यो कोणबाट हेर्दा पीएल सिंहजस्तो देखिन्छन् !

माथवरसिंह बस्नेत

विश्वविख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले महात्मा गान्धी निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भनेका थिए– भविष्यका पुस्ताले सायदै विश्वास गर्लान् कि उनीजस्ता हाड मासुका कुनै व्यक्ति यस धर्तीमा जन्मेका थिए । गान्धीजीको त्याग, बलिदान र अकल्पनीय सादगीपनलाई लक्ष गरेर उनले सो टिप्पणी गरेका थिए ।

नेपालका सन्दर्भमा त्यो कथन, लौहपुरुष गणेशमान सिंह र हरफनमौला पीएल सिंहमाथि ठ्याक्कै लागू हुन्छ । त्यो पनि गुरु शिष्यको एक अर्काप्रतिको अद्भुत त्याग र बलिदानपूर्ण समर्पणको होडका परिपे्रक्षमा ।

प्रजातन्त्रजस्तो जनताको नैसर्गिक अधिकार बहाल गर्न इन्कार गर्ने राणा मात्र होइन, २००७ सालमा जनताले क्रान्ति गरेर उपलब्ध गरेको त्यो अधिकार, १ पुस २०१७ फेरि बलात् खोसेर जनतामाथि तानाशाही लाद्ने राजा महेन्द्रका विरुद्धसमेत लड्दालड्दै सम्पूर्ण जीवन त्यसैमा समर्पण गर्ने गणेशमान सिंहको त्याग र तपस्यालाई पनि उछिन्न उनीमाथि नै आफ्नो जीवन र कर्म न्यौछावर गर्ने पीएल सिंहमध्ये कसको बलिदान ठूलो हो, त्यो छुट्ट्याउन धेरैलाई मुस्किल पर्छ । अहिलेको पुस्ताले त त्यस्तो त्यागलाई पागलपन घोषित गर्न पनि बेर लगाउने छैनन्, ’cause राजनीतिमा मूल्य, मान्यता र चरित्रको मूल्यांकनको मापदण्ड नै बेग्लै स्थापित हुन पुगेको सन्दर्भमा ।

पीएल सिंह, आफ्नो समयका चर्चित विद्यार्थी नेता थिए । फर्पिङको पहिलो अंग्रेजी माध्यमको बोर्डिङ स्कुलबाट म्याट्रिक पास गरेर उच्च शिक्षाका लागि त्रिचन्द्र कलेजमा भर्ना भएका उनी प्रजातन्त्रवादी समूहका तर्फबाट विद्यार्थी युनियनका सभापति निर्वाचित भएका थिए । उनी आफ्नो समयका चिताकर्षक व्यक्तित्वका धनी तथा ह्यान्सम तरुण मात्र थिएनन्, मेधावी विद्यार्थी पनि थिए । त्यसैले उनी लौहपुरुष गणेशमान सिंहका ‘ब्ल्युव्वाइ’ बन्नपुगेका थिए । त्यसको अर्थ थियो, उनी प्रधानमन्त्री बीपी कोइरालाका पनि प्रियपात्र थिए । तर, जुन बेला नेपालमा प्रजातन्त्रको अपहरण भयो, त्यसबेला उनी युनियन सभापतिका नाताले अमेरिका र युरोपको भ्रमणमा थिए । प्रजातन्त्रको हत्याको खबरबाट मर्माहत भएका उनी तुरुन्तै नेपाल फर्किए । देशमा जननिर्वाचित संसद् भंग भएको थिएन, प्रधानमन्त्री कोइराला, प्रतिनिधिसभाका सभामुख कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायत अन्य मन्त्री, सांसद, राजनीतिक दलका नेता तथा प्रमुख कार्यकर्ता गिरफ्ता भएर जेलमा कोचिन पुगेका थिए । काठमाडौंमा मात्र होइन, पुरै देशभरि प्रजातन्त्रवादीमाथि चरम दमनचक्र चलिरहेको थियो । त्यसमाथि गणेशमान सिंहको परिवार ठूलो बिल्लीबाठमा थियो । सानासाना बालबच्चाको विजोग थियो । उनीहरूको रेखदेख गर्ने कोही थिएनन् । गणेशमान सैनिक जेलमा हुनुहुन्थ्यो भने मंगलादेवी सिंह पटना सम्मेलनमा भाग लिन के गएकी थिइन्, उतै रक्सौलको नाका सम्हाल्ने इन्चार्ज बन्नपुगेकी थिइन् ।

