द्वारिकाज ग्रुप अध्यक्ष श्रेष्ठको निधन

काठमाडौं । मुलुककै उदाहरणीय अग्रणी महिला उद्यमी एवं द्वारिकाज ग्रुप अफ होटल एन्ड रिसोर्टकी अध्यक्ष अम्बिका श्रेष्ठको ९२ वर्षको उमेरमा निधन भएको छ । उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो ।

निमोनियाका कारण श्रेष्ठलाई अस्पताल भर्ना गरिएको थियो । महिला पर्यटन व्यवसायी श्रेष्ठलाई होटल तथा पर्यटन उद्योगको पायोनियर व्यवसायीका रूपमा लिइन्छ । उनका दुई छोरी छन् । लामो समय मुलुकको पर्यटन क्षेत्रमा रहेकी श्रेष्ठ द्वारिकाज ग्रुप अफ होटल एन्ड रिसोर्टको अध्यक्ष मात्र नभएर ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)की संस्थापक
अध्यक्षसमेत थिइन् ।

निमोनिया र बाथरोगबाट ग्रसित श्रेष्ठ दुई महिनायता उपचाररत थिइन् । उनको आज (शुक्रबार) पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने परिवार स्रोतले जनाएको छ ।

६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्ण रूपमा काठमाडौंको बत्तीसपुतलीस्थित द्वारिकाज होटल तथा रिसोर्टको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । श्रेष्ठले चार वर्षअघि क्यान्सरलाई जितेकी थिइन् ।

उनका श्रीमान् र छोराको यसअघि निधन भइसकेको छ । उनले लामो समय पर्यटन क्षेत्रमा रहेर आफ्नो होटल व्यवसायमार्फत नेपालको पुरानो संस्कृति र सम्पदा जोगाउने काम गर्दै आएकी थिइन् ।

श्रेष्ठसँग पर्यटन उद्योगका विभिन्न संघ–संगठनमा नेतृत्वदायी भूमिकामा रहेर लामो समय काम गरेको अनुभव थियो । श्रेष्ठले द्वारिकाजको नाममा काठमाडौं र धुलिखेलमा होटल चलाउँदै आएकी थिइन् । यसैगरी, उनले विभिन्न ट्राभल र ट्रेकिङ एजेन्सीसमेत चलाइरहेकी थिइन् । धेरै दशकअघि जतिबेला महिलाहरूलाई घरबाहिर निस्कन पनि समस्या हुन्थ्यो, त्यस समयमा महिला पर्यटन व्यवसायी श्रेष्ठले नेपाली पर्यटन क्षेत्रकै सम्पदाका रूपमा रहेको काठमाडौंको बत्तीसपुतलीस्थित हेरिटेज होटल द्वारिकाजको
स्थापना गरिन् ।

नेपालको पहिलो बुटिक होटल द्वारिकाजकी संस्थापक अध्यक्ष मात्र होइन, श्रेष्ठ नेपालकी अग्रणी महिला उद्यमी तथा महिलाहरूमा उद्यमशीलता विकासका लागि लागिरहने प्रेरणादायी सामाजिक अभियन्ता पनि थिइन् । उनले स्पेनको अवैतनिक वाणिज्य दूतको जिम्मेवारी पनि सम्हालेकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 233 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री शाहले देशवासीका नाममा गरेको सम्बोधनको पूर्णपाठ