बिबादमा गौरा पर्व

महेन्द्रनगर । सुदूरपश्चिमेलीहरुको महान पर्व ‘गौरा’ आजबाट बिधिबत् रुपमा सुरु भएको छ । सुदुरपश्चिममा विशेष पर्वका रुपमा मनाइने गौरा आज बाट सुरु भएको छ । सुदुरका नौं वटै जिल्ला र केही अन्य जिल्लामा पनि गौरा पर्व मनाउदै आएका छ्न । आज भाद्र कृष्ण पञ्चमी आजको दिनलाई ‘बिरुडा पञ्चमी’ पनि भनिन्छ ।

भगवान् शिवकी धर्मपत्नी पार्वतीको स्वरुप गौरालाई पुज्ने चलन छ । विवाहित महिलाले आज पञ्चमीका दिन व्रत बसी गौरापर्वको दिन धुबीधागो लाउने गर्दछन् । व्रतबाट सुस्वास्थ्य एवं सौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ ।

आजको दिनमा ब्रतालुको घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको शुरुवात गरिन्छ । तामा–पित्तलको भाँडोलाई गाईको गोबरले लिपेर गोबर, दुबो, अक्षताले सिङ्गारी त्यसभित्र पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलउँको बिरुडा बनाउने प्रचलन छ । बिरुडालाई ‘गौरीको प्रसाद’का रुपमा लिईन्छ । पूजाआजाका क्रममा बिरुडालाई प्रसाद र अक्षताका रुपमा प्रयोग गर्ने प्रचलन रहिआएको छ ।

विरुडा पञ्चमीमा भिजाएर गौराको बिधिबत् शुरुवात गरिन्छ । यसरी भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने प्रचलन रहेको पाईन्छ ।

सप्तमी र अष्टमीका दुई दिन गौराका बिशेष दिनहरु हुन् । सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसंगै उम्रीएको साउँ (धानजस्तै देखिने घाँस)बाट गौराको प्रतिमा बनाई बाजागाजाका साथमा ‘गौराघर’मा भित्र्याइन्छ ।

पौराणिक कालमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउँ भनि बालुवाको शिवलिङ्ग बनाइ १२ वर्षम्म गरेको कष्टसाध्य तपस्यापश्चात् वरदान पाइ महादेव अर्थात् शिवलाई पति बनाउन सफल भएको धार्मिक मान्यताअनुसार गौरापर्व मनाइदै आएको पाइन्छ ।

बिबादमा गौरा !
गौरा पर्वको तिथीका विषयमा विवाद कायम रहेकै बेला सुदूरपश्चिममा भदौ ७ र ८ गते गौरा पर्वको बिदा दिइएको छ । नेपाल सरकारले भदौ ७ गते र सुदूरपश्चिम प्रदेश सरकारले भदौ ७ र ८ गते गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

गौरा पर्वका विषयमा ज्योतिषहरुबीच मतभेद भने कायमै रहेको छ । कतिपय ज्योतिषहरुले यो वर्षको गौरा पर्व भदौ २१ गते पर्ने बताइरहेका छन् । गौरा पर्व भाद्र शुक्ल वा कृष्ण पक्षमा पर्ने भएकाले भदौ २१ गते गौरा पर्व हुने उनीहरुको जिकिर छ ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृति प्राप्त सम्पूर्ण नेपालभरका पचाञ्ङ्गहरुमा २०८० साल भदौ ७ गते गौरा पर्वको तिथी उल्लेख गरिएको छ । सोही अनुसार नेपाल सरकार र प्रदेश सरकारले बिदा दिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 386 times, 1 visits today)

epaper

ताजा समाचार

‘कञ्चन पत्रकारिता पुरस्कार’ सारूमगर र जिटीलाई