पीएल सिंह आफ्नो समयका चर्चित विद्यार्थी नेता थिए । फर्पिङको पहिलो अंग्रेजी माध्यमको बोर्डिङ स्कुलबाट म्याट्रिक पास गरेर उच्च शिक्षाका लागि त्रिचन्द्र कलेजमा भर्ना भएका उनी प्रजातन्त्रवादी समूहका तर्फबाट विद्यार्थी युनियनका सभापति निर्वाचित भएका थिए । उनी आफ्नो समयका चिताकर्षक व्यक्तित्वका धनी तथा ह्यान्सम तरुण मात्र थिएनन्, मेधावी विद्यार्थी पनि थिए । त्यसैले उनी लौहपुरुष गणेशमान सिंहका ‘ब्ल्युव्वाइ’ बन्नपुगेका थिए

भएको के थियो भने गिरफ्तारीबाट बचेका कांग्रेसका सांसद तथा नेताहरूले सुवर्णशमशेरको नेतृत्वमा पटनामा भेला भएर राजाको कदमको भत्र्सना गर्दै अविलम्ब प्रतिनिधिसभाको बैठक बोलाएर प्रजातन्त्र पुनस्र्थापना गर्न चेतावनी मात्र दिएका थिएनन्, उनले त्यसो गरेनन् भने कांग्रेसले त्यसका लागि सशस्त्र संघर्ष थाल्ने अल्टिमेटम पनि दिएर त्यसको व्यापक तयारी थालिसकेको थियो । कांग्रेसको त्यही निर्णयानुसार रक्सौल कमान्ड मंगलादेवीको जिम्मामा यस कारण पर्न आएको थियो कि २००७ सालको क्रान्तिमा पनि त्यो नाका गणेशमान सिंहको अन्डरमा थियो । त्यसको परिणाम यो हुन पुगेको थियो, अब मंगला भाउजू (त्यसबेला उनलाई सबैले त्यही सम्बोधन गर्ने गर्थे) कलकत्ता त जान सक्थिन् तर काठमाडौंको बाटो भने बन्द भइसकेको थियो ।

९ वर्षदेखि डेढ वर्षसम्मका पाँच जना लालाबालालाई घरमा अलपत्र छाडेर देशको सीमाबाहिर बसेर क्रान्तिको मोर्चा सम्हालेको कुरा सुन्दा, जति रोमाञ्चकारी लाग्नसक्छ, एउटी आमाका लागि त्यस्तो वियोग उत्तिकै पीडादायी तथा मर्मान्तक घटना बन्नपुग्नु स्वाभाविक हुन्छ । त्यस प्रकार जब देश र प्रजातन्त्रका लागि परिवार त्याग्ने कि पार्टी भन्ने प्रश्न उपस्थित भयो, तब उनले प्रजातन्त्रका लागि परिवार त्याग्नेजस्तो कठोर विकल्प रोजेको घटनाले उनको व्यक्तित्वको क्रान्तिकारीपन त प्रकट भएको थियो, तर परिवारको बिचल्ली रोक्ने विकल्प भने त्यो थिएन । वास्तवमा त्यो निर्णय आध्यात्मिक आस्था र वैज्ञानिक तथ्य दुवै दृष्टिले उपयुक्त थिएन । भावुकताले मात्र न देश र दुनियाँ चल्छ, न परिवार सम्हाल्ने दायित्व पूरा हुन्छ । एकातिर विष्णुको अवतारको दावा गर्ने राजाको निरंकुशता, अर्कोतिर मंगलादेवीको नारी हठ ! त्यस्तो अत्यन्त विकट परिस्थितिमा पीएल सिंह, त्यो परिवार जोगाउन शक्तिमान बनेर प्रकट भए । त्यसपछि के भयो, त्यो प्रजातन्त्र पुनस्र्थापनाको इतिहासको अध्याय बनिसकेकाले थप प्रकाश पारिरहन आवश्यक नपर्ला ।

