यतिखेर विश्वमा एउटै विषय चर्चामा छ, त्यो नोबेल कोरोना भाइरस (कोभिड–१९) हो । गत डिसेम्बर महिनाको अन्त्यमा चीनको वुहानबाट उत्पन्न भई तीन महिनाको अवधिमा विश्वभर पुगेको यो भाइरसले मानवजातिलाई त्रसित बनाएको छ । यो भाइरस यति तीव्र गतिमा फैलियो कि केही हुँदैन वा हामीकहाँ आइपुग्दैन भनेर ढुक्क भएका पनि यतिखेर त्रासमा छन् । हाल विश्वभर फैलिएको यस भाइरसको यात्रा युरोप हुँदै अमेरिका पुगेको छ । यतिखेर अमेरिका यसको इपिसेन्टर अर्थात् सबैभन्दा ठूलो केन्द्रका रूपमा परिणत भएको छ । विश्वभर दैनिक हजारौंको संख्यामा प्रभावित भइरहेका छन् । सम्पूर्ण गतिविधि ठप्प छन्, विश्व ठप्प छ ।
कोरोना भाइरसले यसरी प्रभावित गर्दै छ कि एकातिर यसले कुनै उमेर, अवस्था र समूहलाई पनि छाड्दैन भन्ने देखिएको छ भने अर्कोतिर यसबाट कोही पनि सुरक्षित छैन भन्ने कुराको सन्देश पनि यसका कारण भएका मृत्यु र प्रभावित हुनेको नामले प्रस्ट भएको छ । स्मरणीय छ, स्पेनकी ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको नाबेल कोरोना भाइरसबाट मृत्यु भइसकेको छ । बेलायती राजकुमार चाल्र्स र प्रधानमन्त्री बोरिस जोन्सन तथा स्वास्थ्यमन्त्रीसमेत यसबाट प्रभावित छन् । यसबाहेक विभिन्न राष्ट्रका सरकार प्रमुख प्रभावित भई उपचारका क्रममा छन् भने कतिपयचाहिँ सजगतापूर्वक सेल्फ क्वारेन्टाइन र आइसोलेसनमा बसेका छन् ।
युरोपेली देशमा इटाली सबैभन्दा प्रभावित भएको छ भने त्यसपछि सर्वाधिक प्रभावित देश स्पेन बन्न पुगेको छ । अमेरिका पनि यतिखेर सर्वाधिक प्रभावित देशमा परिणत भएको छ । जब कि चीनबाट यो भाइरस फैलँदा त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्प्पले यसलाई प्रारम्भमा त्यति गम्भीरताका साथ लिएका थिएनन् । अहिले अमेरिका विश्वकै सर्वाधिक प्रभावित र न्युयोर्क सहर सबैभन्दा बढी प्रभावित देखिएको छ ।
कोरोना भारतमा पनि ढिलो गरी पुग्यो । दक्षिणबाट पसेको यस भाइरसप्रति भारत होसियार थियो । उसले स्थिति हेरी ‘जनता कफ्र्यु’ लगायो र सर्वसाधारणले यस’bout जानकारी पाए । त्यसलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सन्देश दिँदै तीन साताको लकडाउन घोषणा गरे । उनले हालै आफ्नो मासिक रेडियो कार्यक्रम ‘मन कि वात’को ६३औं शृंखलाको प्रारम्भमै सर्वसधारणसँग त्यसबाट पुग्न गएको असुविधाका लागि क्षमा मागे । उनले यो जीवन र मृत्युका बीचको संघर्ष भएको भन्दै जीवनका लागि लकडाउन अत्यावश्यक भएको बताए । कोरोना भाइरसले ज्ञान, विज्ञान, धनी, गरिब, बलियो र निर्धो सबैलाई समान चुनौती दिइरहेको भन्दै यो कुनै देशको सीमामा सीमित नरहेको र यसले क्षेत्र र मौसमको आधारमा विभेद नगर्ने पनि बताए । बाहिर निस्कने होइन, यो आफूलाई राम्ररी चिन्ने र आफूभित्र प्रवेश गर्ने मौका हो भन्दै उनले आफूले आफूलाई चिन्ने प्रयास गर्नु उपयुक्त भएको बताए । मोदीले २४ मार्चमा राष्ट्रको नाममा सम्बोधन गर्दै २१ दिनको लकडाउन घोषणा गरेका थिए ।
