गुल्मी । रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ३ झमादीकी सुकमाया नेपालीको गोठमा अहिले कुल ३८ वटा बाख्रा छन् । जसमा १५ माउ र ६ वटा ठुला बोका छन् । एकपटक वैदेशिक रोजगारीमा गएका छोरा आमाको व्यवसायबाट लोभिए ।
अहिले उनका छोरा पनि स्वदेशमा आमासँगै बाख्रापालन गरिरहेका छन् । विगत पाँच बर्षदेखि व्यवसायिक रुपमा बाख्रापालनमा लागेकी नेपालीले पछिल्लो समय बाख्राको संख्यामा बृद्धि गरेकी छन् । ‘घरखर्च चलाउन निकै सहज हुने रहेछ ।’ उनले भनिन् । बाख्राबाट मात्रै बार्षिक तीन लाख आम्दानी हुने उनको भनाई छ । बाख्रापालनबाट नियमित आम्दानी हुन थालेपछि दैनिक काममा निकै सहजता आएको सुकमाया बताउछिन् ।
सोही ठाउँकै २८ बर्षिय खुमा पुनले पनि १४ वटा बोका, १८ वटा माउ र अन्य पाठापाठी गरी ४८ वटा बाख्रा पालेकी छिन् । उनलाई बाखापालनमा श्रीमान र सासुआमाको साथ छ । ‘पहिले–पहिले यो पेशाप्रति खासै विश्वास लाग्ने थिएन ।’ उनले भनिन्, ‘अहिले आम्दानी बृद्धि हुदैँ गएपछि पेशाप्रति आत्मविश्वास बढेको छ ।’
आफ्नो नियमित आम्दानीको स्रोत भएपछि गाउँमा ऋण लिन एवं घर व्यवहार चलाउन सहज हुने पुनको अनुभव छ । ‘पहिले–पहिले कसैसँग पैसा सापटी माग्दा पनि नपाउने स्थिति थियो, अहिले धेरैथोरै कारोबारमा समस्या छैन ।’ उनले भनिन् । उनले बाख्राको लागि आवश्यक उन्नत जातको घाँस पनि लगाएकी छिन् । घाँसको बीउ उनले रुरु कृषि परियोजनाबाट लगेकी हुन् ।
सोही ठाउँकै शिला नेपालीले पनि आइतबार बाख्राको पाठी उपाहार पाइन् । रुरुक्षेत्र गाउँपालिकामा संचालित रुरु कृषि परियोजनामार्फत गठन भएको मुल समुहबाट पाठी पाएकी उनले बाख्रापालन व्यवसायलाई बृद्धि गर्दै लैजाने बताइन् । रुरुक्षेत्र गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा नवप्रभात युवा संघको सहजिकरणमा रुरुक्षेत्र गाउँपालिकाभर ‘रुरु कृषि परियोजना’ संचालनमा छ ।
जसमा पहिलो चरणको कार्यक्रम मुल समुह र दोस्रो चरणको कार्यक्रम उपाहार समुह हो । ‘समुहमा आवद्ध हुन पाउँदा धेरै खुसि छु, यसले आज आर्जका साथै नेतृत्व विकासका कार्यक्रम समेत संचालन गर्छ ।’ नेपालीले भनिन्, ‘व्यवसायिक बाख्रापालन गरी आम्दानी बृद्धि गर्ने लक्ष्य रहेको छ ।’ रुरु कृषि परियोजनाबाट घाँसको बीउ प्राप्त गर्नुका साथै बाख्रालाई दाना बनाउने लगायतका सीप सिकेको उनको भनाई छ ।

बार्षिक चार करोडको खसिबोका निर्यात
रुरुक्षेत्र गाउँपालिकाभर संचालन भएको परियोजनाबाट ७७ समुहमा दुई हजार चार सयभन्दा बढी महिलाहरु आवद्ध छन् । परियोजनाले खासगरी उन्नत नश्लका बाख्रा वितरण, तरकारी, उखु, फलफुल र दुग्ध उत्पादनमा काम गर्दै आएको परियोजना संयोजक प्रकाश चालिसेले बताए । परियोजनाले पहिलो चरणमा मुल समुहमा आवद्ध महिलाहरुलाई पाँच सय ८५ वटा बाख्रा वितरण गरेको थियो ।
गत बर्षको चैत बाट सुरु भएको परियोजनाको अवधि २६ महिनाको रहेको छ । अहिले गाउँपालिकाभरी कुल आठ हजार माउ बाख्रा र दुई हजार पाँच सय ठुला खसिबोका रहेको चालिसेको भनाई छ । विगत एक बर्षमा गाउँपालिकाबाट चार करोड बराबरको खसिबोका गाउँपालिकाभन्दा बाहिर निर्यात भएका छन् ।
रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले कृषि, पशुपालन र पर्यटनमार्फत रोजगारी सिर्जना गर्ने पालिकाको लक्ष्य रहेकोले परियोजना संचालन गरेको बताए । ‘मासुको मुल्य र बजारीकरणको समस्या छैन ।’ अध्यक्ष ज्ञवालीले भने, ‘बाख्रापालनमार्फत महिलाहरुको आर्थिक जिवनस्तर उकास्ने लक्ष्य लिएका छौ ।’ अध्यक्ष ज्ञवालीले आर्थिक रुपमा सम्पन्न भएमा अधिकाशं समस्या समाधान हुने भएकोले महिलाहरुलाई बाख्रापालनमा सक्रियतापूर्वक लाग्न आग्रह गरे ।