बिराटनगर । मोरङका प्रहरी प्रमुख (एसपी) नारायण प्रसाद चिमारीयाले बिराटनगरका होटल संचालकहरुलाई ढुक्क भएर व्यवसाय संचालन गर्न आग्रह गरेका छन्।
बुधबार बेलुकी जिल्ला प्रहरी कार्यालय मोरङको सभाहलमा रात्रिकालिन होटल/रेष्टुरेण्ट व्यवसायीहरुसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै एसपी चिमारीयाले ढुक्क भएर व्यवसाय संचालन गर्न र कुनै पनि उच्छृङ्खल गतिविधि गर्नेलाई प्रहरीले कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले रात्रीकालिन होटल तथा मनोरञ्जनात्मक व्यवसाय संचालन शर्तहरु २०८० को पूर्ण रुपले पालना गर्न सम्पुर्ण व्यवसायीहरुलाई प्रतिवद्धता जनाउन र होटल व्यवसाय संचालनको क्रममा उच्छृङ्खल गतिविधि भई शान्ति सुरक्षामा खलल पार्ने अवस्था भएमा तत्काल प्रहरी प्रशासनलाई खवर गर्न पनि अनुरोध गरे। साथै जिल्लाको शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन तथा अपराध नियन्त्रण गर्न व्यवसायीहरुको समेत साथ र सहयोगको आवश्यक रहेको बताएका थिए।
बिभिन्न होटल व्यवसायीहरुसँग “रात्रीकालिन होटल तथा मनोरञ्जनात्मक व्यवसाय संचालन शर्तहरु २०८०” को सम्बन्धमा छलफल तथा समसामायीक अवस्था, शान्ति सुरक्षा लगायत आपराधिक घटनाहरुको विषयमा अन्तरक्रिया भएको मोरङ प्रहरी प्रवक्ता तथा डीएसपी बेदप्रकाश जोशीले जानकारी दिए।
कार्यक्रममा व्यवसाय संचालकहरुबाट उठेका विविध जिज्ञासाहरुको सुनुवाई भएको प्रवक्ता जोशीले बताए । उक्त कार्यक्रममा रात्रिकालिन होटल/रेष्टुरेण्ट संघ मोरङका अध्यक्ष लगायत २८ जना व्यवसाय संलाचकहरुको उपस्थिति रहेको थियो ।