दृष्टिविहिनमा आँखाको ज्योति फर्किदा ओठमा मुस्कान

कपिलवस्तु । ‘बौ बुढाई गैलि ते पुरे अन्धेर लागे, बढे परेसान रहु आँखा देख्बेनी करी, अभिन्न तो पुरा देख्ढु मै बढी खुसि लगाल, नयाँ जिन्दगी पाइलु ( बाबु बुढो भएर पनि होला आखाँले केहि मेसो पाउदिन थे, अहिले त् पुरै देखेको छु , नयाँ जिन्दगि पाए खुसि लागेको छ ) भर्खरै मोतियाबिन्दुको शल्यक्रियापछि आँखाको ज्योति फेरि पाएकी कपिलवस्तुको बुद्धभूमि नगरपालिका –१ भेलाईका ७८ वर्षीया झिन्कु थारुले खुशी हुँदै सो कुरा बताए।

आँखामा मोतियाविन्दु भएर पछिल्लो २ वर्षदेखि ’round घुमफिर र दिसापिसाब गर्न पनि घरपरिवारका अन्यको सहाराले चलेका थारु गत पुस १० गते शल्यक्रिया सम्पन्न भए यता भने अब आफैँ हिँड्डुल गर्न सक्ने भएका छन। ” नाई सोचल सुख बुढाई मे पाइलु (मैले नसोचेको सुख यो बुढ्यौलीमा पाएँ)’ थारुले भने ।

मोतियाबिन्दुले आँखा टालिए पछि बाँकी जीवन बोझ भएको ठानेका उनमा अब फेरि संसार हेर्ने आश जागेको छ । थारुको दाइने आँखाको शल्यक्रिया भएको थियो ।

उनि जस्तै सोही वडाका ६५ वर्षीया लक्ष्मी कुवरले पनि नयाँ ज्योति पाएकोमा उपचारमा संलग्न चिकित्सक र सहयोग गर्ने नगर प्रमुखलाई धन्यवाद दिँदै खुसी मनाइन्। ‘धेरै वर्ष भएको थियो आँखामा समस्या देखिएको, आर्थिक अवस्थाका कारण बाहिर गएर उपचार गराउन पनि पाएको थिइनँ,’ कुवरले भनिन्, ‘तर मेयरज्यूले सबैलाई शिविर राखेर निःशुल्क उपचारको व्यवस्था मिलाइदिनुभयो। उपचार पाएर प्रष्ट आँखा देख्ने भएको छु। अत्यन्त खुसी लागेको छ।’

अन्धकारबाट फेरि यो संसार हामीलाई हेर्नकै लागिरहेछ जनाउँदै उनले नसोचेको सुख बुढ्यौलीमा पाएको अनुभूति भएको बताइन्।

उनीहरु जस्तै बुद्धभूमि ३ घनचौराका ८० वर्षीय सुमित्रादेवी दर्लामी मगर पनि आँखाको शल्यक्रियापछि पट्टि खोल्दा दङ्ग परिन् । ‘हेर्दाहेर्दै र देख्दादेख्दै आँखा बन्द भए, म त भगवानसँग पुकार गर्थे कि चाँडै लैजाउँ भनेर’, उनले भनिन्, ‘अब आँखा खुल्यो, अझै बाँच्न देऊ भन्दैछु ।’ थारु, दर्लामी जस्तै बुद्धभूमि– १ की ७३ वर्षीया लालुमाया मगर, बुद्धभूमि– २ की ६० वर्षीया बेचनी थारु, बुद्धभूमि–३ थुकौलिकि ६० वर्षीया फुलमाया थापा, माया विक र बुद्धभूमि–४ का ४० वर्षीय दिपक थापालाई पनि मोतियाबिन्दु र आँखामा मासु पलाएको समस्या शल्यक्रियाबाट निको भएपछि नयाँ जीवन पाएको महसुस भएको छ । ‘अपरेसन भएपछि अब भने बाँचिरहुँ जस्तो आश जाग्यो, अब लाग्दैछ, यो संसार हामीलाई हेर्नकै लागि हो’, सुमित्रादेवी दर्लामी मगरले खुशीका आँशु पुछ्दै भनिन् ।

पछिल्लो पटक बुद्धभूमि नगरपालिकाको आर्थिक सहयोगमा छन्द काले बाबु नारायणी आँखा अस्पताल बहादुरगंजले नगरका ग्रामीण भेगलाई लक्ष गरी पुस ९ र १० गते सञ्चालन गरेको वृहत आँखा जाँच र शल्यक्रियासहितको निःशुल्क उपचार प्रबन्धले यसपालि नगरका २०० जनाले गुमेको आँखाको ज्योति पाए । नगरको ग्रामीण भेगका गरिब बस्तीमा मोतियाबिन्दु र आँखामा मासु पलाउने समस्याका बिरामी बाक्लै देखिएपछि यसपालि नगरपालिकाले आँखाको जाँच, औषधि, चश्मा र शल्यक्रियासमेतको खर्च व्यहोर्ने प्रतिबद्धता जनाएर छन्द काले बाबु नारायणी आँखा अस्पताल बहादुरगंजलाई यसमा प्रबन्ध गर्न जिम्मा दिएको थियो ।

गाउँमा सञ्चालन भएको शिविरले गरिब, विपन्न, अशक्त, ज्येष्ठ नागरिक र बालबालिकालाई ठूलो राहत मिलेको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठको भनाइ छ। ‘गाउँमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिब, दलित र विपन्नको बसोबास हुन्छ, उनीहरू स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभावले गर्दा रोगसँग दिनहुँ लडेर बसिरहन बाध्य छन्, यस शिविरले गाउँका नागरिकलाई धेरै फाइदा पुगेको छ,’ उनले अगाडि भने, ‘जे जसरी सकिन्छ, राज्य हुनुको आभास नागरिकलाई दिलाउनु जनप्रतिनिधि तथा सरकारको दायित्व हो।’

शिविरमा सम्पुर्ण निःशुल्क उपलब्ध गराइएको छ। जनप्रतिनिधि भएको हिसाबले आफ्ना नागरिक रोगसँग लडिरहँदा नागरिकको उपचार गर्नुपर्छ भन्ने मान्यताले आफू लागिपरेको नगर प्रमुख श्रेष्ठले बताए । दुई दिन चलेको शिविरमा करिब एक हजारले आखाँ जाचँ गराएका थिए भने दुई सय जनाको निशुल्क आखाँको शल्यक्रिया भएको छ। छन्द काले बाबु नारायणी आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा शिविर संचालन भएको हो।

तपाइको प्रतिक्रिया
(Visited 144 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री शाहले देशवासीका नाममा गरेको सम्बोधनको पूर्णपाठ