काठमाडौं । सरकारले नेपाल प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी कटौती गर्ने तयारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली आफैंले आवश्यकभन्दा बढी डीआईजी पद कटौती गरिने प्रस्ताव गरेका हुन् ।
हाल नेपाल प्रहरीमा प्रशासनतर्फ २६ र प्राविधिकतर्फ ८ गरी ३४ डीआईजीको दरबन्दी रहँदै आएको छ । सरकारले प्रशासनतर्फबाट १३ पद घटाउने गरी तयारी अघि बढाएको हो ।
सोमबारको मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले २६ मध्येबाट १३ मात्रै कायम गर्ने गरी तयारी भएको र त्यसमध्ये पनि हाल चार जना कायमै रहेका कारण नौ जनाको मात्रै डीआईजीमा बढुवा गर्ने तयारी भएको जानकारी दिए ।
‘२६ मध्येबाट १३ मात्रै कायम गर्ने गरी तयारी भएको छ, प्रशासन तर्फका अब १३ वटा दरबन्दी घट्छ, हाल चार जना डीआईजी कायमै रहेका कारण अब ९ जनाको मात्रै बढुवा गर्ने तयारी छ,’ ती मन्त्रीले राजधानीसँग भने ।
प्रशासनतर्फ १३ जना मात्रै
९ जनाको मात्रै बढुवा हुने
स्रोतका अनुसार सो विषयमा निर्णय नै भएको बुझिएको छ । तर, सार्वजनिक गरिएको छैन । सोअनुसार नै निर्णय बाहिरिए धेरै एसएसपीहरु बढुवाको मुखमा मारमा पर्नेछन् ।
प्राविधिकबाहेकका २६ डीआईजीमध्ये हाल भने २२ जनाको दरबन्दी रिक्त छ । गत २९ माघमा तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगै उनका ब्याजी डीआईजीले अवकाश पाएपछि २२ दरबन्दी रिक्त रहँदै आएको हो । प्राविधिकतर्फ भने ८ डीआईजी नै कायम छन् ।
डीआईजीका १३ दरबन्दी कटौती भए बाँकी ९ पदका लगि ३४ जना एसएसपीहरु प्रतिस्पर्धामा रहनेछन् । हाल सूर्य उपाध्याय, निरज शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेल भने डीआईजी छन् ।
नेपाल प्रहरीमा रिक्त डीआईजी बढुवामा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच सहमति नजुटेपछि पछिल्लो समय गृह र प्रधान कार्यालयबीचको सम्बन्ध चिसिएको थियो ।
गृह मन्त्रालयले आवश्यकभन्दा बढी डीआईजीको दरबन्दी कटौती गर्ने तयारी गरेपछि प्रधान कार्यालय रुष्ट रहँदै आएको थियो ।
यसअघि डीआईजीको दरबन्दीमा पुनरावलोकन गर्न गृहसचिव महेश्वर न्यौपानेको नेतृत्वमा समिति गठन भएको थियो । प्रहरीमा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर मात्रै दरबन्दी थपघट गर्नुपर्ने प्रावधान छ । ओएनएमले घटनाउनुपर्ने या बढाउनुपर्ने कारणसहित संख्या निर्धारण गर्छ । गृह मत्रालयले भने मन्त्रीपरिषद्को निर्णय आइनपुगेको जनाएको छ ।
‘समितिले निर्णय लिने कुरा हो, मन्त्रिपरिषद्बाट भएको निर्णय मन्त्रालयमा आएको छैन,’ गृह स्रोत भन्छ । नेपाल प्रहरीमा डीआईजी बढुवाका लागि एसएसपीहरू घनश्याम अर्याल, पुरुषोत्तम कँडेल, गणेशबहादुर ऐर, वसन्त पन्त, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, राजेशलाल कर्ण, दिलीप चौधरी र देवबहादुर बोहोरा प्रतिस्पर्धामा छन । उनीहरु ९८ ब्याचका हुन् ।
यसैगरी, १०१औं ब्याचबाट ०७४ असारमा एसएसपीमा बढुवा भएका धीरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्तकुमार लामा, दिवेश लोहनी, रवीन्द्र धानुक बढुवाको लाइनमा छन् ।
त्यस्तै, २०७५ वैशाखमा एसएसपीमा बढुवा भएका सहकुल थापा, अरुणकुमार बीसी, प्रकाश अधिकारी, सुशीलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रमबहादुर सिंह, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ, किशोरकुमार दाहाल, शेखर कोइराला, प्रदीपकुमार श्रेष्ठ समेत डीआईजी बढुवाको लाइनमा छन् ।
डीआईजी बढुवा समयमै नहुँदा प्रहरीका महत्वपूर्ण विभाग र ६ प्रदेश एसएसपीको भरमा नै छन् । प्रहरीमा ७ वटै प्रदेश प्रमुख डीआईजी रहन्छन । यस्तै अन्य महत्वपूर्ण विभागसमेत डीआईजीको कमान्डमा रहने व्यवस्था छ ।






