काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं बैठक अप्रिलमा गर्न प्रस्ताव गरिएको छ । गत ४ पुसमा बसेको २४औं बिम्स्टेकका उच्च अधिकारीहरूले बैठकमा आयोजक राष्ट्र थाइल्यान्डले अप्रिलमा बिम्स्टेक सम्मेलन गर्ने प्रस्ताव गरेको हो ।
थाइल्यान्डले अध्यक्षता गरेको उच्च अधिकारीहरूको भर्चुअल बैठकपछि थाइल्यान्डको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार सन् २०२५ मा छैटौं बिम्स्टेक शिखर सम्मेलन गर्ने प्रस्ताव गरिएको छ ।
यसअघि गत १८ र १९ भदौमा छैटौं बिम्स्टेक शिखर सम्मेलनको मिति तय भएकामा थाइल्यान्डको राजनीतिक परिवर्तनका कारण अन्तिम समयमा स्थगित भएको थियो । ३० साउनमा थाइल्यान्डको संवैधानिक अदालतले त्यहाँका निवर्तमान प्रधानमन्त्री स्रेथा थाविसिनलाई नैतिक उल्लंघन गरेको ठहर गर्दै पदमुक्त गरेको थियो । थाइल्यान्डका प्रधानमन्त्री थाविसिन पदमुक्त भएसँगै बिम्स्टेक शिखर सम्मेलन हुने कि नहुने भन्ने प्रश्न उठेको थियो ।
अन्तिम समयमा राजनीतिक परिवर्तनसँगै थाइल्यान्डको विदेश मन्त्रालयले सम्बन्धित मुलुकलाई पत्राचार गर्दै सम्मेलन स्थगित भएको जानकारी दिएको थियो । थाइल्यान्ड नयाँ सरकार गठनको प्रक्रियामा रहेको र सरकार गठनमा ढिलाइ भएका कारण सम्मेलन स्थगित गर्नुपरेको थाइल्यान्डको विदेश मन्त्रालयले जनाएको थियो । शिखर सम्मेलन सामान्यतया प्रत्येक २ वर्षमा आयोजना गरिन्छ । बिम्स्टेकले स्थापनाको २६ वर्षमा सन् २०२२ मा बडापत्र (चार्टर) ल्याएको थियो ।
६ जुन १९९७ मा बैंकक घोषणापत्रमा हस्ताक्षर गरी स्थापना भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)मा दक्षिण र दक्षिणपूर्व एसियाका बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्यान्ड गरी सात देश सदस्य छन् ।
बिम्स्टेकको चौथो शिखर सम्मेलन १४ र १५ भदौ २०७५ मा काठमाडौंमा भएको थियो, जसको अध्यक्षता प्रधानमन्त्री ओलीले गरेका थिए । बिम्स्टेकको पाँचौं शिखर सम्मेलन श्रीलंकाको कोलम्बोमा ६ चैत २०७८ मा भएको थियो । तेस्रो शिखर सम्मेलन २० फागुन २०७० मा म्यानमारमा भएको थियो भने दोस्रो सम्मेलन २८ कात्तिक २०६५ मा नयाँदिल्लीमा र पहिलो शिखर सम्मेलन १६ साउन २०६१ मा थाइल्यान्डमा भएको थियो ।
बिम्स्टेकले दक्षिण एसिया र दक्षिण पूर्वी एसियालाई जोडेको छ । यस क्षेत्रको जनसंख्या १ अर्ब ७३ करोड छ । विश्वको करिब २२ प्रतिशत जनसंख्या रहेको यस क्षेत्रका मुलुकले पछिल्ला ५ वर्षमा ६ दशमलव ५ प्रतिशतको औसत आर्थिक वृद्धिदर हासिल गरेका छन् ।
गठबन्धनका रूपमा रहेको यस संगठनको उद्देश्य सदस्य राष्ट्रहरूबीच साझा सरोकारका विभिन्न विषयमा आपसी सहयोगमार्फत साझा समृद्धि हासिल गर्ने रहेको छ । बिमस्टेकको खास विशेषता भनेको यसले निर्धारण गरेका विशेष कार्य क्षेत्र हुन् । सुरुमा व्यापार, प्रविधि, यातायात, पर्यटन र मत्स्य व्यवसाय यसका कार्यक्षेत्र थिए । तर, सन् २००८ मा कृषि, जनस्वास्थ्य, गरिबी निवारण, प्रतिआतंकवाद, वातावरण, संस्कृति, जनस्तरको सम्बन्ध र जलवायु परिवर्तलाई यसका कार्यक्षेत्रका रूपमा थप गरिएको थियो ।
६ जुन १९९७ मा बिम्स्टेक स्थापना भएको थियो भने सदस्य मुलुकका कार्यकारी प्रमुखहरूले बिम्स्टेक बडापत्रमा ३० मार्च २०२२ मा हस्ताक्षर गरेका थिए । नेपालबाट तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बडापत्रमा हस्ताक्षर गरेका थिए ।
सार्कको विकल्पका रूपमा भारतले बिमस्टेकलाई अघि सारेको टिप्पणी हुँदै आइरहेको छ । पछिल्लोपटक सन् २०१४ मा सार्कको १८औं शिखर सम्मेलन नेपालमा भएपछि अर्को सम्मेलन भएको छैन । १९औं शिखर सम्मेलन गराउने जिम्मा पाकिस्तानले पाएको भए पनि अन्तिम समयमा भारतले सहभागी नहुने जनाएपछि स्थगित हुन पुग्यो ।
सन् २०१६ को १५ देखि १९ नोभेम्बरसम्म पाकिस्तानले १९औं शिखर सम्मेलनको तयारी गरे पनि भारत र पाकिस्तानबीच काश्मीरको विवादलाई लिएर द्वन्द्व चलेको थियो । सो द्वन्द्वका कारण भारतले सार्क सम्मेलनमा भाग नलिने भन्यो । त्यसपछि सार्क शिखर सम्मेलन अनिश्चित बनेको हो । सार्क शिखर सम्मेलन अनिश्चित बनेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाइमा पाकिस्तानबाहेकलाई समेटेर बिम्स्टेक गठन भयो । बिम्स्टेकले भने निरन्तरता पाइरहेको छ ।