ञतासमेत व्यक्त गर्दछौं ।
राजधानी दैनिकको २३औं वर्षको यात्रामा धेरै उतार चढाव आए । ती सबै चुनौतीको सामना गर्न पाठक, विज्ञापनदाता तथा शुभेच्छकको महत्वपूर्ण योगदान रहँदै आएको छ । आगामी दिनमा समेत यहाँहरूको मागदर्शन प्राप्त हुने अपेक्षा राखेका छौं । नागरिकलाई सत्य तथ्य सूचना प्रवाह गर्ने कार्यमा राजधानी दैनिक विगतमा झैं सक्रिय भएर लाग्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछौं ।






