इँटा उद्योगलाई अवरोध नगर्न अन्तरिम आदेश

दाङ । उच्च अदालत तुलसीपुरले हनुमान फिक्स चिम्नी इँटा उद्योगलाई कुनै अवरोध नगर्न विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइराला र न्यायाधीश नरबहादुर खड्काको संयुक्त इजलासले विपक्षी, घरेलु तथा साना उद्योग कार्यालय दाङ र दाङ देउखुरी इँटा व्यवसायी संघका नाममा आइतबार अन्तरिम आदेश जारी गरेको हो ।

सञ्चालनमा रहेको हनुमान इँटा उद्योगलाई घरेलु तथा साना उद्योग कार्यालय दाङले उद्योग बन्द गरेर कार्यालयलाई जानकारी गराउन २ पुसमा पत्र काटेपछि उद्योगका तर्फबाट मनकुमारी घर्तीले घरेलु, इँटा व्यवसायी संघसमेतलाई विपक्षी बनाएर ७ पुसमा उच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

‘स्वीकृत प्राप्त उद्योगले जिकज्याक फाइरिङ प्रविधिको अवलम्बन गरी इँटा पोल्ने कार्य गरेकाले इँटा फाइरिङ गर्ने कार्यमा कुनै अवरोध नगर्नू नगराउनू भनी विपक्षीका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ । आदेशको जानकारी विपक्षीलाई दिनुहोला,’ अन्तरिम आदेशमा भनिएको छ ।

तुलसीपुर–१८ मा सञ्चालनमा रहेको इँटा उद्योगको तर्फबाट वरिष्ठ अधिवक्तात्रय ईश्वरीप्रसाद भट्टराई, मोहनप्रसाद धिताल र रामशरण चौधरी र विपक्षीको तर्फबाट लुम्बिनी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयका सहायक न्यायधिवक्ता इन्दु बस्याल र अधिवक्ता सञ्जयकुमार केसीले बहस गरेका थिए ।

इँटा व्यवसायी संघको दबाबमा परेको घरेलुले प्रत्येक वर्षको पुस मसान्तपछि मात्रै इँटा पोल्ने कार्य सुरु गर्ने उद्योग विभागको निर्णयलाई टेकेर उद्योग बन्द गर्न पत्र काटेको थियो ।

यसैबीच, दाङ देउखुरी इँटा व्यवसायी संघको तर्फबाट जय श्री हनुमान इँटा उद्योगलाई विपक्षी बनाएर प्रकाश खड्काले दिएको रिट निवेदनको सुनुवाइ गर्दै उच्च अदालतका कायममुकायम न्यायाधीश सोमकान्त मैनालीको एकल इजलासले निवेदकलाई कुनै अपूरणीय क्षति नहुने भन्दै अन्तरिम आदेश जारी गरिरहन नपर्ने आदेश दिएको छ । पुस मसान्तपछि मात्रै आगो लगाउने कानुनी व्यवस्था भए पनि इँटामा जबरजस्ती आगो लगाएकाले तत्काल बन्द गराउन अन्तरिम आदेशको मागसहित संघले उच्च अदालतमा रिट दायर गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