कपिलवस्तु । किताब कपि र कलम बोकेर विद्यालय जाने विद्यार्थिहरुले किताबी ज्ञान बाहेक बढीमा केही व्यवहारिक कुरा सिक्लान् भन्ने अपेक्षा हुन्छ । तर कपिलवस्तुको जनता माध्यमिक विद्यालयमा भने विद्यार्थीहरूले किताबी र व्यवहारिक ज्ञान मात्र सिकेका छैन व्यावसायिक ज्ञान समेत सिकेका छन् र त्यस भन्दा माथि पढ्दा पढ्दै आत्मनिर्भर बनेका छन् ।
कपिलवस्तुको वाणगंगा नगरपालिका २ पिपरामा रहेको जनता माध्यमिक विद्यालयमा पढ्ने विद्यार्र्थीहरु सैद्धान्तिक र व्यवहारिक ज्ञान सिक्दा सिक्दै व्यावसायिक समेत बन्छन् । उनीहरूले जति समय कक्षा कोठामा दिन्छन् त्यति नै समय खेतबारीमा समेत दिने गरेका छन्। कापी कलम समाउने हातहरू कुटो कोदालो समाउँदै माटोमा रमाई रहेका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रमले विद्यार्थीलाई व्यावसायिक सिप सँगै आर्थिक उपार्जन समेत भएको विद्यार्थी सुस्मा पालले बताईन । कपि कलम किन्ने खर्च र पकेट खर्च यसले नै पुग्ने गरेको भन्दै विध्यर्थिहरु दङ्ग छन् ।
विद्यालयले अध्ययन सँगै श्रम र सिप विस्तार गर्ने गरी सञ्चालन गरेको यो कार्यक्रम अन्तरगत कक्षा ९ र १० का विद्यार्र्थीको सक्रियतामा मौसमी तथा व्यामौसमी तरकारी उत्पादन गर्दै आएको छ। विद्यालय परिसरमा टमाटर, लसुन, च्याउ, सयपत्री फुल र बेसारको व्यावसायिक खेती गरिरहेका छन्। विद्यार्र्थीहरुलाई तरकारी खेती आधुनिक तरिकाबाट कसरी खेती गर्ने, नयाँ प्रणालीको विकास, रोग किराको व्यवस्थापन तथा बजार सम्म कसरी उत्पादन भएका तरकारी पु¥याउने सम्मको अभ्यास गराइने शिक्षक विक्रम बेल्बासले बताए ।
गत वर्ष देखि सुरु गरेको सो कार्यक्रमबाट यस वर्ष भने राम्रै आम्दानी लिन सक्नेमा विद्यालय प्रशासन विश्वस्त छ। कार्यक्रम सञ्चालनका लागि पाँच लाख रुपियाँ अनुदान स्वरूप आएको विद्यालयले जनाएको छ। सैद्धान्तिक र व्यवहारिक ज्ञान सँगै व्यावसायिक ज्ञान सिकेपछि विद्यार्र्थीहरुलाई समेत जिविको पार्जनमा सहज पुग्ने प्रधानाध्यापक रमेश पन्थीले बताए ।
पढ्दै कमाउँदै कार्यक्रम आम्दानीको श्रोत मात्र नभई व्यवहारिक र व्यावसायिक ज्ञान सिक्ने राम्रो अवसर समेत बनेको छ ।







