विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको प्रारम्भिक संक्रमण मध्य चीनको वुहान सहरमा २०१९ को डिसेम्बरमा भएको थियो । कोरोनाको संक्रमण विश्वभर फैलिन थालेपछि २३ जनवरी २०२० मा विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय चिन्तासहित सार्वजनिक स्वास्थ्य आपतकाल घोषण गरेको छ । विश्व स्वास्थ्य संगठनले यस रोगलाई व्यापक रूपमा फैलन सक्ने सम्भावना भएको पहिलेदेखि नै बताएको थियो । चिनियाँ नयाँ वर्षको आसपासमा यो चीनको वुहानमा महामारीको रूपमा फैलिएको थियो ।
अहिले कोरोना भाइरसले विश्वव्यापी रूप लिएको छ । ३ वैशाख २०७७ अपराह्न २ बजेसम्मको यस रोगको २ सय १० देशमा २० लाख ४ हजार ८ सय १९ भन्दा बढी संक्रमित, १ लाख २६ हजार ८ सय ३० भन्दा बढीको मृत्यु र ४ लाख ८५ हनार ३ सय ६२ भन्दा बढी निको भएर घर फर्किएका छन् । वर्तमान संक्रमितको जम्मा संख्या १३ लाख ९२ हजार ६ सय २७ मध्ये मध्यम समस्या भएका ९६ प्रतिशत (१३ लाख ४१ हजार ३१) संक्रमितमध्ये सिकिस्त ४ प्रतिशत (५१ ह्जार ५ सय ९६) जना रहेका छन् भने निको भएर फर्कनेमा ४ लाख ८५ हजार ३ सय ६२ जना रहेका छन् ।
विश्व स्वास्थ्य संगठन र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशानुसार नियमित प्रदान गरिनुपर्ने भनिएको सामान्य स्वास्थ्य सेवा बन्द गरिएको छ
नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था ः हालसम्म जम्मा १६ जनालाई संक्रमण भएकोमा एक जना निको भएर फर्किसकेका र जटिल समस्या भएको अवस्था कसैमा पनि रहेको छैन । तर, नेपालमा खुला सिमाना भएका कारण अझै पनि उच्च जोखिम भने बढ्दै गएको अनुमान गर्न सकिन्छ । त्यसकारण यसप्रति तीनै तहको सरकार अत्यन्तै संवेदनशील भएर कोरोना भाइरसविरुद्ध लड्ने अभियानमा जुटिरहेका छन् । विभिन्न किसिमबाट व्यक्तिगत सुरक्षा कवच (पीपीई) जुटाउन खरिद, संकलन र वितरण गर्नुका साथै अन्य सहयोग पनि नियमित भइरहेको छ । लकडाउन गरिएको छ, आइसोलेसन वार्ड, क्वारेन्टिनको व्यवस्था स्थानीय सरकारले सम्पूर्ण तहमा गरिसकेका छन् । यी र यस्ता अत्यन्तै प्रशंसनीय काम नेपाल सरकारका तीनवटै तहबाट भएका छन् । यसलाई नागरिकले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् ।
त्यसकारण सबै तह वा सरोकारवाला संवेदनशील हुँदाहुँदै आगामी दिनमा अन्य स्वास्थ्यमा आउन सक्ने ठूलो चुनौती र स्वास्थ्यको भयावह अवस्थालाई संवेदनशील रूपमा लिएर न्याय हेल्थ नेपालको तीनवटै क्षेत्र केन्द्र, जिल्ला र त्यसमा पनि सामुदायिक स्वास्थ्य कार्यक्रमलाई कसरी प्रभावकारी बनाएर नेपाल सरकारका तीनवटै तहमा योगदान पु¥याउने भन्ने हेतुले कोरोना भाइरससँग जुध्न नेपाल सरकारले खडा गरेको प्रधानमन्त्री राहत तथा पुनस्र्थापना कोषमा न्याय हेल्थ नेपालमा कार्यरत सम्पूर्ण कर्मचारीले आर्थिक सहयोग गरेर योगदान दिएको छ । यो आर्थिक पक्ष भयो भने अर्कोतर्फ संस्थागत तवरबाट मात्र नभई विभिन्न व्यक्ति, निकाय, संस्था, चिनेजानेका व्यक्ति, सहयोगी हातहरूसँग सहयोग जुटाएर यो स्वास्थ्य संकटको सामना गर्न अहोरात्र निःस्वार्थ ढंगले न्याय हेल्थ नेपालको सम्पूर्ण टिम खटिरहेको छ ।
