मुम्बई । बलिउड अभिनेता इरफान खानलाई मातृशोक परेको छ । भारतमा कोरोना संक्रमणका कारण जारी लकडाउनले गर्दा उनले आमाको अन्यष्टिमा सहभागी हुन पाएका छैनन् ।
अभिनेता इरफान खान यतिबेला मुम्बईमा छन् । उनकी आमा सइदा बेगमको शनिबार बेलुका राजस्थानको जयपुरमा आफ्नै घरमा निधन भएको हो । केही वर्षदेखि बिरामी रहेकी ८२ वर्षीया आमाको अन्त्येष्टिमा इरफान सहभागी हुन पाएनन् ।
अहिलेको लकडाउनका कारण हवाईसेवादेखि रेलसेवासमेत बन्द भएका कारण आमाको अत्येष्टिमा आफू जान नपाएको भन्दै अभिनेत इरफानले दुःख व्यक्त गरेका छन् । आफ्ना लागि जीवनको यो अत्यन्त दुःखद समय भएको पनि यी अभिनेताले बताएका छन् । अब उनले मुम्बईमै बसेर आमाको काजक्रिया गर्ने बताएका छन् ।
सन २०१७ मा क्यान्सरपीडित भएपछि लामो समय विदेशमा उपचार गराएर मुम्बई फर्केका इरफानले त्यसपछि फिल्म इंग्लिस मिडियममा काम गरे । अझै पनि आफ्नो स्वास्थ्य पूर्ण ठीक नभएकाले उनी मुम्बई बस्दै आएका छन् । उनी केही समयदेखि घर गएका थिएनन् ।






