काठमाडौं । आज शुक्रबार २१ भदौबाट शुक्रबारबाट तीजको अवसर पारेर चलचित्र देवी प्रदर्शन हुँदैछ । यो चलचित्रको बुधबार बेलुका काठमाडौंमा रेडकार्पेट प्रिमियर गरिएको छ । प्रिमियरमा यो चलचित्र हेरेका सिनेकर्मीहरुले नारी हिँसा बिरुद्ध राम्रो चलचित्र बनेको बताए ।
सिनेमा हेरेपछि निर्देशक सौरभ चौधरीले सिनेमा निकै राम्रो बनेको भन्दै ’देवी’ जस्तो कन्टेन्ट बेसको सिनेमा निर्माण गर्ने हरेक मेभरको सपना हुने बताए । समाज र देशमा भैरहेको बलात्कारका घटना र त्यसमा देखिने कानुनको प्रभावलाई सिनेमाले सुक्ष्म रुपमा उठाएकाले सवै कलाकारले आफ्नो भुमिकालाई न्याय दिनु भएको छ । सिनेमा हेरिरहँदा कहिँकतै पनि अस्वभाविक लाग्दैन् ।
चलचित्र हेरेपछि आफु भावुक भएको अभिनेत्री सृष्टि श्रेष्ठले बताईन भने अभिनेत्रीद्धय लुनिभा तुलाधर र मेनुका प्रधानले महिलाले हेर्नै पर्ने चलचित्र देवी बनेको बताए । यस्तै अभिनेता कर्मा शाक्यले देवीले गहन बिषय उठान गरेको बताए । क्राइम थ्रिलर जनरामा निर्माण भएको यो चलचित्रलाई निर्देशन सञ्जोग राईले गरेका हुन् ।
यो चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ । सन्जेन थापाको सिनेमामा एक्सन रहेको छ ।
रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको देवीको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा छन् । जोएल फ्रोमको डिओपी रहेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।