गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर कृषि गर्ने कृषकलाई जग्गाको भाडा बापतको रकम तिरिदिने भएको छ । चालु आर्थिक बर्ष २०८१–८२ को बार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाले भाडामा लिने जग्गाको ५० प्रतिशत अनुदान दिने निर्णय गरेको हो ।
जग्गाबापतको अनुदान प्राप्त गर्नको लागि किसानले कृषि फर्म दर्ता गरी कम्तिमा पनि १५ रोपनी जग्गा लिएको हुनुपर्ने, भाडामा लिएको जग्गाको कम्तिमा ८० प्रतिशत जग्गामा खेती गरेको हुनुपर्ने, एकबर्षे वा सो भन्दा कम अवधिको बाली लगाउने भए कम्तिमा पाँच बर्ष र बहुर्षिय खेतीका लागि कम्तिमा १५ बर्ष जग्गा लिएको हुनुपर्ने मापदण्ड गाउँपालिको बनाएको प्रमुख प्रशासकीय अधिकृत लक्षमण पाण्डेले बताए ।
अनुदान लिन चाहाने कृषकहरुले व्यक्तिगत निवेदन, जग्गाधनी दर्ता प्रमाणपुर्जा, नागरिकताको प्रतिलिपि तथा भाडा सम्झौताको प्रतिलिपि, फर्म दर्ता र कर चुक्ता प्रमाणपत्रसहित पालिकामा आवेदन दिन सकिने उनले बताए ।
गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले पालिकालाई कृषिबाटै आत्मनिर्भर बनाउने उदेश्यले जग्गाको भाडाबापतको अनुदान दिने निर्णय गरिएको बताए । ‘कृषिबाट रोजगारी सिर्जना गर्ने उदेश्य छ ।’ अध्यक्ष ज्ञवालीले भने । अहिले रुरुक्षेत्रका कृषिजन्य सामग्री पाल्पामा बिक्री हुदैँ आएका छन् ।






