पर्वलक्षित सुरक्षाः लामो दूरीका सवारीमा दुई चालक अनिवार्य

काठमाडौं । दसैं–तिहारमा घर फर्किने यात्रुले भरिएका लामो दूरीका बस रातभर एउटै चालकको भरमा गुड्न नपाउने भएका छन् । चालकको थकानका कारण हुन सक्ने दुर्घटनाको जोखिम घटाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरीले रात्रिकालीन लामो दूरीका सार्वजनिक सवारीमा दुई चालक अनिवार्य राख्ने नियम कार्यान्वयनमा कडाइ गर्ने भएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार लामो दूरीका सवारीमा दुई चालक भए–नभएको नियमित जाँच गरिनेछ । नियमविपरीत एक जना मात्र चालक राखेर सवारी सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिनेछ ।

रातिको समयमा लामो दूरीको यात्रा गर्दा चालकलाई पर्याप्त आराम नपुग्ने र लगातार सवारी चलाउँदा थकान बढ्ने भएकाले दुई चालकको व्यवस्था प्रभावकारी बनाउन लागिएको काफ्लेले बताए ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले चालकसहित यात्रुको सुरक्षाका लागि रात्रिकालीन सेवाका सवारीमा दुई चालक राख्नुपर्ने नियमलाई थप कडाइका साथ लागू गरिने बताए । दुई चालक हुँदा पालैपालो सवारी चलाउन सकिने र लामो यात्रामा चालकको थकान व्यवस्थापनमा सहयोग पुग्ने उनको भनाइ छ ।

लामो दूरीका सवारीका चालकले मादक पदार्थ तथा लागू पदार्थ सेवन गरे–नगरेको समेत कडाइका साथ जाँच गरिने भएको छ । सवारी सञ्चालन गर्नुअघि तथा यात्राका क्रममा चालकको अवस्था जाँच गरी सम्भावित जोखिम नियन्त्रण गरिने प्रहरीले जनाएको छ ।

चाडपर्वमा सार्वजनिक यातायातमा यात्रुको चाप, टिकटको माग र लामो दूरीका सवारीसाधनको आवागमन बढ्ने भएकाले यात्रुको सुरक्षा तथा यातायात व्यवस्थापनलाई प्राथमिकतामा राखेर विशेष अभियान सञ्चालन गर्न लागिएको कार्यालयले जनाएको छ ।

अभियानअन्तर्गत सवारीसाधनको अवस्था, चालकको योग्यता र नियम पालना भए–नभएको विषयमा समेत निगरानी गरिनेछ । मुख्य सडक, बढी सवारी चाप हुने क्षेत्र तथा लामो दूरीका सार्वजनिक सवारी सञ्चालन हुने स्थानमा दिवा तथा रात्रिकालीन समयमा थप ट्राफिक प्रहरी परिचालन गरी जाँच तथा अनुगमन गरिनेछ ।

यात्रुबाट निर्धारितभन्दा बढी भाडा असुल्ने, टिकटमा अनियमितता गर्ने तथा यात्रुलाई असुविधा हुने गतिविधि रोक्न सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कदम चालिने प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले चालकले ट्राफिक नियम पालना गर्नुपर्ने र यात्रुले पनि सुरक्षित यात्राका लागि आवश्यक सावधानी अपनाउनुपर्ने जनाएको छ । लामो दूरीको यात्रा गर्दा सवारीसाधनको अवस्था र चालकको सुरक्षामा ध्यान दिनसमेत प्रहरीले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 3 times, 1 visits today)

epaper

ताजा समाचार

१० वर्षपछि फुक्यो निजामती कानुनको गाँठो