
धरानमा गोरु काटेर भोज गरेको चर्चाले सनातन हिन्दूहरूको मात्रै होइन आमनेपालीको भावनामा समेत चोट पुगेको छ । यो लुकी चोरी भएको होइन खुला चुनौतिका रूपमा भएको घटना हो । गाईलाई हिन्दूहरूले पूजा गरेका कारणले मात्रै होइन, राष्ट्रिय जनवार भएकाले पनि गाई काट्नु दण्डनीय अपराध हो । अझ गाई मात्रै होइन बाघ, गैंडा, हात्तीजस्ता जनवारसमेत मार्न नपाइने कानुनी व्यवस्था छ । तर, गाईगोरु खुला रूपले काट्नाले कानुनी मात्रै होइन धार्मिक सदभाव खल्बलिने र धार्मिक द्वन्द्वसमेत भड्किने खतरा हुन्छ । धार्मिक द्वन्द कति खतरनाक हुन्छ भन्ने कुरा हेक्का राख्न जरुरी छ । इतिहासमा सबैभन्दा बढी मानव रगत बग्ने कारणमध्ये एक धार्मिक विद्वेष भएको देखिन्छ । नेपालजस्तो बहुधार्मिक देशमा यस्ता खेल खेलिनु अकल्पनीय एवं दुर्भाग्यपूर्ण हुन सक्छ । के नेपालभित्रका मानिसले मात्रै खेलेको खेल होला त यो ? अवश्य होइन र यो केवल नेपाललाई मात्रै लक्षित गरेर गरिएको खेल पनि हुन सक्तैन ।
नेपालको भूअवस्थितिले गर्दा यसको सामरिक महत्व निकै बढेको अवस्था छ । नेपालमा धार्मिक द्वन्द्वले उग्र रूप लियो भने त्यसबाट भारत सर्वाधिक प्रभावित हुन पुग्छ । भारत प्रभावित हुनु भनेको सम्पूर्ण दक्षिण एसिया नै अछुतो रहन नसक्नु हो । आजको विश्व परिवेशमा दक्षिण एसिया प्रभावित हुनु र त्यसले चीनलाई पनि छुनु भनेको सामान्य अवस्था होइन । तर, के यो नेपालको अवस्थाको मुख्य कारक भारतीय नै होइन ? माओवादीको काँधमा राखेर चलाएको बम बन्दुकले नेपालका सबैजसो संरचना र आधारशीला कमजोर बनाइसकेपछि माओवादीलाई जसरी भित्र्याउन लगाइयो त्यसैको परिणाम होइन नेपालको अहिलेको अवस्था ? र, धर्मनिरपेक्ष नामको यो विष वृक्ष पनि यो सबका लागि जिम्मेवार छैन ? निश्चय नै भारतले नचाहेको भए नेपाल धर्मनिरपेक्ष हुने थिएन । भारतको तत्कालीन सत्ताको निर्णायक नेतृत्व इसाई महिला सोनिया गान्धीका हातमा हुनुका कारण मात्रै यस्तो सम्भव भएको होइन । सनातन धर्मको पक्षधर मानिएको भारतीय जनता पार्टीको भूमिका पनि संदेहास्पद रह्यो । भाजपाले थोरै फरक नीति लिएको भए आज नेपाललाई पुनः हिन्दू धर्ममा फर्काउने उसको चाहना सायद यति कठिन हुने थिएन ।
हिन्दू धर्मका कारणले नेपालमा कुनै समस्या थिएन । नेपालका सबै जातजाति र तिनका धर्म संस्कृतिसँगै सनातन हिन्दूहरूको घुलमिलबाट एउटा सुखद समागमी नयाँ नेपाली मौलिक धर्म संस्कृति विकसित भएको थियो । यस्ता अनेकन उदाहरण दिन सकिन्छ । पूर्वी नेपालका हिन्दूहरू र राई लिम्बुहरू सबै चाडपर्व संयुक्त रूपमा मनाउँथे । दसैंमा राई पगरीका हातको टीका थाप्न क्षत्री, बाहुन केरा र घिउ बोकेर जान्थे । फरक केवल सेतो टीका र रातो टीकाको थियो । त्यही कुरा लोसार र दसैं तिहारमा पनि हुन्थ्यो । त्यस्तै, मगर गुरुङ बाहुल्य क्षेत्रमा रोदीघर होस् वा घाटुनाच होस् सबैको सहभागिता त्यतिकै हुने गरेको थियो ।
जहाँसम्म गाईगोरु काटेर खाने प्रश्न छ त्यो कानुनका डरले मात्रै होइन लगभग समाजमा स्थापित मान्यताका रूपमा बर्जित भइसकेको थियो । यदाकदा कसै कसैले लडे मरेका बाहेक गाई खानेप्रथा बन्द जस्तै भइसकेको थियो । आज किन खुला रूपमा गोरु काटेर भोज खाने र राज्यको कानुनी व्यवस्थालाई चुनौती दिने काम भइरहेको छ ? के यो मासु खानकै लागि वा आफ्नो संस्कृति र परिचय जोगाउनकै लागि भएको हो कि अर्को पक्षलाई उत्तेजित पारेर ठुलो समस्या खडा गर्ने मिसनका लागि भइरहेको छ ? यस सन्दर्भमा एउटा महत्वपूर्ण प्रसंग उल्लेख गर्न आवश्यक छ । भारतका एक जना लेखक