वीरगन्जमा एक हजार २७८ औं रक्तदान

वीरगन्ज । मानिसको रगत बाहिर बगाए नराम्रो मात्र नभई धेरै बगे उसको मृत्युसम्म हुन्छ । तर त्यहि रगत पोकामा बगायो भने त्यसले अर्को मानिसको जीवन बचाउनेसम्म काम गर्छ । त्यसैले त बोलचालको भाषामा यस्तो कदमलाई ‘रक्तदान जीवनदान’ भन्ने पनि गरिएको छ । यो बलियो मानवीय पक्ष पनि हो ।

अरुको जीवन बचाउन गरिने रक्तदान परोपकारी काम अन्तर्गत पर्छ । यो काममा केही व्यक्ति र संस्था अग्रसर भई अभियानका रुपमा लागि परेर आफ्नो रगतले अरुको जीवन बचाउन तत्परता देखाएका छन् । यो निकै परोपकारी काम पनि हो । बुधबार वीरगन्जमा यस्तै सवल पक्षको अभियानमा लागेका अभियन्ताहरु मध्ये १ सय ९० जनाले एकै ठाउँमा रक्तदान गरी सकारात्मक सन्देश दिएका छन् ।

मधेशमा प्रायः पुरुषहरुले मात्र बढि रक्तदान गर्ने विगतको परम्परा तोड्दै बुधबारको रक्तदान अभियानमा भने आधा आकाश ढाक्ने महिला सहभागीता पुरुषकै हाराहारीमा देखिएको छ । ९६ जना पुरुषले रक्तदान गर्दा महिला सहभागिता पनि ९४ पुग्नु निकै प्रभावकारी कदम भएको सहभागी मध्ये विश्व सूसमाचार समाजका पर्सा संयोजक रामशरण अधिकारीले बताए ।

आफू आबद्ध संस्थाले आयोजना गरेको यो रक्तदान अभियान १ हजार २ सय ७८ औं विश्वव्यापाी रक्तदान अभियान भएको उनको भनाइ छ । मध्य तराईको पर्सा, बारा र रौतहटका बिरामीलाई रगतको अभावबाट थोरै साहत पुगोस् भनी कोरियाबाट सुरु भएको विश्वव्यापी रक्तदान अभियान नेपालको वीरगन्जमा पनि आयोजना गरिएको विश्व सूसमाचार समाजले जनाएको छ ।

रक्तदान कार्यक्रमको उद्घाटन वीरगन्ज महानगरपालिकाका महानगर प्रमुख राजेशमान सिंहले गरे । उनले सो क्रममा मानवीय समवेदनासँग जोडिएका कुरामा सबैले हातेमालो गर्दै परोपकारी कार्यमा जुट्नु राम्रो कदम भएको बताए । वैभव वीरगन्ज बनाउने कार्यमा सबैले सकारात्मक काम गर्नु र महानगरपालिकालाई पनि सकारात्मक सुझाव दिनुपर्ने उनले जोड दिए ।

सामाजिक उपजले मानिसलाई उच्च–नीच, जातपात वा धर्मसँग जोडेर आपसमा गलत सन्देश उब्जाउन खोजे पनि त्यो गलत नै हुने सहभागीहरुको मत छ । बिरामीको ज्यान जोगाउन प्रयोग हुने रातो रगत कुनै जातधर्म विशेषको नझल्कने हुँदा समाजको समुन्नतिको लागि सबै परोपकारी काममा एकाकार हुनु पर्ने सहभागीहरुको जोड छ ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