काठमाडौं । सञ्चारकर्मी लक्ष्मण सुवेदीले आफुद्धारा निर्देशित चलचित्र ‘सतीदेवी’को मँगलबार बेलुका काठमाडौंमा प्रिमियर गरेका छन् । यो चलचित्र यही शुक्रबार कृष्णजन्म अष्टमीको अबसरमा रिलिज हुँदैछ । चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा उनले प्रिमियर आयोजना गरेका हुन् ।
प्रिमियरमा पुगेका चलचित्रकर्मी तथा अन्यको चलचित्र सकिँदै गर्दा गहभरी आँसु थियो । छोरीमात्र हुने अभिभावकलाई छोरा नभएको स्थितमा हेरिने दृष्टीकोणलाई यो चलचित्रमा सुवेदीले प्रस्तुत गरेका छन् ।
आफ्नी आमाले बुबाको चाहना अनुसार छोरा जन्माउन नसकेपछि अन्य उपाय प्रयोग गरेर छोरालाई घरमा ल्याउँदा गाउँलेबाट ती छोरी (मलिका महत)ले खेप्नुपरेको पीडा यो चलचित्रमा प्रस्तुत छ । अभिनेत्री महतलाई जुत्ताको माला र कालोमोलो दलेको गाउँ निकालेको र उनी शहरमा बिस्थापित हुनुपरेको जस्ता विभिन्न दृष्यले प्रिमियरमा दर्शकको मन छोयो ।
चलचित्र हेरेपछि कलाकारहरुले मुलधार भन्दा केही पर रहेर सुवेदीले कारुणिक चलचित्र बनाएको बताए । अभिनेत्री पुजा शर्माले सतीदेवी हेर्दा आफ्ना धेरै कथाहरु सो चलचित्रमा पाएको बताईन् । अर्की अभिनेत्री गौरी मल्लले यो चलचित्रमा अभिनेत्रीदेखि बालकलाकारसम्मको अभिनयले आफुलाई छोएको बताईन् । समाजमा यस्ता फरक चलचित्र निर्माण हुनुपर्ने र यस्ता चलचित्रलाई राज्यले सहयोग गर्नु पर्ने उनको कथन थियो ।
अभिनेत्री मिरुना मगरले पनि नेपाली नारीहरुको अबस्थालाई चलचित्रले ससक्त रुपमा उठाएको छ भनिन् । उनले पनि चलचित्र हेर्दा आफुले आँसु थाम्न नसकेको जनाउँदै सतीदेवीले उठाएको कथा अहिले पनि नेपाली ग्रामिण समाजमा रहिरहेको बताईन् ।
प्रिमियरमा यो चलचित्र हेरेकी अर्की अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले आफुहरुले हास्य प्रधान चलचित्र बनाउने गरेको तर सतीदेवी जस्ता सम्वेदनशिल बिषयमा पनि चलचित्र बनाउने चाहना भएको बताईन् । यस्तो बिषयमा चलचित्र बनाउन साहस चाहिने उनको कथन थियो ।
निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेताद्धय सलोन बस्नेत, सलिनमान बनियाँसहित थुप्रै कलाकारहरुले चलचित्र सतीदेवीको कथावस्तु, यो चलचित्रकी अभिनेत्री मलिका र बाल कलाकारहरुको कामको प्रसँसा गरे । चलचित्रमा मलिका महत, रमेश बुढाथोकी, सृजना अधिकारी, हर्षिक ओलीसहितका कलाकारको अभिनय रहेको छ ।






