कोभिड परीक्षण, परीक्षण अनि परीक्षण

काठमाडौंको पेप्सीकोलामा विदेशबाट आएको २८ दिनपछि तीन जनामा कोरोना संक्रमण भेटियो । त्यसैगरी, विदेशबाट आएको ४२ दिनपछि धादिङमा आरडीटी पोजिटिभ भेटिएकालाई पीसीआरमा दुई जना मात्र पोजिटिभ र अन्यमा निगेटिभ रिपोर्ट आयो । वीरगन्जबाट कैलाली गएकी महिलामा आरडीटीमा निगेटिभ तर पीसीआरमा पोजिटिभ आयो ।
विश्व स्वास्थ्य संगठनले कोभिड–१९ लाई जनवरी ३० मा विश्वव्यापी संकट र ११ मार्चमा विश्वव्यापी महामारी घोषणा गरेको हो । महामारी नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण मानिएको संक्रमित व्यक्तिको शीघ्र पहिचान र तीनको आइसोलेसन सबैभन्दा प्रमुख पाटो हो । संक्रमितको पहिचानमै त कतै हामी चुकिरहेका छैनांै भन्ने गम्भीर प्रश्न उब्जिरहेको छ । परीक्षणमा संक्रमित भएर पनि प्रविधिको सेन्सिटिभिटी र स्पेसिफिसिभिटीले सबै सही नदिन सक्छ । त्यस्तै, पीसीआरमा संक्रमण पहिलो चरणमा रहँदा र बिरामीमा श्वासप्रश्वास समस्या कम भए भाइरसको मात्रा कम हुन्छ तथा नमुना संकलन, परीक्षण सामग्री, परीक्षण ढुवानी, परीक्षणमा प्राविधिक जनशक्ति, केमिकल आदि समस्या भएमा भाइरस पत्ता नलाग्न सक्छ ।

आरटी पीसीआर : विश्व स्वास्थ्य संगठनले बीएसएल–२ को प्रयोगशालामा कोभिड–१९ परीक्षणमा रिभर्स ट्रान्सक्रिप्सन, आरटी पीसीआर गर्न सिफारिस गरेको छ । आरएनएबाट डीएनए पोलिमरेज इन्जाइमको सहयोगमा बनाएर पीसीआर गरिने भएकाले यसलाई आरटी पीसीआर भनिएको हो । कोरोना भाइरसमा ओआरएफवान ए र ओआरएफवान बी जीन एसईएमएन प्रोटिन भएका जिनहरू पाइन्छ । ती जिनको एउटा प्राइमर बनाइन्छ र संक्रमित व्यक्तिको जिनसँग म्याच गराइन्छ । म्याच गराउँदा मिल्दो देखिए नतिजा पोजिटिभ हो । पीसीआर गर्न चाहिने प्राइमरको पग्लने तापक्रमका आधारमा पीसीआरमा तापक्रम बनाइन्छ । प्राइमर भनेको जीनको कुनै एउटा सिक्वेन्स हो । यसमा न्युकिल्योटाइडको सिक्वेन्स हुन्छ, अर्थात् परीक्षण गर्न खोजिएको जीवाणुसँग मिल्दोजुल्दो न्युकिल्योटाइड हुन्छन् । न्युकिल्योटाइडको समूह नै जिन हो ।

पीसीआर मिक्सरमा प्राइमर, स्वाबबाट तयार गरिएको डीएनए टेम्प्लेट, डबल डिस्टिल्ड वाटर र डीएनए पोलिमरेज इन्जाइम हालिन्छ । पीसीआर गरिसकेपछि डीएनए कुदाउन प्रयोग गरिने अगरोज जेल हालिन्छ । कुदाएर डीएनए पीसीआर प्रोडक्ट छ कि छैन भनेर ज“ाचिन्छ, जसलाई माइक्रोस्कोपको सहयोगमा हेर्ने गरिन्छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड र सीडीसीको निर्देशिकालाई ख्याल गरी नेपालमा परीक्षण भइरहेको छ । तथापि, संकलित स्वाबको अवस्था, त्यसमा भाइरस परे÷नपरेको, डीएनएको कन्सन्ट्रेसन बढी तथा पीसीआर गर्दा धेरै त्यान्द्रा हुँदा पनि ठम्याउन गाह्रो हुन्छ । प्राइमर बढी कन्सेन्ट्रेड भए लामो समय प्राइमर राख्दा तापक्रमले पनि नतिजामा असर पर्छ ।

