परीक्षणका लागि पठाइयो औषधि

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले यो वर्षबाट टेण्डरबाट खरिद गरिएको औषधीको गुणस्तर परीक्षण गर्न थालेको छ । २०७९ देखि नै टेण्डर मार्फत औषधी खरिद गर्न थालेको उपमहानगरले यो वर्षदेखि औषधीको गुणस्तर परीक्षण गर्न थालेको हो ।

यो पटक टेण्डर मार्फत औषधी खरिद गर्दा ६१ प्रतिशत घटेर सप्लायर्सले औषधी उपलब्ध गराएको छ । टेण्डर गर्दा औषधी सस्तो हुने भए पनि गुणस्तर ’bout एकिन हुन उपमहानगरले गुणस्तर परीक्षण गर्न थालेको जनाएको छ ।

यो पटक खरिद गरिएको औषधीको नमुना संकलन गरेर स्पेसिफिकेसनअनुसार गुणस्तर भए÷नभएको पहिचान गर्न राष्ट्रिय औषधी प्रयोगशाला काठमाडौंमा औषधीको नमुना पठाइएको धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए । ‘धनगढीमा कोटेसनबाट औषधी खरिद नगरेर टेण्डर मार्फत खरिद गर्न थालिएको छ । अहिले खरिद गरिएको औषधी पनि परीक्षण गर्न काठमाडौं पठाएका छौँ ।’

धनगढी उपमहानगरले चैत १ गते टेन्डर मार्फत ६१ प्रतिशत कम मूल्य हालेर आपूर्ति गरिएका २६ प्रकारका औषधीको नमूना संकलन गरेर राष्ट्रिय औषधी प्रयोगशाला काठमाडौंमा पठाएको छ । त्यसको एक हप्ताभित्र गुणस्तर जाँचको रिपोर्ट आउनेछ ।

धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षको सुरूमा पनि औषधी खरिद गर्न टेण्डर आह्वान गरेको थियो । उपमहानगरपालिकाले आर्थिक वर्षको सुरूमा ३८ लाखको औषधी खरिद गर्न खोलेको टेण्डरमा औषधी सप्लायर्सले ५८ प्रतिशत घटीमा औषधी उपलब्ध गराएका हुन् ।

यस्तै, गत माघमा दोस्रो पटक खोलेको औषधि खरिदको टेण्डरमा सप्लायर्सले ६१ प्रतिशत कममा टेण्डर हालेको छ । उपमहानगरले दोस्रो पटक निःशुल्क वितरण गर्ने २६ किसिमको औषधी खरिद गर्न ३३ लाख बजेट छुट्याएकोमा ६१ प्रतिशत कम अर्थात् ८ लाख ९१ हजारमा औषधी उपलब्ध गराउन नेपालगन्जको सिर्जना मेडिसिन सप्लायर्सले टेण्डर हात पारेको हो । कोटेसनमा औषधी खरिद गर्दा महंगो पर्न जाने तर टेण्डर गर्दा कम मूल्यमा बढी औषधी खरिद गर्न सकिएको धनगढी नगर प्रमुख गोपाल हमालले बताए । ‘पहिला कोटेसनमा औषधी खरिद हुन्थ्यो । अहिले टेण्डरमा खरिद गर्दा कम पैसामा बढी औषधी खरिद भएको छ,’ उनले भने, ‘टेण्डर गरेर खरिद गर्दा बचत भएको पैसा अन्य लोककल्याणकारी काममा खर्च गर्न मिलेको छ ।’

बोलपत्र आह्वान गरेर औषधी खरिद गर्दा सप्लायर्सहरूले घटाघटकमा बोलपत्र लगाउँदा खरिदकर्ताले मागेको औषधी सस्तो पर्न जान्छ । औषधी सस्तो भएर मात्रै नहुने गुणस्तर तोकिए अनुसार छ छैन भनेर पनि जाँच गर्नुपर्ने भएकाले सप्लायर्सले फागुन मसान्तसम्म उपमहानगरपालिकालाई उपलब्ध गराएको औषधी बिरामीहरूलाई वितरण गरिएको छैन । गुणस्तर परीक्षणमा औषधी ठिक छ भन्ने रिपोर्ट आएपछि मात्रै उपमहानगरले स्वास्थ केन्द्र तथा विशेषज्ञ वडा क्लिनिकमा अहिले खरिद गरेको औषधी वितरण गरिने नगर प्रमुख हमालले बताए ।

खरिद गरिएको औषधीको गुणस्तर जाँच गर्न चैत १ गते सबै किसिमको औषधीको नमुना संकलन गरेर राष्ट्रिय औषधि प्रयोगशाला बबरमहलमा औषधीको नमुना परीक्षणका लागि पठाइएको हो । गुणस्तर परीक्षणमा औषधी पास नभएको औषधी जफत गरेर सप्लायर्सलाई आवश्यक कारबाहीका लागि माथिल्लो निकायमा उपमहानगरले लेखी पठाउने भएको छ । गुणस्तर ठिक भए मात्रै सप्लायर्सले भुक्तानी पाउने छ । एक हप्ताभित्र परीक्षणका लागि पठाइएको नमुनाको नतिजा आउने नगर प्रमुख हमालले बताए ।

धनगढी उपमहानगरपालिकाले यो वर्षबाट खरिद गरिएको औषधीको पनि गुणस्तर परीक्षण पश्चात् मात्रै सप्लायर्सलाई भुक्तानी दिने भएको छ । यसअघि वडा कार्यालयहरूले जडान गरेका सडक बत्ती र ६ लेन सडकको स्मार्टलाइटको समेत प्रयोगशाला परीक्षण गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 158 times, 1 visits today)

epaper

ताजा समाचार

अमिर खानको सम्पत्ति झन्डै २ हजार करोड