बागमती लोकसेवा अध्यक्षमा श्रेष्ठ नियुक्त

मकवानपुर । बागमती प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन् । प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले आइतबार श्रेष्ठलाई आयोगकाे अध्यक्षमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री बहादुर सिं लामा, सभामुख भुवनकुमार पाठक र विपक्षी दलका नेता शालिकराम जम्मकट्टेलकाे ३ सदस्यीय समितिले २१ असोजमा श्रेष्ठलाई लोक सेवा आयोगको अध्यक्ष नियुक्त गर्न सिफारिस गरिएकाे थियो । प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा (१) अनुसार गठित सिफारिस समितिको सिफारिसमा सोही ऐनकाे दफा ४ को उपदफा (२) बमोजिम श्रेष्ठलाई अध्यक्ष नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएकाे हो ।

२ मंसिर २०७६ मा गठित आयोगको अध्यक्ष सुरेशमान श्रेष्ठ उमेर हदका कारण अध्यक्ष ३ चैत २०८० बाट पदमुक्त भएका थिए । पटक–पटक सरकार परिवर्तन र सत्तारुढ दलहरुबीच सहमति हुन नसक्दा ७ महिनादेखि आयोगको अध्यक्ष नियुक्त हुन सकेको थिएन ।

श्रेष्ठलाई आयोगको अध्यक्ष नियुक्त गर्न सिफारिस भएपछि आयोगका सदस्य सुदर्शन ढकालले पदबाट राजीनामा दिएका थिए । कनिष्ट व्यक्तिलाई अध्यक्ष नियुक्त गर्न सिफारिस गरिएकाे भन्दै ढकालले २ कार्तिकमा प्रदेश प्रमुख देवकोटा समक्ष राजीनामा दिएका थिए । ६ माघ २०७६ मा सदस्य नियुक्त भएका ढकालले ४ वर्ष ९ महिना काम गरेर राजीनामा दिएका हुन् ।

लाेक सेवा आयोगकाे अध्यक्षमा नियुक्त श्रेष्ठ नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ निवासी हुन् । लुम्बिनी प्रदेशको बुटवलस्थित स्वास्थ्य तालिम केन्द्रको निर्देशक पदमा कार्यरत श्रेष्ठ बिहीवार मात्रै सरकारी सेवाबाट अवकाश भएका थिए । उनी ११औं तह सहसचिव हुन् ।

यस अघि उनले तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको प्राविधिक सल्लाहकार पदमा रही काम गरिसकेका छन् । उनको शपथ कार्यक्रम सोमबार हुने बताइएकाे छ । 

तपाइको प्रतिक्रिया
(Visited 238 times, 1 visits today)

epaper

ताजा समाचार

उग्रतारा–मेलौली सडक कालोपत्रेले बदल्यो अजयमेरुको चमडा