काठमाडौं । राष्ट्रिय सभाका लागि सत्ता गठबन्धनबीचमा भएको भागबन्डामा नेपाली कांग्रेसले १० सिट पायो । सो सिटमा उम्मेदवार तय गर्न पार्टी कार्यालय सानेपामा आइतबार बसेको संसदीय बोर्डको बैठकले सहमति जुटाउन सकेन । एक पदाधिकारीका अनुसार सो छलफलमा दुईवटा नाममा मात्र सहमति भएको छ । अन्यमा विवाद देखिएको हो ।
कोशी प्रदेशबाट कृष्ण सिटौला र मधेसबाट आनन्दप्रसाद ढुंगानाको नाममा मात्र सहमति जुटेको र अन्यमा छलफल जारी रहेको ती पदाधिकारीले बताए । सत्ता गठबन्धनबाट राष्ट्रिय सभाको टिकट पाएसँगै नेता सिटौला भने आइतबार नै कोशी प्रदेशको राजधानी विराटनगर गएका छन् । अब कांग्रेसले ८ सिटमा उम्मेदवार तय गर्नुपर्नेछ ।
बैठकमा सहभागी एक पदाधिकारीका अनुसार सभापति शेरबहादुर देउवाद्वारा हस्ताक्षर गरिएको टिकट लिएर सिटौला झापा जान हिँडेका थिए । सिटौला वरिष्ठ नेता भएकाले उनलाई यसपटक राष्ट्रिय सभाको नेतृत्व नै गरेर पठाउनुपर्ने भन्दै सभापति देउवाले उनको नाम बैठकमा राखेका थिए ।
सभापति देउवाले आइतबार बिहान शेखर कोइराला र गगन थापासँग सिटौलाका ’boutमा कुरा गरेका थिए । लगत्तै सभापति देउवाले संसदीय बोर्डमा राखेका थिए ।
त्यस्तै, मधेस प्रदेशमा आनन्द ढुंगानाको नाममा सहमति जुटेको ती पदाधिकारीले जानकारी दिए ।
कांग्रेसले पाएको बाग्मती र कर्णालीको सिटमा तय गर्ने उम्मेदवारमा भने विवाद जारी रहेको ती पदाधिकारीले बताए ।
बागमती प्रदेशमा भने उम्मेदवार टुंग्याउन केही विवाद देखिएको उनले बताए । बाग्मतीमा तरुण दलका पूर्वअध्यक्ष जीतजंग बस्नेत र काठमाडौं जिल्ला सभापति सबुज बानियाँको नाम बैठकमा आएको थियो । यी नाममा दुवै पक्षले अडान राखेपछि विवाद भएको हो ।
संस्थापन पक्ष बस्नेतको लबिइङमा रहेको थियो भने शेखर–गगन समूह बानियाँको पक्षमा उभिएका छन् । बाग्मतीमा महिलातर्फ पनि दुईवटा नाम आएका छन् । विष्णुदेवी पुडासैनी र उमा दाहालको नाममा छलफल भएपछि सहमति हुन सकेन ।
गण्डकी प्रदेशबाट सोभियत अधिकारीको नाममा सहमति हुने सम्भावना देखिएको छ । अधिकारी तत्कालीन कांग्रेस प्रजातान्त्रिकबाट कास्कीको जिल्ला सभापति थिए । सो क्षेत्रबाट गोपालमान श्रेष्ठले पनि दाबी गरेका छन् ।
श्रेष्ठलाई कुनै पक्षले साथ नदिएका कारण उनको दाबी फितलो देखिएको छ । प्रदेशबाट अल्पसंख्यक–अपांगता भएकामा शेखर पक्षलाई दिइएको छ ।
लुम्बिनी प्रदेशबाट पुष्पा भुसाललाई ल्याउने नाम संस्थापन पक्षले अघि सारेको थियो । अर्घखाँचीमा टोपबहादुर रायमाझीसँग पराजित भएकी उनलाई पुनः ल्याउन नहुने माग पनि उठेको छ । उनको विकल्पमा इतर समूहले विष्णु सापकोटाको नाम लिएका छन् । यसमै सहमति हुने सम्भावना रहेको ती पदाधिकारीले बताए ।
कर्णालीमा विवाद देखिएको छ । खुला सदस्यमा संस्थापनबाट कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकायाको नाम लिइएको छ भने इतर पक्षले भूपेन्द्रजंग शाहीको नाममा अडान लिएको छ ।
सुदूरपश्चिमममा खुलाबाट कञ्चनपुरका पूर्वजिल्ला सभापति बलदेव बोहरा र अल्पसंख्यक–अपांगता भएकामा कैलाली जिल्ला सभापति नारायणदत्त भट्टको नाम चर्चामा छ । बोहरा यसअघि देउवा प्रधानमन्त्री हुँदा उनको सल्लाहकार पनि थिए ।







