राजविजराज । बाबु बाजेको पाला देखि वसोवास गर्दै आएका जग्गाको लालपूजा न हुदा विभिन्न खाले समस्या झेलिरहेका ५१ जनाले बुधवार धग्गाधनीको लालपूर्जा (जग्गाधनी दर्ता प्रमाण पत्र) प्राप्त गरेका छन् ।
राजविराज नगरपालिका वडा नं.६ कार्यालयको पहलमा नापी कार्यालयले एक कार्यक्रमबीच उनीहरुलाई लालपूर्जा प्रदान गरेको हो । यसरी लालपूजा पाउनेहरुमा २७ पूरुष र २४ महिला छन् ।
राजविराज नगरपालिका वडा नं. ६ कार्यालयको आयोजना तथा नापी कार्यालय र ३ नम्बर नापी टोली राजविराजको संयोजनमा गरिएको कार्याक्रममा नापी कार्यालयका प्रमुख सुमन किशोर मिश्र, ३ नं नापी टोलीका प्रमुख सतिश कुमार यादव, वडा अध्यक्ष शशी चौधरी, जयनारायण मण्डल, सुभाष चन्द्र यादव लगायतले जग्गाधनी दर्ता प्रमाण पत्र पुर्जा प्रदान गरेका थिए ।
तत्कालिन बोरिया गाविस हाल राजविराज नगरपालिका ६ मा मात्रै ४ सय भन्दा बढी स्थानीय वासीन्दा जग्गाधनी प्रमाण पत्रपुर्जाबाट बन्चित रहेकोमा आवश्यक प्रक्रिया पुरा गरी पहिलो चरणमा ५१ जनालाइ लालपूर्जा प्रदान गरिएको र बाँकि रहेकाहरुलाई पनि प्रक्रिया पुरा गर्दै क्रमिकरुपमा प्रदान गरिने नापी कार्यालयका प्रमुख मिश्रले जानकारी दिए ।
गाउँ ब्लकको जग्गामा बाबुबाजेको पाला देखी वसोवास गर्दै आएको सो वडाका ४ सय भन्दा बढी वडावासी अझै लालपूजा नपाउँदा समस्या भोगिरहेको भन्दै वडाअध्यक्ष शशि चौधरीले बाँकि रहेका वडावासीलाई समेत जग्गाधनी प्रमाण पत्र दिलाउन आफुले आवश्यक पहल थालेको बताए ।
आफुले जिम्मेवारी सम्हालेपछि सूरु गरेको प्रयास बल्ल सफल हुन थालेको भन्दै उनले आफ्नो कार्यकालमा विवादीत बाहेक सबै गाउँब्लक जग्गाका धनीहरुलाई लालपूर्जा दिलाएरै छाड्ने प्रतिबद्धता समेत जनाए ।
जग्गाधनी प्रमाण पत्र पाएकोमा खुशी ब्यक्त गर्दै ८२ वर्षिय श्यामसुन्दर प्रसाद चौधरीले भने “आज देखी जग्गाधनी बन्न पाउँदा हामी पनि धन्य भयौं ।”
यता वर्षाै देखी लालपुर्जा नपाएका कारण राजविराजका नगरपालिकाका ५ हजार परिवार अहिले पनि समस्या मै छन् । विटौरी जग्गाको समस्या पनि यसरी नै समाधान हुनु पर्ने उनीहरुको माग छ ।






