बर्दिया । ठाकुरबाबा–३ गोदानाका सन्तोष शाहीले २ बिघा जमिन लिजमा लिएर बेमौसमी तरकारी खेती गरेका छन् । मौसमी तरकारी बाली भन्दा बेमौसमी तरकारीको राम्रो बजार भएको ठम्याएपछि उनले सक्दो जती तरकारी खेतीमा लगानी गरे । लगानी अनुसार तरकारी उत्पादन पनि राम्रै भयो । यतीबेला उनको तरकारी बारीमा विभिन्न थरीका तरकारी लटरम्म फलेका छन् । भिन्डी, काक्रो, करेला र बोडीले तरबारी बारी भरिभरउ छ ।
तरकारीले राम्रो आम्दानी दिने भयो भनेर सुरुमा निकै हौशिएका सन्तोष यतीखेर भने निराश छन् । बेमैसमी तरकारी फल्ने र बिक्रि हुने यो पिक आवर हो । हरियो तरकारी बारीमा लटरम्म फलेका छन् । तरकारी बिक्री हुने हाट बजार बन्द छन् । बजारको तरकारी मण्डी केही निश्चित समयका लागि मात्र खुल्ने गर्छन । लकडाउनले मानिस आवतजावत गर्न पाएका छैनन् । जसले गर्दा तरकारी बिक्रि नहुँदा तरकारी किसान सन्तोष निराश छन् ।
तरकारी बिक्रि नहुँदाको मर्का सुनाउँदै उनले भने, ‘हरियो तरकारीले बारी भरिभराउँ छ । तर खल्ती रित्तो छ । बिक्रि गर्ने बजार छैन । केही दिन अझ यस्तै रहे बारी मै तरकारी सड्ने अवस्था आउन सक्छ ।’ तरकारी बिक्रिको उपाय खोज्न उनले सामाजिक सञ्जालको पनि प्रयोग गरेका छन् । सामाजिक सञ्जालमा तरकारीको अती न्यून दर कायम गरेर प्रचारप्रसार गर्ने गरेका छन् । बारीमा तरकारी खेर फाल्नु भन्दा होम डेलिभरी गरेर भएपनि जेनतेन तरकारी बिक्रि गरि रहेको उनले बताए । तरकारी बिक्रि’bout सन्तोष भन्छन्, ‘बाहिरबाट होलसेलरहरु आएका छैनन् । तरकारी धमाधम उत्पादन भइरहेको छ । फलेको तरकारी खेर फाल्नु भन्दा ग्रहाकको माग अनुसार सस्तोमै भएपनि घरघरै पुर्याएर थोरथोरै तरकारी बेच्ने गरेको छु । ’ तरकारी बिक्रि नभएर पिरलो भइरहेको बेला बदेलले समेत दुःख दिइरहेको उनले बताए । जंगलबाट आएको बदेलले दिनहुँ तरकारी खाएर निकै क्षती पुर्याएको सन्तोषले बताए ।
सातामा कम्तीमा तीन पटक उनले तरकारी टिप्ने गर्छन । काक्रो एक पटकमा कम्तीमा ७० किलो, भिण्डी २५ किलो, बोडी २५ किलो उत्पादन हुने गरेको उनले बताए । केही दिनमा यो उत्पादन अझै बढ्ने उनले सुनाए । तरकारी उत्पादन र बिक्रि’bout उनी भन्छन्, ‘ अहिले त उत्पादन धेरै छैन । उत्पादन भएको जेनतेन बिक्रि भइरहेको छ । अब केही दिनमा उत्पादन दोब्बर बढ्छ । बेच्ने बजार बन्द छ । त्यसपछि तरकारी खेर जाने निश्चित छ ।’ तरकारीमा यसपाली २ लाख रुपैँया लगानी गरेका सन्तोषले मुनाफा भन्दा पनि लगानी नै नउठ्ने चिन्ताले आफु पिरोलिएको सुनाए ।
तरकारी बिक्रि नभएर पिरलोमा पर्ने सन्तोष मात्र छैनन् । बाँसगढी–८ भैसासुरका किसान गुरीलाल चौधरीले पनि झण्डै २ बिगाह जग्गामा काँक्रो खेती गरेका छन् । अघिल्लो बर्षहरुमा काँक्रो खेतीबाट मनग्य आम्दानी गरेका गुरिलालको यस बर्षको लगानी बालुवामा पानी जस्तै भएको छ । खेतमा काँक्रा अघिल्लो बर्ष भन्दा धेरै फलाए पनि उचित मुल्य नपाउदा निरास भएको गुरीलालको भनाई छ ।
बन्दाबन्दीले गर्दा हाट बजारसँगै सबै बजारहरु ठप्प हुदा किसानले लगाएको काँक्रा बोटमै सुक्न थाले पछि सस्तो मुल्यमा काँक्रा बेच्न बाध्य छन् । दुःख र मेहनतले फलाएको काँक्रा बारीमै कुहिने होकी भन्ने चिन्ताले सस्तो मुल्यमा बिक्रि गर्दा पनि विक्रि हुने अबस्था नरहेको किसानहरुको दुखेसो छ ।
भैसासुरका किसान गुरीलाल चौधरीले काँक्रा खेतीमा झण्डै डेर लाख लगानी गरेको बताए । उनी भन्छन्, ‘ बन्दाबन्दीले गर्दा सबै क्षेत्र बन्द रहेको अबस्थामा काँक्रा बिक्रि नहुदा लगानी पनि गुम्ने होकी भन्ने चिन्ता छ । ’ काँक्रा बारीमै सुकेर कुहिनु भन्दा प्रति किलोको १० रुपैया र थोकमा उठाउनेलाई ७ देखि ८ रुपैयामा दिने गरेको उनले बताए ।
बाँसगढी भैसासुर कै अर्का किसान दासुराम चौधरीको पिडा पनि उस्तै छ ।डेढ विगाहा जग्गामा उनले पनि व्यवसायिक रुपमा काँक्रा खेती गरेका छन् । उनको बारीमा पनि अहिले झण्डै ७ सय कुईन्टल बढी काँक्रा फलेको उनको अनुमान छ । लगानी, दुःख र मेहनत अनुसार काँक्राको मुल्य नपाउदा उनी पनि निरास छन् । उनी भन्छन्, ‘लामो समयको लकडाउन अथार्त बन्दाबन्दीले गर्दा सारै समस्या छ, गरिब किसान हामी यता उता गर्दा पनि केही उपाय लाग्दैन् स्थानिय सरकारले नै बारीबाटै काँक्रा उठाउने व्यवस्था मिलाईए हामी किसानलाई कति राहत हुन्थ्यो ।’ उनले किलोको १० रुपैयामा काँक्रा दिए पनि विक्रि हुने अबस्था नरहेको दुखेसो सुनाए ।
ठाकुरबाबा ४ बर्गदाका बलबहादुर थापा पनि तरकारी बिक्रि नहुँदा चिन्तित छन् । उनको बारीमा सबै भन्दा बढी टमाटर छ । दैनिक ३०÷४० किलो टमाटर उत्पादन भइरहेको थापा बताउँछन् । उनको टमाटर बिक्रि नभएर खेर गइरहेको छ । थापा भन्छन्, ‘बन्दाबन्दीले गर्दा बिक्रि गर्ने ठाउँ छैन । छिटफुटरुपमा गाउँमा बिक्छ । धरै खेर जान्छ । यसपाली निकै मर्का पर्यो ।’