एकपटक पोजिटिभ देखिएको तर दोस्रोपटक नेगेटिभ भए प्रक्रिया पुनः दोहो¥याउन वा पुनः स्वाब संकलन गरेर परीक्षण गर्न जरुरी हुन्छ । सैद्धान्तिक र प्रयोगात्मक ज्ञानका कारणले बायोटेक्नोलोजी र माइक्रोबायोलोजी अध्ययन गरेकाले परीक्षण गर्दा नतिजा राम्रो हुन्छ । नेपालमा ल्याब टेक्निसियन तथा स्वास्थ्यकर्मीका भरमा भइरहे पनि काठमाडौंमा भने सम्बन्धित विज्ञले नतिजा रुजु गर्ने गरेको बताइन्छ । विकल्पमा एलएएमपी विधि जुन क्षयरोग, कुष्ठरोग, औलोजस्तामा रोग पत्ता लगाउन प्रयोग भइरहेको छ, कोभिड–१९ का लागि प्रयोग गर्न सकिन्छ ।

एकपटक पोजिटिभ देखिएको तर दोस्रोपटक नेगेटिभ भए प्रक्रिया पुनः दोहो-याउन वा पुनः स्वाब संकलन गरेर परीक्षण गर्न जरुरी हुन्छ

आरडीटी : सरकारको क्वारेन्टाइनमा राखिएकालाई परीक्षण गरेर संक्रमण नरहेको सुनिश्चित गरेर मात्र सामान्य जीवनमा फर्काउने तथा क्वारेन्टाइनमा रहेकाको आरडीटीबाट पोजिटिभ भए पुनः पीसीआर गरेर यकिन गर्ने नीति छ । छिटो, विज्ञता नचाहिने र १५ मिनेटमै रिपोर्ट आउने आरडीटी एन्टिबडी आधारित भएको र संक्रमण देखिएको तीनदेखि १० दिनपछि मात्र पत्ता लगाउँछ । किटको गुणस्तरीयता परीक्षण गर्ने एनएचआरसी भने पन्छदै हिँड्यो । ओम्नी ग्रुपबाट किनिएका ७५ हजार आरडीटी प्रदेश सरकारमार्फत ७७ वटै जिल्लामा पठाइसकेको छ र विभिन्न क्वारेन्टाइनमा प्रयोगसमेत भइरहेका छन् । आरडीटीमा नेगेटिभ आई पीसीआरमा पोजेटिभ कैलालीमा भइसकेको छ ।

सामान्यतया शरीरमा आईजी एम देखिनु संक्रमणको सुरुवाती अवस्था (तीन दिनपछि) हो भने आईजी जी देखिए (दुई सातापछि ) शरीरमा प्रतिरोधी क्षमता विकास भएको हो र दुवै देखिए शरीर संक्रमणमुक्त भई नसकेको अवस्था हो । कोठाको तापक्रममा समायोजन भएको आरडीटी किटको सानो प्वालमा आधा थोपा जति र ठूलो प्वालमा तीन थोपा बफर बिरामीको रगत राखिन्छ । बफरपश्चात् किटमा भएको कोभिड–१९ भाइरसको एन्टिजेन डाइसँग त्यसमा राखिएको रगतको नमुना मिसिन्छ । रगतको नमुनामा संक्रमण भएर शरीरमा एन्टिबडी भए टी लेखिएको धर्काेको रातो देखिन्छ । विधि ठीक भए सी लेखेको स्थानको रंग पनि रातो हुन्छ र व्यक्ति कोभिड–१९ को संक्रमित पुष्टि हुन्छ । टी लेखिएको स्थानमा रङ नदेखिए र सी लेखेको स्थानमा मात्रै रङ देखिए उक्त व्यक्तिमा संक्रमण छैन भन्ने हो । कुनै पनि स्थानमा रङ देखिएन भने किट काम नलाग्ने रहेछ भन्ने बुझिन्छ । त्यस्तै, टी लेखिएको स्थानमा मात्रै रङ देखियो र सी लेखिएको स्थानमा रङ देखिएन भने त्यो परीक्षण पनि गलत भयो भन्ने हो ।

समुदायको वास्तविक अवस्था थाहा पाउन समाजमा थप -यान्डम स्याम्पलिङ गरी परीक्षण गर्नुपर्दछ