चीनले हालै मात्र कोरोनाको उद्गमस्थल वुहान आंशिक रूपमा खुला गरेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीको उद्गमस्थल चीनको वुहान सहर दुई महिनाभन्दा लामो समयको लकडाउनपछि आंशिक रूपमा खुला गरिएको हो । हुबेई प्रान्तको राजधानीसमेत रहेको वुहान भित्रिने सडक र रेल सेवासमेत खुला गरिएको छ । तर, सुरक्षाका लागि केही व्यवस्था भने कायमै छन् । कोरोनाको संक्रमणमा तीव्र वृद्धि भएपछि १ करोड १० लाख जनसंख्या रहेको वुहान मध्य जनवरीदेखि पूर्ण रूपमा बन्द गरिएको थियो । वुहानमा ५० हजारभन्दा बढी कोरोना संक्रमित पुष्टि भएको थियो भने हुबेई प्रान्तमा मात्र कम्तीमा ३ हजारको मृत्यु भएको थियो । हाल चीनमा संक्रमित संख्या निकै कम रहे पनि बाहिरबाट आउनेबाट संक्रमण भित्रिएपछि चीनले विदेशीको प्रवेशमा रोक लगाएको छ । पछिल्लो समाचारअनुसार चीनमा कोभिड–१९ बाट ८२ हजार ६१ जना संक्रमित भएका र तीमध्ये ३ हजार ४ सय ४ जनाको मृत्यु भएको छ भने ७५ हजार ५ सय ७६ जना उपचारपछि स्वास्थ्य लाभ गरिरहेका छन् । तर, चीनमा प्रभावित र मृतकको संख्या नबढेको र कोरोनाको प्रभाव कम भएको बताइए पनि विगत दुई÷तीन महिनादेखि झन्डै २ करोड मोबाइल फोन बन्द रहेको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ती मोबाइल प्रयोक्ताको मृत्यु भएको हुन सक्ने अनुमान गरेका छन् ।
साबुन पानीले हात धुने, चिसो र रुघाखोकीबाट जोगिने तथा सामाजिक दूरी कायम गर्ने कुरामा हरेक नागरिक गम्भीर हुनुपर्छ
कोरोना भाइरसबाट नवजात शिशुदेखि युवा र वृद्धसम्म सबै उमेर समूहका मान्छेको मृत्यु भएको छ । विश्वव्यापी महामारीको रूप लिएको कोरोना संसारका सम्पूर्ण देशमा पुगिसकेको छ । यसले विश्वलाई नै थर्कमान पारेको छ । थुप्रै देश लकडाउनमा दैनिक कष्टकर जीवनमा छन् । एकातिर त्रास, अर्कोतिर अभावले पिरोलेको अवस्था छ । मृत्युको क्रम जारी छ । प्रभावित हुनेको संख्या बढ्दो छ । मानिसले मानिसमाथि नै आशंका गर्ने अवस्था बनेको छ, टाढिने अवस्था बनेको छ । चीनबाट फैलिएको कोरोनाको यात्रा अमेरिका पुग्दा यसले त्यहाँ सबैभन्दा ठूलो प्रभाव देखाएको छ । मृत्युको हकमा इटाली, स्पेन र चीनमा बढी भए पनि पछि प्रभावित भएका विभिन्न देशमा यसको प्रभाव र त्रास बढ्दो क्रममा छ ।
कोरोनाले विश्वको अर्थतन्त्रलाई प्रभावित पारेको र अझै पार्ने निश्चित छ । यसका कारण हजारौंको रोजगारी गुमिसकेको र लाखौंको गुम्ने क्रममा छ । यी सबैकुरालाई हेर्दा विश्वव्यापी मन्दी निश्चित छ । भाइरसको उपचार पत्ता नलागेसम्म यसको असर कम हुनेवाला छैन । यस दृष्टिले हेर्दा विश्वकै आर्थिक गतिविधि सामान्य अवस्थामा आउन समय लाग्नेछ । अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९) विरुद्धको कुनै खोप वा अन्य उपचारको विकास नभइसकेकाले यसबाट विश्वले कहिलेसम्म मुक्ति पाउला भन्न कठिन छ ।
यतिखेर विश्वका सबैजसो देश कोरोनाविरुद्ध लडाइँमा छन् । देशहरू लकडाउनमा छन् । हामीले पनि ११ चैतदेखि लकडाउन भोगिरहेका छौं । १६ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको अवधि आठ दिन थप गरेको छ । बैठकले ११ चैतदेखि १८ गते बिहानसम्मका लागि लागू लकडाउनको अवधि बढाउने निर्णय गरेको हो । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको अवधि थप गरेको हो । मन्त्रिपरिषद् बैठकले कोरोनाको प्रभावलाई लिएर र खासगरी ज्याला मजदुरी गर्ने तथा निम्न आय भएका नागरिकका लागि विशेष राहतको प्याकेज पनि पारित गरेको छ । निर्णय स्वागतयोग्य छन् । सरकारले घोषणा गरेको लकडाउनको स्वागत गर्दै अनुशासनमा रहनु नागरिकको कर्तव्य हो ।
