काठमाडौं । नेपाल विज्ञापन संघले आइतबार विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीहरूलगायत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षलाई संलग्न गराई दुईवटा विशेष कार्यक्रमसहित आफ्नो २५औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
नेपाली आम सञ्चार क्षेत्रको पहिलो औद्योगिक संगठन संघको सो साधारणसभा राजधानीमा सम्पन्न भएको हो ।
पहिलो बन्द सत्रमा संघको वर्तमान कार्यसमितिका तर्फबाट संघका महासचिव तथा कोषाध्यक्षबाट प्रस्तुत गरिएको छुट्टाछुट्टै वार्षिक तथा आर्थिक तथा आगामी आर्थिक वर्षको कार्यक्रम र अनुमानित आय–व्यय विवरणहरू बहुमतले पारित गरी नियामकीय प्रावधान पूरा गरिएको थियो ।
त्यसपछि आयोजित दोस्रो सत्रमा विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीहरूलगायत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरूलाई संलग्न गराई ‘स्टेइङ रेलिभेन्ट रिसेपिङ नेपाल्स एडभर्टाइजिङ ल्यान्डस्केप’ शीर्षकमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो ।
विज्ञापन उत्पादक, पत्रकार तथा प्रस्तुकर्ता भूषण दाहालको समन्वयमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ता, मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार तथा नेपाल विज्ञापन संघका अध्यक्ष सुदीप थापाले आआफ्नो धारणा राखेका थिए ।
विज्ञापन ब्यवसायी रञ्जित आचार्यले राष्ट्रिय सामाजिक तथा आर्थिक परिप्रेक्ष्यमा विज्ञापन तथा समग्र मिडिया उद्योगको वर्तमान अवस्थाको चित्रण गरिएको बताए । कार्यक्रमको अन्तमा बोल्नेहरूले विज्ञापन व्यवसायी तथा मिडियाहरू समयसापेक्ष रूपमा परिष्कृत हुनुपर्ने, विज्ञापनदाताहरूले पनि विज्ञापनलाई खर्चभन्दा लगानीको रूपमा लिनुपर्ने बताएका थिए ।
उनीहरूले विज्ञापनले गर्दा मिडियाहरूलाई आर्थिक आत्मनिर्भर बनाउने भएकाले मिडियाहरूले पनि विज्ञापनदाता र लक्षित समूहलाई आकर्षण हुने सामग्री प्रस्तुत गर्न‘का साथै जनस्वास्थ्य स्वास्थ्य ऐन, क्लिन फिड नीतिलगायत विज्ञापनलाई बन्देज गर्ने कानुनहरूलाई समेत पुनर्विचार गर्न सम्बद्ध सबै पक्षहरूले आआफ्नो क्षेत्रबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सो कार्यक्रममा विज्ञापन उद्योग क्षेत्रको समग्र सुधारका विभिन्न निष्कर्ष र प्रतिबद्धतासहित सो कार्यक्रम समापन भएको संघले जनाएको छ । यसैगरी, आइतबारकै तेस्रो सत्रमा वरिष्ठ सञ्चारकर्मीहरू यादव खरेल, भारती सिलवाल गिरी, इमेज च्यानलका अध्यक्ष आरके मानन्धर, कामना प्रकाशन समूहका संस्थापक अध्यक्ष स्वर्गीय पुष्करलाल श्रेष्ठ तथा कृष्ण पाउरोटीका घनश्याम राजर्णिकारलाई नेपालको विज्ञापन उद्योग परिष्कृत भई अहिलेको अबस्थामा आई पुग्न उनीहरूले आ– आफ्नो क्षेत्रबाट गरेको योगदानको कदर गर्दै आन सम्मान प्रदान गरिएको थियो ।
त्यसैगरी, सो कार्यक्रममा हरेक वर्ष एड फेस्टको अबसरमा थाइल्यान्डमा आयोजना हुने योङ लोटस वर्कसपमा सन् २०२४ मा नेपालको प्रतिनिधित्व गरी अस्ट्रेलियालगायत एसिया प्रशान्त क्षेत्रका १८ विज्ञापन बजारहरूका प्रतिनिधिहरूबीच भएको प्रतिस्पर्धामा उत्कृष्ट पाँचभित्र पर्न सफल भई विश्व विज्ञापन मानचित्रमा नेपालको नाम उल्लेख गराउन सफल भएका प्रसन्न श्रेष्ठ र साइस्मा घिमिरेलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।