बेलायतको अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक बेलायतमा आयातित कुनै पनि आरडीटी काम लाग्ने नभएको बताएका थिए । जसमा चीनको ग्वान्जाउ वन्डको बायोटेक कम्पनीले उत्पादन गरेको वन्डको ब्रान्ड पनि छ र नेपालले ल्याएको पनि त्यही हो । किटले शरीरमा भाइरसको संक्रमण भएपछि उत्पादन हुने एन्टिबडी भए पोजिटिभ र नभएको नेगेटिभ निक्र्याेल गर्छ । मन्त्रालयले चीनबाट किनेका साढे ७ करोडका छिट्टै परीक्षण गर्न सकिने किट विश्व स्वास्थ्यले बन्देज गरेकाले आरडीटी नेपालभर प्रयोगमा बन्देज छ भनेको एक साता नहुँदै प्रयोगमा ल्याएको छ । एन्टिबडी पत्ता लगाउने आरडीटीले कुनै एन्टिबडी छुट्याउँदैन । यदि बिरामीमा इम्युनोग्लोबिन एम पोजिटिभ देखिए तुरुन्तै आइसोलेसनमा राखेर उपचार सुरु र खटिने स्वास्थ्यकर्मीले सम्पूर्ण प्रोटोकल पालना गर्नुपर्छ । इम्युनोग्लोबिन जी पोजिटिभ देखिएको खण्डमा भने उक्त बिरामीलाई घरमै आइसोलेसनमा बस्न सुझाउनुपर्छ । इम्युनोग्लोबिन एम पोजिटिभ भएका बिरामीको उपचारका लागि जति हतार गर्नुपर्छ, जी पोजिटिभ देखिएकामा उपचार जरुरत नपर्न सक्छ । तसर्थ, दुवै इम्युनोग्लोबिन परीक्षण गर्न मिल्ने आरडीटी खरिद गरेको भए मास टेस्टिङ गरी अब के गर्ने भन्ने योजना बनाउन सकिन्छ ।

विश्लेषण : आरडीटीले संक्रमण सर्न सक्ने भए-नभएको र कुन एन्टिबडी भन्दैन । पीसीआरले भाइरस सक्रिय वा मृत भन्दैन । आरडीटी र पीसीआर दुवै पोजेटिभ आए भाइरस शरीरमा सक्रिय अवस्थामा रहेको र शरीरले पनि त्यसविरुद्ध लड्ने कोसिस गरिरहेको छ । बिरामीले स्वस्थ मानिसलाई रोग सार्न सक्छ । आरडीटी नेगेटिभ र पीसीआर पोजेटिभ आए भाइरस शरीरमा सक्रिय रहेको र रोगको सुरुवाती चरणमा भएकाले शरीरले एन्टिबडी यथेष्ट मात्रामा बनाइसकेको हुँदैन । बिरामीले स्वस्थ मानिसलाई रोग सार्न सक्छ ।आरडीटी पोजेटिभ र पीसीआर नेगेटिभ आएमा भाइरसको सक्रियता कम भएको र हाम्रो शरीरको रोगमाथि लड्ने प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । केही पहिले संक्रमण भएमा यसो हुन्छ र बिरामीले स्वस्थ मानिसलाई रोग सार्न सक्ने सम्भावना कम हुन्छ । उनीहरूलाई विगतमा संक्रमणको भरिया सम्झेर कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने हुन्छ । तथ्यांकका लागि मात्र गरिँदै आएको परीक्षण शतप्रतिशत सही कुनै नभएकाले बिरामीको लक्षण, अवस्था आदिसँग तुलना गरेर रोगको यकिन गर्नुपर्दछ ।

अन्त्यमा, क्वारेन्टाइनको जिम्मा पाएका स्थानीय तहको जिम्मामा रहेको आरडीटी परीक्षणको पोजेटिभ नतिजा हतारमा सार्वजनिक गर्दा जनमानसमा त्रास बढेको छ । स्वाब लिई गरिने पीसीआर विधि रगत लिई गरिने आरडीटीको नतिजाभन्दा सही हुने भएकाले पीसीआरको नतिजा मात्र सार्वजनिक गर्दा राम्रो हुन्छ । तथापि, समुदायको वास्तविक अवस्था थाहा पाउन परीक्षण र समाजमा थप -यान्डम स्याम्पलिङ गर्नैपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 156 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लामा भागबण्डा मिलेन, गठबन्धन टुट्याे