पोखरा । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सोमबार काठमाडौंमा बयान सकिएको छ । बयान सकिएपछि अब उनलाई मंगलबार पोखरा फर्काउने तयारी छ । उनको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रहरीले ४ दिनसम्म प्रहरीले बयान लिएको हो ।
कास्की प्रहरी हिरासतमा रहेकै बेला काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा पक्राउ पूर्जी जारी भएपछि उनलाई १३ मंसिरमा काठमाडौं लगिएको थियो ।
स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको रकम गोर्खा मिडियामा लगेर उक्त रकम खर्च गर्न लामिछानेको संलग्नता रहेको आरोप छ । स्वर्णलक्ष्मी सहकारीबाट लामिछाने र जिबी राईको नाममा दुईपटक ४६÷४६ लाख रुपैयाँ ऋण गएको अनुसन्धानबाट खुलेको छ । लामिछाने चढ्ने गाडी खरिदका लागि यो ऋण लिएको दाबी छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा २ कात्तिकमा पक्राउ परेका उनलाई कास्की प्रहरीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा अनुसन्धान गरिरहेको कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाले बताए ।
यसअघि, बुटवलको सुप्रिम सहकारीको रकम अपचलन आरोपमा पनि बयानका लागि रुपन्देही सरकारी वकिल कार्यालय लगिएको थियो । उनीमाथि चितवनको सहारा सहकारी, वीरगञ्जको सानो पाइला सहकारीको समेत रकम अपचलन आरोप छ । उनलाई पोखरा फर्काएर चितवनमा बयानका लागि लगिने जनाइएको छ ।
पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेलाई पहिलोपटक ६, दोस्रोपटक ७ दिन र तेस्रोपटक १० दिन, चौंथोपटक १३ दिन र पाँचौपल्ट १५ दिन गर्दै अनुसन्धानका लागि म्याद थप भएको हो । गत ९ मंसिर (आइतबार) मा उनलाई कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले अनुसन्धान गर्न कास्की प्रहरीलाई १५ दिनको म्याद थपको आदेश दिएको हो ।
न्यायाधीश बेल्वासेको इजलासले पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेसहित पूर्व डिआईजी छविलाल जोशी, जीवी राईका साझेदार नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल र जीवीसँग मिलेर रकम हिनामिना गरेको आरोपमा लीला पछाईंलाई १५ दिन म्याद थपको अनुमति दिएको हो ।
गोर्खा मिडियामा प्रबन्ध निर्देशक हुँदा लामिछानेले सूर्यदर्शन सहकारीलगायत सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको अभियोग छ ।
लामिछानेमाथि पोखरामा जिल्ला सरकारी वकिल कार्यालयले सुरुको बयान पूरा गरिसकेको जनाएको छ । यदि थप प्रमाण भेटिए फेरि बयान हुन सक्ने जिल्ला न्यायाधिवक्ता कमला काफ्ले बताइन् । सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानूनी व्यवस्था छ । गत २ पक्राउमा परेका लामिछानेको समेत छवि जोशी पक्राउ गरेको ६ असोज पहिलो दिन मानेर म्याद मिलान भएको उनले बताइन् । यो अनुसार लामिछाने, ओझासमेत ७० दिन हिरासत बसिकेका छन् ।