बागमती र गण्डकीका चेपाङले एकै थलोमा न्वागी मनाउँदै

मकवानपुर । आज (२१ भदौ), आजैबाट चेपाङको न्वागी पर्व सुरु भएको छ । पर्वको अवसरमा बागमती प्रदेशको ३ जिल्ला र गण्डकी प्रदेशको ३ जिल्लाका चेपाङहरु गोरखा जिल्लामा भेला हुँदै छन् ।

आजबाट चेपाङको न्वागी पर्व सुरु

यसपटक संयुक्त रुपमा गोर्खा जिल्लामा यो पर्व मनाउने तयारी पुरा भएका छ । २१ भदौबाट सुरु हुने यो पर्व २२ गते मुख्य रुपमा मनाइन्छ ।

बागमती प्रदेशको मकवानपुर, चितवन र धादिङमा रहेका चेपाङहरु गण्डकी प्रदेशको गोरखा, तनहुँ र लमजुङ जिल्लाका चेपाङले सामुहिक रुपमा पर्व मनाउन लागेका हुन् । गत वर्ष बागमतीका ३ जिल्लाका चेपाङहरुले धादिङ जिल्लाको गजुरी गाउँपालिकामा भेला भएर सयुक्त रुपमा पर्व मनाएका थिए । यसपालि भने २ वटा प्रदेशवासीले एकै थलोमा भेला भएर पर्व मनाउन लागेका हुन् ।

यस पटक गण्डकी प्रदेशको गोरखा जिल्ला, गण्डकी गाउँपालिका ६ मा रहेको तुमनडाँडा माविको प्राङ्गणमा सामुहिक रुपमा न्वागी मनाउन लागिएको हो । सामुहिक पर्व मनाउँदाको सम्पूर्ण खर्च गाउँपालिकाले नै व्यवहोर्ने तयारी भएको चेपाङ अगुवा तथा पूर्व साभासद् गोविन्दराम चेपाङले बताए ।

सामुहिक पर्व मनाउनको लागि लगभग ८ देखि १० लाख खर्च अनुमान गरिएको थियो । गतवर्ष पनि धादिङको गजुरी गाउँपालिकाले ८ लाख खर्च व्यहोरेको थियो ।

तुमनडाँडा माविको प्राङ्गणमा भेला हुने छन् भने चेपाङ केन्द्रीय समितिले आयोजनाको अन्य पाटो हेर्ने तयारी भएको छ । यहाँ झण्डै १ हजार ५ सयको हाराहारीमा चेपाङहरुको उपस्थिती रहने छ । स्थानीय मगर, गुरुङ समुदायहरुको पनि उपस्थिती हुने बताइएको छ ।

पर्व मनाउनको लागि भोज र पूजा सामग्रीको जोहो भइसकेको छ । सामुहिक भोजमा मासु भात खाइनेछ । यसको लागि चामल र मासुको लागि राँगो र सुङगुरको तयारी भएको छ । पूजाको लािग फलफूलमा काँक्रो, अमिलो गाभा मकै आदि आदिको तयारी भएको छ ।

सामुहिक पूजामा सहभागी प्राय सबैले ढ्याङग्रो ठोक्ने चेपाङ अगुवा तथा पूर्व साभासद् चेपाङले बताए । उनका अनुसार पूजामा कम्तिमा ७ जना झाक्री (पाण्दे) पुरेतको पनि व्यावस्था हुँदैछ । उनका अनुसार पर्व मनाउनकै लागि ६ वटा जिल्लाबाट कम्तिमा एक हजार जना चेपाङको उपस्थिती रहने छ । चेपाङहरुको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा बागमती प्रदेश सरकारले तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा दिने गरेको छ । यद्यपि यसवर्ष न्वागीको मुख्य दिन शानिबार परेको छ ।

यो वर्ष नयाँ अन्नबाली, फलफूल पाकेपछि विशेष पूजा गर्दै प्रकृतिलाई चढाएरमात्रै आफूले खाने गरिन्छ । यो चेपाङ समुदायको लागि नयाँ वर्ष पनि हो । केही वर्षयता नेपाल चेपाङ संघको पहलमा २२ भदौलाई छोनाम राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएको छ । यो दिन चेपाड्डहरुले घैया धानको चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमिलाई पूजा गरी पितृलाई खुवाउने गर्दछन् ।

आपसी भातृत्व र मित्रताको पर्वको रुपमा समेत लिइने पर्वमा चेपाङहरुले छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । सांस्कृतिक रूपमा चेपाङ चेपुवामा परेको बताउँदै आएता पनि यो पर्वको विशेष महत्व दिने गरेको मकवानपुरका चेपाङ अगुवा तथा पूर्व साभासद् गोविन्दराम चेपाङले बताए ।

गाउँघरमा न्वागीका दिन चेपाङ झाँक्री (पान्दे) हरुले रातभर ढ्याङग्रो ठोकेर पितृ खुसी पार्ने गर्छन् । यो दिन न्वागी फलाक्ने झाँक्रीहरुका अलावा अन्य मानिसहरु भने सांस्कृतिक नाच र गीतहरु प्रस्तुत गर्ने गर्दछन् । यो दिन उनीहरुले कुखुराका बली समेत दिने गर्छन् ।

