काठमाडौं । रेस्टुरेन्ट, बार र सबै प्रकारका होटल, लज तथा लजमा अनलाइन माध्यमबाट शुल्क तिर्दा उपभोक्ताले भुक्तानी गरेको मूल्य अभिवृद्धि कर (भ्याट)को १० प्रतिशत रकम फिर्ता दिनुपर्ने भएको छ ।
आन्तरिक राजस्व विभागले भ्याटको १० प्रतिशत रकम फिर्ता गर्नुपर्ने निर्णय गर्दै निर्देशनसमेत जारी गरेसँगै रेस्टुरेन्ट, बार र सबै प्रकारका होटल तथा लजले सो रकम फिर्ता दिनुपर्ने भएको हो ।
आन्तरिक राजस्व विभागले अनलाइन भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) रकम फिर्ता गर्न होटेल तथा रेस्टुरेन्ट व्यवसायीलाई निर्देशन दिएको छ ।
मदिरा पिउने केन्द्र (बार)बाट प्रदान गरिने सेवामा, चमेनागृह र सबै प्रकारका होटेल, मोटेल, लज, गेस्टहाउस व्यवसायबाट प्रदान गरिने सेवामा अनलाइनबाट रकम भुक्तानी गर्ने ग्राहकलाई मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता गर्नुपर्ने आन्तरिक राजस्व विभागले उल्लेख गरेको छ ।
विभागको गत २१ भदौ शुक्रबारको निर्णयानुसार डेबिट÷क्रेडिट कार्ड, क्यूआर कोड, मोबाइलजस्ता विद्युतीय भुक्तानीका उपकरणबाट भुक्तानी प्राप्त गर्ने बिक्रेताले मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम उपभोक्ताको बैंक खातामा स्वचालित रूपमा फिर्ता गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।
विद्युतीय माध्यमबाट गरेको भुक्तानीलाई प्रोत्साहन दिनका लागि विभागले भुक्तानी गरेको करको १० प्रतिशत रकम फिर्ता दिने निर्णय गरेको जनाइएको छ । मूल्य अभिवृद्धि कर ऐन, २०५२ को व्यवस्थाअनुरूप भ्याटको १० प्रतिशत फिर्तासम्बन्धी निर्णय गरिएको विभागले उल्लेख गरेको छ ।
विद्युतीय बिजकसम्बन्धी कार्यविधि, २०७४ (संशोधनसहित) बमोजिम आन्तरिक राजस्व विभागमा सूचीकृत भएका विद्युतीय उपकरण तथा सफ्टवेयर आपूर्तिकर्ताले विद्युतीय भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता दिनेसम्बन्धी कार्यप्रक्रिया, २०७६ बमोजिम प्रणालीमा सामञ्जस्य हुनेगरी आफ्नो सफ्टवेयर परिमार्जन गर्न जानकारी गराइएको विभागको भनाइ छ ।
सबै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा सञ्चालक तथा भुक्तानी सेवाप्रदायकले विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता दिने सम्बन्धी कार्यप्रक्रिया, २०७६ बमोजिम प्रणालीमा परिमार्जन गरी भ्याट फिर्ता दिने प्रणाली कार्यान्वयनमा सहजीकरण गर्नुपर्ने विभागको निर्देशन छ ।
यस व्यवस्थासँगै विद्युतीय उपकरण र सफ्टवेयर निर्माताले उपकरण र सफ्टवेयरमा परिमार्जन गर्नुपर्ने भएको छ । अब भ्याटसम्बन्धी सफ्टवेयरलाई भ्याट फिर्ता गर्न मिल्नेगरी परिमार्जन गरी सेवाग्राही र सेवाप्रदायकलाई सहजीकरण हुनेगरी सफ्टवेयर बनाउनुपर्ने भएको छ । यसैगरी, भ्याट फिर्ता दिनका लागि बार, रेस्टुरेन्ट र होटल तथा लजहरूले विद्युतीय बिजक प्रणालीसँग मिल्दो सफ्टवेयर प्रयोग गरेको हुनुपर्ने सर्त विभागले राखेको छ । बैंक तथा वित्तीय संस्थाले यो प्रणाली कार्यान्वयनमा सहयोग गर्नुपर्ने पनि राजस्व विभागले जनाएको छ ।
१० प्रतिशत भ्याट फिर्ताका लागि मूल्य अभिवृद्धि करमा दर्ता भएर विभागबाट स्वीकृत विद्युतीय बिजक जारी गर्नुपर्ने पनि विभागले उल्लेख गरेको छ । बिक्रेताले कर फिर्ता सुविधा रहेको जानकारी उपभोक्तालाई उपलब्ध गराउनुपर्ने पनि विभागले जनाएको छ ।
मूल्य अभिवृद्धि करमा दर्ता भई विभागबाट स्वीकृत विद्युतीय बिजक जारी गर्ने करदाता यस प्रणालीमा आबद्ध हुनसक्ने बताइएको छ ।