विश्वव्यापी महामारीको रूप लिएको कोरोना संसारका सबै देशमा पुगिसकेको छ
गृहमन्त्रालयले यसअघि नै लकडाउन अवधिभर खाद्यान्नलगायत आपूर्ति व्यवस्थालाई सहज बनाउने निर्णय गरेको छ । यसका लागि स्टोर एवं बिक्रेतालाई सवारीसाधनको व्यवस्था गर्न आग्रह गरेको छ । खासगरी, खाद्य सामग्री, ग्याँस, दूध, तरकारी र फलफूललगायत वस्तुको उपलब्धता सहजीकरणका लागि यस्तो व्यवस्था आवश्यक भएको हो । तर, यसको व्यवस्थापनमा कमजोरी देखिएको छ । लकडाउनको अवधि लम्बिदै जाँदा आवश्यक उपभोग्य सामग्रीको उपलब्धताको अभावका थुप्रै नकारात्मक असर पर्न सक्छन् । पहिलो कुरा, भोकले बाध्यात्मक अपराध निम्त्याउन सक्छ । यस कुराप्रति गम्भीर हुनु जरुरी छ ।
नेपालमा शनिबारसम्म पाँच जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । अहिलेसम्म जति पनि संक्रमित भेटिएका छन्, ती काम विशेषले वा भ्रमण वा रोजगारीका लागि विदेश पुगेका छन् । जो अवधि समाप्त भएर वा सम्बन्धित देशले सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिदा दिई पठाउँदा स्वदेश फर्केका हुन् । तर, यो संख्या अझ बढ्न सक्ने सम्भावना छ । किनकि, कोरोना भाइरसको प्रकोप देखापरेपछि हालसम्म विदेशबाट आउनेहरू काठमाडांैबाट विमान वा गाडीबाट गाउँगाउँ पुगेका छन् । सरकारको कमजोरी, जब हल्ला चल्यो तब नै विमानस्थलबाट निर्धक्क छिर्ने मौका दिनुहुँदैनथ्यो । त्यतिखेरैदेखि सावधानी अपनाएको भए यतिखेर आएर गाउँगाउँमा संक्रमित खोज्दै हिँडनुपर्ने हुँदैनथ्यो ।
अहिले आएर विमानस्थलमा ओर्लेदेखि विदेशबाट आउनेहरू कहाँकहाँ कतिसँग सम्पर्कमा आए त्यसको खोजी गर्नु अहिलेको ठूलो चुनौती हो भने सम्पर्कमा आएकामा भाइरसको प्रभाव देखिनका लागि लाग्ने समयसम्म हामीले प्रतीक्षा गर्नैपर्छ । त्यसका लागि हाम्रा गतिविधिमा नियन्त्रण गर्नैपर्छ । खुलमखुला हिँडडुल गर्न प्रतिबन्ध लगाउनैपर्छ । त्यसका लागि लकडाउन गर्नैपर्छ । त्यसैगरी अर्को जोखिम भारतबाट फर्केकाबाट छ । अझ ती त क्वारेन्टाइनबाटै भागेका खबर पनि आए । आफू प्रभावित भए परिवार, गाउँ र समाज सबैलाई प्रभाव पर्ने र त्यसले महामारीको रूप लिन सक्ने भएकाले पनि त्यसो गर्नु हुँदैनथ्यो र हुँदैन । विदेशबाट आउनेले आफ्ना परिवारलाई जोखिममा पार्नुभएन, समाजलाई जोखिममा धकेल्नुभएन । यो तीव्र गतिमा फैलने घातक भाइरस हो भन्ने जानकारी हुँदाहुँदै लापर्बाही गर्नु वा लुकाउन खोज्नुभएन । लकडाउन, क्वारेन्टाइन र आइसोलेसन व्यक्ति, परिवार, समाज र देशलाई नै सम्भावित संक्रमण जोखिमबाट सुरक्षित राख्ने उपाय हो । यस्ता कुरामा सम्बन्धित व्यक्ति नै सजग र गम्भीर हुनुपर्छ ।
कोरोना भाइरसको विश्वव्यापी असर एवं त्रासले नेपालको अर्थतन्त्रलाई नराम्ररी प्रभावित पार्ने देखिन्छ । सेवा, उद्योग, पर्यटन सबैतिर नै यसको असर परेको छ । कमजोर अर्थतन्त्र भएको देशलाई यसले विभिन्न क्षेत्रमा प्रभाव पार्नेछ । यसको सबैभन्दा ठूलो असर वैदेशिक रोजगारमा पर्ने र कुल गार्हस्थ्य उत्पादनमा झन्डै एक चौथाइ योगदान गर्ने विप्रेषण आय प्रभावित हुँदा हाम्रो जस्तो देशलाई यसको दीर्घकालसम्म नकारात्मक असर पर्ने निश्चित छ । यसले गरिबी घटाउने अभियान तथा स्तरोन्नति एवं दिगो विकासका लक्ष्यमा समेत बाधा उत्पन्न गर्नेछ । नेपाली युवाहरू रोजगारीमा गएका देशबाट रोजगारी गुमाई फिर्ता हुने अवस्थामा त्यसबाट थुप्रै सामाजिक समस्यासमेत उत्पन्न नहोलान् भन्न सकिन्न । तर, त्यस्तो अवस्थामा पनि सकेसम्म नकारात्मक असर नपरून् भन्नका लागि सरकार र समाजकै विशेष होसियारी आवश्यक पर्नेछ ।