तर, आज लकडाउन भएको २२औं दिन हो । विश्व स्वास्थ्य संगठन र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशानुसार नियमित प्रदान गरिनुपर्ने सामान्य स्वास्थ्य सेवा बन्द गरिएका छन् । यो २२ दिनको लकडाउनको समयमा कोभिड–१९ को संक्रमण र जोखिमविरुद्ध लडिरहँदा अन्य स्वास्थ्य अवस्था भने छायामा परिसकेको महसुस गरेको कुरा व्यक्त गरेका छन् । अब स्वास्थ्य अवस्था भयावह बन्न सक्ने खतरा बढेको छ भन्ने सवाल न्याय हेल्थ नेपाल दोलखाले महसुस गरिसकेको छ । २२ दिनमा चरिकोट अस्पतालमा खटिने स्वास्थ्यकर्मीले स्वास्थ्यमा आउन सक्ने भयावह अवस्थाको उच्च जोखिमलाई मध्यनजर गरी नियमित दिइने अन्तरंग सेवाबाहेक नै १ हजारभन्दा बढी मानिसलाई विभिन्न प्रकारका स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।
पूर्वाधार विकास, उद्योग, व्यवसाय, कृषि, दैनिक जीविकोपार्जनजस्ता राष्ट्रकै दिगो विकासको लक्ष्य हासिल गर्ने कार्यमो ठूलो चुनौती आउन सक्छ
यसमा मेजर शल्यक्रिया ४५ जनालाई, प्रसूति सेवा ६६ जनालाई, शल्यक्रियामार्फत हाडजोर्नीसम्बन्धी सेवा २६ जनालाई र ६ सय ७० आपतकालीन सेवा प्रदान गरेको छ । यस सँगसँगै सामुदायिक स्वास्थ्य कार्यक्रमअन्तर्गत नम्बर प्लेट टासिएका भीमेश्वर नगरपालिका, तामाकोसी गाउँपालिका, कालिञ्चोक गाउँपालिका र वैतेश्वर गाउँपालिकाका घरमा फोनबाट सम्पर्क गर्दै बिरामीलाई स्वास्थ्य सेवासम्बन्धी परामर्श गरिरहेको छ, जसले गर्दा कोभिड–१९ को जानकारीका साथै स्वास्थ्य संस्थामा प्रसूति गराउन मद्दत गरेको छ ।
ओपीडी सेवा बन्द भएका कारण नियमित सेवा लिनुपर्ने जस्तै ः उच्च रक्तचाप भएका, मधुमेह भएका, गर्भवती, खोप, पोषण, परिवार नियोजनजस्ता महत्वपूर्ण सेवा अवरोध भएका कारण गर्भवती महिला समय नाघेर अस्पताल आउन सकिरहेका छैनन् । बच्चा पेटमा नै मरेर आउनुपरेको दर्दनाक अवस्था पनि छ ।
यसरी आउने गरेका सेवाग्राहीलाई चरिकोट अस्पतालले खटिने स्वास्थ्यकर्मी आफैंलाई उच्च जोखिममा राखेर पनि सेवा प्रदान गरिरहेका छन् । त्यसो हुँदाहुँदै पनि सबै सरोकारवालाको ध्यान कोरोना भाइरसतर्फ एकत्रित भइरहँदा समग्र स्वास्थ्य अवस्था नै भयावह र विकराल अवस्थामा पुग्न नसक्ला भन्न सकिन्न । जसले कोरोना भाइरसका कारणभन्दा अन्य कारणले मृत्यु हुनेको संख्या बढ्दै जान सक्छ र अन्य पूर्वाधार विकास निर्माण, उद्योग, व्यवसाय, कृषि, दैनिक जीविकोपार्जनका कारणले राष्ट्रकै दिगो विकासको लक्ष्य हासिल गर्ने कार्यमा ठूलो चुनौती आउन सक्छ ।