राजीव मलहोत्राले ब्रेकिङ इन्डिया भन्ने अनुसन्धानमा आधारित पुस्तक लेखेका छन् । त्यसमा नेपालको पनि छोटो चर्चा छ । भारतका दुर्गम र विकासबाट पछि परेका इलाकाका अशिक्षित र अर्धशिक्षित मानिसलाई माओवादी क्रान्तिका नाममा बम बन्दुक उपलब्ध गराइयो । बदलामा माओवादीले स्थानीय परम्परागत धर्मसंस्कृति विस्थापित गर्दै गयो । इसाई संयन्त्रले माओवादीलाई साधन स्रोत जुटाइदिने र माओवादीका बम बन्दुकले इसाई धर्म र चर्चको संरक्षण र सुरक्षा गर्ने, उक्त पुस्तकमा यस्तो ‘अनुपम’ सहकार्यको निकै राम्रो वर्णन गरिएको छ ।
नेपालको माओवादी सशस्त्र विद्रोह कालमा गाई गोरु काटेर खाने काम माओवादी लडाकुबाट व्यापक रूपमा भयो । हिन्दू मन्दिर भत्काउने, पुजारी र पण्डितलाई मार्ने वा कुटपिट गर्ने र किरिया बसेकालाई ल्याएर सार्वजनिक रूपमा काट्नेजस्ता काम अनेक ठाउँमा भए । तर, कुनै एक ठाउँमा पनि इसाइ पादरी वा फादरलाई छोएकोसम्म घटना कम्तीमा मेरो जानकारीमा छैन । कसैलाई जानकारी छ भने म माफी माग्न तयार छु । धर्मलाई अफिम मान्ने माओवादीको स्थानीय सनातन संस्कृतिप्रति विद्वेष र गाउँघरमा भर्खरै देखापरेको इसाई संस्कृतिप्रतिको अतुलनीय सहिष्णुता सोचनीय छैन र ? आज अत्यन्तै तीव्र गतिमा चर्चको संख्या बढिरहेको छ । चीनको तिब्बतको सीमानामा त झन् तीव्र गतिमा यस्ता काम भइरहेका छन् । त्यसले के परिणाम ल्याउला समयमै सोच्न जरुरी छ ।
नेपालका सनातनी हिन्दूहरू र हिन्दू राजाका जेजस्ता गुण अवगुण भए पनि अरू धर्म संस्कृतिप्रति निकै सहिष्णु थिए र छन् । यसको मूर्त उदाहरण हुन् हरेक हिन्दू मन्दिरमा अपवादबाहेक राखिएको बुद्धको मूर्तिहरू । त्यति मात्र नभई बुद्धलाई विष्णुको नवौं अवतार मानेर पूजा गर्दै आइएको पनि छ । त्यस्तै, नेपालको राजदरबारको मूलढोका सामुन्ने ३ सय मिटरजतिमा दुइवटा मस्जिद थिए र अझै छन् । अझ यथार्थ त के हो भने हिन्दू धर्मले नेपालका बौद्ध, मुस्लिम र स्थानीय धर्म संस्कृतिलाई इसाईबाट संरक्षण गरेको थियो । अहिले पहाडका जनजातिका धर्म संस्कृतिमा सार्वजनिक रूपमा इसाई पसेका छन् । अझ तिब्बतको सिमानाका दुर्गम गाउँघरमा त स्थानीय धर्मसंस्कृतिलाई विस्थापित गरेर ती ठाउँ चर्चले लिँदै गएको प्रस्ट देख्न सकिन्छ । यस्तो सामाजिक पृष्ठभूमि रहेको नेपालमा खुला रूपमा गोरु काटेर भोज खाने र त्यसलाई सामाजिक सञ्जालमार्फत चुनौती दिने काम कुनै पनि नेपालका स्थानीय धर्मसंस्कृतिका अनुयायीले गर्छन् भन्ने कल्पना पनि गर्न गाह्रो हुन्छ ।
नेपालमा धार्मिक विवाद भयो भने त्यो निकै जटिल हुने खतरा छ । हामीले यो यथार्थलाई बिर्सन हुँदैन कि विशाल हिन्दू भएको देशसँग हाम्रो तीनतिर खुला सिमाना जोडिएको छ । अहिले त्यहाँ हिन्दूवादी सरकार छ । हाम्रो कारणले उसको धर्म संस्कृतिमाथि कुनैखाले आँच आयो भने ऊ अवश्य माला जपेर बस्ने छैन भन्ने कुराको हेक्का राख्न जरुरी छ । यदि हिन्दू विरोधका नाममा कुनै ठुलो शक्तिले यस्ता काम गराएको छ भने हिन्दू धर्मका नाममा अर्को शक्ति पनि सुतेर बस्नेछैन भन्ने कुरा प्रस्ट छ । अहिले हिन्दू प्रदर्शनकारीले जुन संयम अपनाएका छन् त्यसले ठुलो अनिष्ट हुनबाट रोकेका छन् । यसैले नै स्थायी समाधान भएको सम्झनु ठुलो गल्ती हुनेछ । लाग्छ, सुरसाको मुख खुलेको छ । त्यसको सामना गर्न हनुमानको जस्तो बुद्धि, चातुर्यता र पराक्रमको संयोजन आवश्यक छ । त्यसैले अहिलेको यो समस्यालाई धार्मिक रंग दिने प्रयास विफल बनाएर यो केवल कानुन र व्यवस्थाको मुद्दाका रूपमा समाधान खोज्नु उपयुक्त हुनेछ ।