२१ गते साँझबाट ढ्याङग्रो फलाक्न सुरु गरिन्छ । सामान्यत जनैपूर्णिमाको दिनदेखि पान्देले ढ्याङ्ग्रो फलाक्ने कार्य सुरु हुन्छ । चेपाङ समुदायमा रहेका ७२ गोत्रहरुको भदौ महिनाको विभिन्न तिथिमा ढ्याङ्ग्रो ठोक्ने पूजा सुरु हुन्छ । २१ गते साँझबाट सुरु हुने ढ्याङग्रो ठोक्ने काम भने न्वागी सुरु भएको विशेष सूचक मानिन्छ ।

दिउँसोदेखि विशेष पूजा सुरु हुने र रातभर झाक्री (पान्दे) द्वारा पितृ पुजा रातभरि भोलीपल्ट विहान ‘बारना’ गरेर चाड समापन गरिन्छ । मकवानपुर जिल्लामा मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकामा मात्रै चेपाङको बसोबास रहेको छ ।

नेपालमा मकवानपुर, धादिङ, चितवनलगायत २६ जिल्लामा चेपाङको बसोवास छ । वि.स २०७८ को जनगणना अनुसार नेपालमा ८४ हजार ३ सय ६४ ले जना चेपाङ छन् । जातिगत हिसाबले जिल्लामा १३ औं स्थानमा चेपाङ जातिको बसोबास रहेको छ । यसैबीच यो पर्वको अवसरमा मकवानपुरको मनहरी गाउँपालिकाले भने २१ गते पनि सार्वजनिक बिदा दिएको थियो ।

भड्कीलो बन्दै न्वागी
विभिन्न पर्वहरु भड्कीलो र खर्चिलो बन्दै आएको गुनासाहरु एकातिर सुन्ने गरीन्छ भने, अर्कोतिर समयको माग भएको दाबि सुन्ने गरिन्छ । जातीय पर्वको महत्व घरघरमै हुन्छ तर सामुहिक पर्वको नामम विभिन्न स्थानमा भेला भएर पर्व मनाउने परिपाटीको कारण न्वागी पनि सर्वसाधारणको पहुँचबाट बाहिरीदै छ ।

चेपाङ संघ गाउँ कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटीहरुमा नेतृत्व गरिरहेका अगुवाहरुले नै सामूहिक पर्वलाई प्राथमिकता दिंदै गर्दा न्यून जीवनस्तर बाँचिरहेका चेपाङहरुले भने पर्व मनाउनै समस्या भोग्दै आएको चमेली चेपाङले बताइन् ।

घरघरमै पनि आफ्नो गच्छे अनुसार पर्व मनाउन र पर्वको मर्म बचाइराख्न आफूहरु लागि परेको ३४ वर्षिय रविना प्रजाले बताउँछिन् । “सामूहिक रुपमा मनाउने कार्यक्रममा सबैको सहभागीता संभव छैन, आफ्नो परम्परा त आफूले घरैमा मनाएर बचाउँने हो, हामी घरघर मै क्षमता अनुसार मनाउँछौ” रविनाले भनिन् ।

नेपाल सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो । सूचीकृत आदिवासीमध्ये चेपाङ अति सिमान्तकृत समुदायमा पर्छ । चेपाङ राप्ती नदी उत्तर, त्रिशूलीपूर्व उठेको महाभारत पर्वत शृंखला वरिपरिको रैथाने वासिन्दा मानिन्छन् । चेपाङ जातिलाई भौगोलिक सिमानाभन्दा सामाजिक तथा सांस्कृतिक सिमानाले बाँधेको छ । भूमिसँग अति निकट सम्बन्ध रहेको चेपाङ जातिभित्र माटोको बनोटको आधारमा उनीहरूको थर, उपथरहरूको वर्गीकरण भएको पाइन्छ ।

जन्मदेखि मृत्युसम्मको संस्कार भूमिसँग सम्बन्धित छ । उनीहरूको मूलथलो गाउँघर, खोलानाला, भीरपहरा आदिको नाम चेपाङ भाषाबाटै राख्छन् । चेपाङ जातिको चिनारी (२०६७) पुस्तकमा उल्लेख भए अनुसार बागमती प्रदेशको चितवन र धादिङको सिमानामा रहेको कान्द्राङगढी र चितवनको उपरदाङगढी चेपाङ वंशको ऐतिहासिक थलो हो ।

खास गरेर दामनदेखि पश्चिम त्रिशूलीसम्मका पर्वतको उत्तर र दक्षिण पाटो भिरालो पाखा, जंगल र नदीतिर प्रायःजसो फैलिएर बसेको क्षेत्र हो । इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, बारा, पर्सा, ललितपुर, काठमाडौं, धादिङ, मकवानपुर, चितवन, गोरखा, लमजुङ, तनहुँ, कास्की, गुल्मी, नवलपरासी, रूपन्देही, दाङ, बाँके र बर्दिया गरी २६ जिल्लामा चेपाङ जातिको बसोबास छ ।

चेपाङ बाहुल्य जिल्लामध्ये सबैभन्दा धेरै चितवनमा छन् यहाँ कुल जनसंख्यामामा चेपाङको संख्या सातौं स्थानमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