त्यसलाई अर्को शब्दमा यसरी पनि भन्न सकिन्छ, त्यस्तो संकटापन्न अवस्थामा गणेशमान सिंहको परिवारलाई पीएल सिंहले महाभारतका भगवान् कृष्णले पाण्डवलाई जसरी हरतरहका संकटबाट जोगाएर अन्ततः विजयी तुल्याएका थिए । प्रेमलाल सिंह, अर्थात् पीएल सिंहले पनि त्यस परिवारसमक्ष उपस्थित एकपछि अर्को संकटबाट त्यसैगरी बचाएर जीएम (गणेशमान) सिंहलाई नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता मात्र होइन, प्रजातन्त्रका सर्वकालिक नेताका रूपमा पनि स्थापित गर्न सफल भए । २०४६ सालको ऐतिहासिक जनआन्दोलनका माध्यमबाट प्रजातन्त्रको पुनस्र्थापना गरिछाड्न उनी सफल हुनु, त्यसको ज्वलन्त उदाहरण हो । उनको त्यस्तो सफलतामा पीएल सिंहको कति योगदान रहेको छ, त्यसको लेखाजोखा गर्नेले गर्दै गर्लान् तर यतिचाहिँ निर्धक्क भन्न सकिन्छ– नेपालको प्रजातान्त्रिक आन्दोलनलाई हाँकेर निर्णायक स्थान र स्थितिमा उकाल्न गणेशमान सिंहलाई जुन ऐतिहासिक श्रेय प्राप्त भएको छ, पीएल सिंहको अभावमा त्यस सम्भव हुने थियो कि थिएन निर्धक्क भन्न सकिन्न । ’cause, गणेशमान सिंहका अन्ध अनुयायीका रूपमा पीएल सिंहको अंशदान अतुलनीय रहेको थियो र भविष्यका लागि पनि त्यो उदाहरणका रूपमा रहिरहनेमा कसैले शंका गर्न सक्तैन । जसले त्यो परिवारका लागि आफ्नो सेवामा व्यवधान उत्पन्न होला भनेर आफ्नै परिवार जोड्ने र आफू हुनुको अस्तित्वलाई निरन्तरता दिने कामसमेत गरेन, त्यस्तो एकलव्यभावको निष्ठा समर्पण गर्ने व्यक्ति, कुनै कालखण्डमा यही धर्तीमा जन्मेका थिए भन्दा माथि गान्धीका प्रसंगमा आइन्स्टाइनले शंका व्यक्त गरेझैं पत्याइहाल्न धेरैलाई अवश्य गाह्रो पर्नेछ ।

अन्त्यमा, महाकवि लक्ष्मीप्रसाद देवकोटाका ती पंक्ति सापट लिएर यो सानो लेख यहीँ टुंग्याउने अनुमति चाहन्छु ।

खोज्छन् सुख भनी सुख त्यो कहाँ छ,
आफूं मिटाई अरूलाई दिनु जहाँ छ ।

सारांशमा उनको जीवनको आदर्श, भनेको गणेशमान सिंहको छाँया बनेर तिनै मूल्य र मान्यता स्थापित गर्नु थियो, जसका लागि उनको जन्म भएको थियो । त्यो कसीमा उनी सफल भए कि असफल भए ! त्यसको समीक्षा अथवा मूल्यांकन गर्ने काम भविष्यको पुस्ताको हो । उनैलाई छाडौं ।

पीएल सिंहको अमर आत्मालाई चिरशान्ति मिलोस् । सबैको यही कामना पुगोस् ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

epaper

ताजा समाचार

प्राविधिक शिक्षालयका प्रशिक्षकहरुका लागि सीपमूलक प्रशिक्षण