भरियो लागुऔषधका कैदीले कैलाली कारागार

धनगढी । कैलाली जिल्ला कारागार लागुऔषध मुद्दाका कैदीले भरिएको छ । जिल्ला कारागारमा ५५६ जम्मा कैदीहरू रहेकोमा १७७ जना लागुऔषधसँग सम्बन्धीत मुद्दाका रहेका छन् ।

कैलाली जिल्ला अदालतमा गत आर्थिक वर्षमा ५३९ मुद्दा लागुऔषधसँग सम्बन्धीका दर्ता भएका थिए । जिल्ला अदालतले ४३१ मुद्दाको अन्तिम सुनुवाइ गरेको छ । १०८ मुद्दाको अन्तिम सुनुवाइ हुन बाँकी छ ।

कैलाली जिल्ला अदालतले कैद भुक्तानीका लागि पठाएका १४० कैदी हाल जिल्ला कारागारमा रहेका छन् । थप ३७ जना थुनुवा रहेका छन् । उनीहरूलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ । कारागारमा रहेका १७७ जनामा ३७ जनाको अन्तिम सुनुवाइ भएको छैन । १४० जनाको मात्र अन्तिम सुनुवाइ भएको छ । १४० जना लागुऔषध मुद्दामा दोसी ठहर भएर कारागारमा कैद जीवन बिताइ रहेका छन् ।

कैलाली जिल्ला कारागारमा लागुऔषध मुद्दाका कैदीहरूले भरिएको कैलाली जिल्ला अदालतका न्यायाधीश दण्डपाणि लामिछानेले बताए । उनले खुल्ला सिमानाका कारण पनि लागुऔषध कारोबार तथा सेवनका घटनामा कमी नआएको हुन सक्ने बताए । उनले भने, ‘कारागारमा क्षमता भन्दा बढी मान्छे छन् । फेरि पनि समाजमा यो अपराध किन घटिरहेको छैन ? तराईमा यो समस्या छ, कैलालीमा अझ बढी छ । खुल्ला सिमानाका कारणले समेत हुन सक्छ ।’

कैलाली जिल्ला कारागारमा ४९६ पुरुष, ५८ महिला र २ जना बालक गरेर ५५६ जना रहेका छन् । कारागार प्रशासनका अनुसार १५० जनालाई कोहलपुर जेलमा स्थानान्तरण गरिएको छ । कैलाली जिल्ला कारागारमा कैदीको संख्या धेरै भएपछि उनीहरूलाई कोहलपुरको नयाँ जेलमा पठाइएको हो । कोहलपुर कारागार स्थानान्तरण गरिएका कैदीमा अधिकाँस लागुऔषध मुद्दाका रहेका छन् । जिल्लामा पहिलो पटक लागुऔषध मुद्दामा कारागार गएका कैदीहरु कै संख्यामा दोहोरीने कैदीको संख्यासमेत रहेको छ । कम समय वा ५–६ महिनाका लागि मात्र कैद भुक्तानी गर्न कारागार बसेका कैदीहरू दोहोरीने गरेका हुन् । उनीहरू कारागार मुत्त भएपछि बढी लागुऔषधको सेवन गर्ने गरेका तथ्य फेला गरेका कारागार प्रशासनले बताएको छ ।

तर, कैलाली जिल्ला अदालतका न्यायाधीश दण्डपाणि लामिछानेले खुल्ला सिमाना, बेरोजगारी, अशिक्षा र गरिबीका कारणले समेत कैलालीमा लागुऔषधका मुद्दाको सङ्ख्या धेरै भएको बताए । उनले भने, ‘भारतसँग सिमाना जोडिएको एक कारण हुन सक्छ । तर, बेरोजगारी, गरिबीका कारणले यस्लाई व्यवसायको रूपमा बाँचने आधार बनाउनलाई पनि त्यतातिर युवा लागेका हुन की ? अर्काे तिर सँगत, गरिबी, अशिक्षा र बेरोजगारीका कारणले मानिसहरू लतमा लाग्ने र सेवन प्रयोजनमा लाग्ने गरेका छन् । खुल्ला सिमाना भएकाले पारि जाने गरेका छन ।’

कैलाली जिल्ला अदालतमा दर्ता भएका लागुऔषधका मुद्दामा हिरोइनका ५१०, गाँजा–चरेसका २४ र अन्य पाँच रहेका छन् । जिल्ला अदालतमा गत आर्थिक वर्षमा दर्ता भएका ५३९ मुद्दामा ४३१ मुद्दा फर्छाैट भएका छन् । १०८ मुद्दाको अन्तिम सुनुवाइ हुन बाँकी रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 455 times, 1 visits today)

epaper

ताजा समाचार

११औं दिन माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार