काठमाडौं । जिल्ला अदालत काठमाडौंले १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका आठ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरबहादुर राईको इजलासले सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । यस मुद्दामा दुई जना फरार रहेका छन् । दुबईबाट १४ किलो सुन लिएर आएका गोरखाका चन्द्र घलेलाई पक्राउ गरेपछि थप तस्करी’bout खुलेको थियो । विमानस्थल भन्सार कार्यालयले अनुसन्धानका क्रममा यस समूहले १ सय ३८ किलो सुन तस्करी गरेको भन्दै सोहीबराबर बिगो र जरिमाना दाबी गरेको छ ।
पछिल्लोपटक सुन लिएर आएका चन्द्र घले, नेपालमा सुन तस्करीको व्यवस्थापन गर्ने मीनबहादुर घले र यसअघि सुन तस्करी गर्ने स्याङ्जाका कृष्णकुमार श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका छन् । यही मुद्दामा प्रतिवादी बनाइएका डीबी भन्ने धनबहादुर गुरुङ र उनकी पत्नी बिना गुरुङ भने फरार छन् ।
यस्तै, तस्करीको सुन विमानस्थलबाट गिरोहको घरसम्म पु¥याइदिने कर्मचारी पनि जेल चलान भएका छन् । विमानस्थलका कर्मचारीहरू राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, रमेश देउला, अनिल श्रेष्ठ, शेरबहादुर बस्नेत जेल चलान भएका हुन् । उनीहरू नागरिक उड्डयन प्राधिकरणअन्तर्गतका कर्मचारी हुन् । उनीहरूले धनबहादुर गुरुङसँग घुस लिई सुन चोरी पैठारी गरेको आरोप छ ।
सुन तस्करीमा नाम जोडिएका र बयान पोलेका अंकित अग्रवाल, राजेन्द्र बस्नेत, बिमल पोद्दार, राजकुमार भारती, जीवन गुरुङ, गुरु भन्ने व्यक्तिहरूको एकिन नाम, थर, वतन र कसुर खुलेका बखत पेस गरिने भएको छ ।
दुबईबाट १४ किलो सुन लिएर आएका चन्द्र घलेमाथि अनुसन्धान गर्ने क्रममा सो समूहको विगतदेखि नै विमानस्थलबाट सुन तस्करी गर्ने चिनियाँहरूको समूहसँग सम्पर्क देखिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । सो प्रकरणमा १० जनालाई पक्राउ गरी अनुसन्धान गर्दा माथिल्लो तहमा डीबी गुरुङ र जोन भन्ने जीवन गुरुङको संलग्नता खुलेको हो । फरार रहेका उनीहरू दुवै जनाको यसअघि सवारीसाधनका पार्टपुर्जामा लुकाएर हङकङबाट सुन तस्करी गर्ने गिरोहसँग पनि सम्पर्क पुष्टि भएको थियो । दावा छिरिङलगायतको सो गिरोहसँग उनीहरूको सम्पर्क देखिएपछि पर्याप्त प्रमाण नपुगेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कागज गरेर छाडेको थियो ।
पछिल्लो घटनामा भने प्रस्ट प्रमाण भएपछि उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सुन बरामद भएदेखि नै दुवै जना फरार छन् । सो गिरोहले वर्षाैंदेखि सुन तस्करी गरेको अनुसन्धानमा खुले पनि विस्तृत अनुसन्धान हुन नसक्दा यसमा संलग्न थप उच्च तहका व्यक्तिहरूको पहिचान खुल्न सकेको छैन ।






