संखुवासभा । संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका –२ चेपुवाबाट एक जना गर्भवती महिलाको हेलिकप्टरबाट उद्दार गरिएको छ । भोटखोला –२ चेपुवाकी गर्भवती ३५ बर्षीया जीवन कुमारी राईलाई आज राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत उद्दार गरिएको हो ।
१८ घण्टा लामो प्रसुती ब्यथा लागेर चेपुवा स्वास्थ्य चौकी भर्ना हुनु भएकी ३५ बर्षीया राईलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका पब्लिक हेल्थ नर्स भवानी तिम्सिनाले जानकारी दिइन् । गर्भवती ३५ बर्षीया राईलाई थापाथलि प्रसुती गृह काठमाण्डौ पठाइएको पब्लिक हेल्थ नर्स तिम्सिनाले बताइन् ।
सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई हवाई उद्दार गरी तोकिएका अस्पतालमा पु¥याउने व्यवस्था मिलाउने गरेको छ । यातायातको पहुँच नपुगेको उत्तरी क्षेत्र भोटखोला भौगोलिक रुपमा निकै विकट मानिन्छ । १८ घण्टा लामो प्रसुती ब्यथा लागेकी राईको स्वास्थ्य अवस्था जटिल हुदैँ गएका कारण थप उपचारका लागि हवाई उद्दार मार्फत काठमाडौँ पठाइएको पब्लिक हेल्थ नर्स तिम्सिनाले बताइन् ।
जिल्लामा पछिल्लो समय गर्भवती तथा सुत्केरी महिला उद्दार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । दुर्गम क्षेत्रका जटिल प्रकारका सुत्केरी तथा गर्भवतीहरुका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई उद्दार प्रभावकारी देखिएको छ । भौगोलिक विकटताका कारण नजिकमा वर्थिङ सेन्टर र स्वास्थ्य चौकीहरुमा शल्यक्रिया सहितको प्रसूति सेवा प्राप्त मात्रामा छैनन् । विशेषज्ञ चिकित्सक र पर्याप्त पूर्वाधारको अभावका कारण दुर्गममा भरपर्दाे प्रसूति सेवा छैन । यही कारण जिल्लामा गम्भिर अवस्थाका गर्भवती तथा सुत्केरीको उपचार हुँदैन ।
गर्भवती तथा सुत्केरी जटिलताका लागि हवाई उद्दार कार्यक्रम अन्र्तगत २०७७ साल देखि हालसम्म २० जना बढी सुत्केरी तथा गर्भवतीको हवाई उद्दार गरि विभिन्न अस्पतालमा पठाइएको छ । उद्दार गरिएकाहरु १७ बर्षदेखि ३६ बर्ष उमेर समूहका छन् । उद्दार गरिएका गर्भवतीको उमेर समूहले कलिलैमा विहे गरेको पुष्टि गरेको छ ।
सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला लगातार लामो व्यथा लागि बच्चा जन्माउन कठिनाई भएका,गर्भमा नै बच्चाको मुत्यु भएमा र सुत्केरी पश्चात अत्याधिक रक्तश्राव भएको अवस्थामा निशुल्क हवाई उद्दार गर्दे आएको छ ।