सार्वजनिक शौचालयमा काजकिरिया

स्याङ्जा । पर्वतको दक्षिण भेगको हुवास नजिकै केमुनेबाट स्याङ्जाको वालिङ आउँदा हुमबहादुर (पेमे) नेपालीको भर्खर विवाह भएको थियो । २०१० सालमा केमुनेमा जन्मेका पेमेको आर्थिक अवस्था धेरै नाजुक भएपछि कामको खोजीमा वालिङ आएका थिए । मजदुरी गरेर मात्रै सहर बजारमा पारिवारको जीविकोपार्जन गर्न निक्कै समस्या भएपछि उनले गाउँगाउँमा उत्पादन भएका स्थानीय उत्पादनका वस्तुलाई खरिद गरी बजारमा बेच्न सुरु गरे ।

४२ वर्षदेखि सुपोमा स्थानीय उत्पादन राखेर बेच्न सुरु गरेका पेमेलाई बजारका सबैले राम्रोसँग चिन्थे । पेमेले बिक्रीका लागि राखेको सामग्री किनेर चिनेकाले सघाउँथे । वालिङस्थित मोडमा अदुवा, बेसार, खुर्सानी, अमिलो, कागती जस्ता स्थानीय उत्पादनलाई बेच्ने र संकलित रकमबाटै परिवार चलाउने उनको दिनचर्या जेनतेन चल्दै आएको थियो ।

वालिङको मुख्य चोक सडक छेउमा आफ्नो जिन्दगीको ऊर्जाशील ४२ वर्ष खर्चेका नेपाली गत साता सधैंका लागि अस्ताउन पुगे । अदुवा, बेसार, खुर्सानी बेचेर साँझ अबेर अस्थायी बासस्थान गर्ने घर फर्केका पेमे अर्को दिन फेरि वालिङ मोडमा नफर्कने गरी सधैंका लागि अस्ताए । जेनतेन परिवार चलाउँदै आएका पेमेको मृत्युुपछि आर्थिक अवस्थाकै कारण उनका परिवारले वालिङ नगरपालिका–८ स्थित खेलमैदानको सार्वजनिक शौचालयमा काजकिरिया गर्दै आएका छन् ।

५ छोरा र २ छोरी जन्माएका नेपालीले श्रीमती पवि नेपालीकै सहयोगमा छोराछोरी हुर्काउने, पढाउने र दैनिक गर्जो टार्दै आएका थिए । श्रीमानको किरिया बेसेकी पवि भन्छिन्, ‘स्थानीय राजेन्द्र गैरेको सहयोगमा अस्थायीरूपमा बस्दै आएको वालिङ मोड माथि एउटा छाप्रोसमेत एक सहकारी संस्थाले भवन बनाउँदा भत्कायो ।’ ‘छाप्रो भत्काएपछि न बास रह्यो न त किरिया बस्ने घर नै,’ उनले भनिन्, ‘किरिया गर्ने ठाउँ नभएपछि सार्वजनिक शौचालयको सहारा लिनुपरेको छ ।’

१२ जनाको परिवार लामो समयदेखि खेलमैदान छेउमा आश्रय लिएर बसेको पविको भनाइ छ । पेमेकी कान्छी छोरी शान्ता नेपाली फुटबल खेलाडी समेत हुन् । उनले राष्ट्रिय फुटबल टिमबाट बंलादेशमा समेत सहभागी भइसकेकी थिइन् । आमा पविसँगै छोरी शान्त पनि सार्वजनिक शौचालयमा बुबाको किरियामा छिन् ।

घरको पिल्लर रुपी श्रीमानको नै निधन भयो, अब झन् बेसहारा भएका छौं । श्रीमान गुमाउनुको पिडासँगै अब परिवार कसरी पाल्ने भन्ने चिन्ताले पविलाई थप पिरोलेको छ । कमाइ गर्न सक्ने छोराछोरी ज्यालामजदुरी गरेर आआफ्नो परिवार पाल्न बाध्य छन् । तर, बोल्न नसक्नेसहित १२ जनाको जिम्मेवारी पविको काँधमा आएको छ । हिन्दु परम्पराअनुसार १३ दिन नै किरिया गर्ने भन्दै पविले काज किरिया खर्चको जोहो गरिदिन सबैमा आग्रह गरेकी छन् । सार्वजनिक शौचालयमा नेपाली परिवार किरिया बसेको जानकारी पाएपछि स्थानीय सामाजिक संघसंस्थाले सहयोग पनि गरेका छन् ।

बोलबम समिति वालिङले थोरै भए पनि खाद्यान्न सहयोग गरेको छ । समितिले गरेको सहयोग खाद्यान्नले केही राहत पुगेको नेपाली परिवारले जनाएको छ । बोलबम समितिका प्रवक्ता युवराज गौतमले अस्तव्यस्त अवस्थाको शौचालयमा किरिया गरेको जानकारी पाएपछि सहयोग गरेको सुनाए । अहिले यहाँका आमा समूहले पनि यो परिवारलाई सहयोग गरिदिन आग्रह गर्दै बजार क्षेत्रमा सहयोग संकलन गरिरहेका छन् । अहिलेसम्म स्थानीय सरकार यो परिवारको अवस्थादेखि बेखबर बनेको छ । वालिङ नगरपालिकाले काजक्रिया गर्ने स्थान नबनाइदिँदा यस्ता अप्ठ्यारोमा परेका व्यक्तिलाई निकै समस्या हुने गरेको यो घटनाले देखाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 487 times, 1 visits today)

epaper

ताजा समाचार

पीआर लिएका दुई नापी अधिकृतलाई कारबाही सिफारिस