नेपाल एयरलाइन्सको वाइड बडी विमानमार्फत चीनबाट केही औषधि उपचारजन्य सामग्री आइपुगेका र तिनको वितरणको निर्णयसमेत भइसकेको छ । यसबाट कोरोनाको परीक्षण तथा प्रभाव न्यूनीकरणमा अवश्य केही सहयोग पुग्नेछ । काठमाडांैको टेकु अस्पतालमा मात्र कोरोनाको परीक्षण हुँदै आएकोमा काठमाडांैबाहिर पहिलोपटक धरानमा कोरोनाको परीक्षण सुरु भएको छ । त्यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि कोरोना भाइरस (कोभिड–१९)को परीक्षण प्रारम्भ गरिएको हो । यी राम्रा पक्ष हुन् । स्वास्थ्यकर्मीको मनोबल बढाउने, उपकरण र प्रविधि उपलब्ध गराउने र अर्कोतिर आमसर्वसाधारणमा कोरोनाका सम्भावित असर र परिणाम’bout राम्ररी बुझाउने र सजग रहन सन्देश दिनेतर्फ लाग्नु जरुरी छ । युरोप र अमेरिकालाई समेत आच्छुआच्छु पारिरहेको यस महामारीले नेपालमा प्रवेश गरेको भए पनि यो फैलन नपाओस्, यसका लागि हरेकले आआफ्नो तहबाट आफ्नो जिम्मेवारी पूरा गर्नु जरुरी छ । आर्थिक दृष्टिले विश्व आर्थिक मन्दीमा प्रवेश गरेको छ । तर, पहिलो प्राथमिकता मानिसको जीवन रक्षा हो । यसैले यतिखेर आर्थिक हितलाई भन्दा मानवताको रक्षाको लागि संयम र अनुशासनको साथै मानसिक तन्दुरुस्ती तथा दृढ मानसिकता र उच्च मनोबल पनि आवश्यक छ ।
विश्वकै सर्वाधिक जनसंख्या भएका चीन र भारतका बीचमा अवस्थित सानो देश नेपाल यी दुई देशमा हुने जस्तासुकै संकटबाट प्रभावित हुने जोखिममा रहन्छ । चीनमा त कम भएको र नियन्त्रणमै रहेको देखिन्छ तर भारतमा कोरोनाको प्रभाव बढ्दो छ । यसले हामीलाई होसियारी अनपाउनुपर्ने बाध्यता छ । विश्व स्वास्थ्य संगठनले पनि यही अवस्थितिलाई देखेर हामी कोरोना महामारीको उच्च जोखिममा छौं भनेको हो । यस्तो अवस्थामा हामी विशेष सजग हुनुपर्छ ।
अन्त्यमा, यतिखेर अदृश्य शक्तिले संसारलाई त्रसित बनाएको छ । मानिस निःशस्त्र युद्ध लडिरहेछ । कठिन समयमा धैर्य, संयम र अनुशासनको आवश्यकता पर्छ । यतिखेर हामीले संयमता अनपाउनु जरुरी छ । धैर्य बनौं । सजग रहौं । भिडभाडभन्दा टाढा बसौं । सामाजिक दूरी कायम गरौं । केही समयको असहजताले सुखी र खुसी जीवन जिउन पाइन्छ भने किन अधैर्य बन्ने ? सम्पन्न र आधुनिक एवं सुरक्षित खालका स्वास्थ्य सेवा भएका देशमा त समस्या भएको छ भने हामीकहाँ यो महामारी फैलियो भने त्यसको प्रभाव कल्पना गर्न नसकिने खालको हुनेछ । विश्व स्वास्थ्य संगठनले लकडाउनसँगै सामाजिक र व्यक्तिगत दूरी कायम राख्नु महत्वपूर्ण रहेको बताउँदै आएको छ । चीनको वुहान लकडाउनको परिणामले पनि त्यसको पुष्टि गरेको छ । यससँगै नियमित रूपमा साबुन पानीले हात धुने, चिसो र रुघाखोकीबाट जोगिने तथा दूरी कायम गर्ने कुरामा हरेक नागरिक गम्भीर हुनुपर्छ । यसो हुन सकेमा मात्र भाइरसविरुद्धको युद्धमा मानव मात्रको विजय सम्भव हुनेछ ।






