६ महिनामा बजेट घाटा अधिक

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा सरकार आम्दानी र खर्च दुवैमा असफल देखिएको छ । महत्वांकाक्षा राखी ल्याइएको बजेटले न त राजस्व संकलन गर्न सकेको छ, न त पुँजीगत खर्च नै गर्न सकेको छ । वैदैशिक सहायता लिन पनि सरकार अति नै कमजोर देखिएको छ ।

सरकारले चालू आवका लागि ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ वैदेशिक अनुदान सहायता लिने लक्ष्य लिएकामा हालसम्म ७ अर्ब ३७ करोड ६ लाख रुपैयाँबराबर मात्र वैदेशिक सहायता प्राप्त भएको छ ।

आम्दानी ५ खर्ब ७४ अर्ब, खर्च ६ खर्ब ६७ अर्ब

पुँजीगत खर्च र वैदेशिक अनुदानमा असफल

६ महिनाको अवधिमा ९३ अर्ब रुपैयाँको बजेट घाटा पुगिसकेको छ । गत वर्षको ६ महिनामा ४८ अर्ब रुपैयाँ मात्रै घाटा रहेको थियो ।

सरकारले राजस्व संकलन ५ खर्ब ५९ अर्ब ६० करोड रुपैयाँ गरेको छ । यो राजस्वको रकम चालू खर्च अर्थात् तलब भत्तामा र सरकारको कर्जा र ब्याज तिर्न पनि नपुग रहेको छ । सरकारले चालूतर्फ ४ खर्ब ५२ अर्ब खर्च गरिसकेको छ भने कर्जाको ब्याज र सावाँमा १ खर्ब ५८ अर्ब ६६ करोड रुपैयाँ खर्च गरिसकेको छ । सावाँ–ब्याज र तलबका लागि पनि राजस्व आम्दानीको ५२ अर्ब रुपैयाँ नपुग रहेको देखिएको छ । यसका लागि पनि सरकार कर्जा उठाउन बाध्य भएको छ । सरकारले चालू आवमा साढे ४ खर्ब रुपैयाँ कर्जा उठाउने लक्ष्य लिएको छ ।

बाह्य कर्जा उठाउन पनि असमर्थ हुँदै गएपछि सरकार अहिले आन्तरिक कर्जा उठाउन हरदम प्रयास गरिरहेको छ । तलब र सावाँ–ब्याज तिर्न पनि राजस्व संकलन नभएपछि सरकारले जानाजान विकास खर्च अर्थात् पुँजीगत खर्चमा कञ्जुस्याइँ गर्दै आएको छ ।

पुँजीगत खर्चलाई कमजोर पार्नकै लागि सरकारले निर्माण व्यवसायीहरूको बिल भुक्तानी गर्न आनाकानी गर्दै आएको आरोप लाग्दै आएको छ । चालू आवमा ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य लिएकामा हालसम्ममा ५६ अर्ब ९३ करोड रुपैयाँमै सरकार अल्झिरहेको छ । यो भनेको कुल लक्ष्यको १६ दशमलव १६ प्रतिशत मात्रै हो ।

६ महिनामा सरकारले ६ खर्ब ६७ अर्ब ६० करोड रुपैयाँबराबरको बजेट खर्च गरेको छ । यसै समयमा सरकारले ऋणबाहेक ५ खर्ब ७४ अर्ब ७६ करोड रुपैयाँ आय गरेको छ ।

सरकारले ६ महिनाको अवधिमा चालू तथा प्रशासनिक खर्चमा गत वर्षको तुलनामा ३ प्रतिशतले बढाएर ४ खर्ब ५२ अर्ब रुपैयाँ पु¥याएको छ ।

६ महिनामा सार्वजनिक ऋणको सावाँ भुक्तानी तथा सार्वजनिक संस्थानमा गरिएको लगानीअन्तर्गतको वित्तीय व्यवस्थातर्फ १ खर्ब ५८ अर्ब ६६ करोड रुपैयाँ भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले भने ६ महिनाको अवधिमा राजस्वमा करिब १३ प्रतिशतको वृद्धि भएको दाबी गरेका छन् । यस अवधिमा कर राजस्व १० दशमलव ३३ प्रतिशतले बढेको र ४ खर्ब ९८ अर्ब ३९ करोड रुपैयाँबराबरको कर राजस्व संकलन भएको मन्त्री पौडेलको दाबी छ । गत वर्ष यसै समयमा ४ खर्ब ४३ अर्ब ५५ करोड रुपैयाँबराबरको राजस्व संकलन भएको थियो ।

यस वर्ष १ खर्ब २२ अर्ब ३९ करोड रुपैयाँबराबरको आयकर संकलन भएको छ । यो अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले बढी हो ।

उनका अनुसार राजस्व संकलन समग्रमा ६ प्रतिशतले बढे पनि पुस महिनामा मात्रै २१ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष सरकारले एफपीओ तथा बार्गेन पर्चेज ऐनअन्तर्गत करिब १३ अर्ब रुपैयाँ अतिरिक्त कर उठाउन सकेका कारण यस वर्ष वृद्धिदर कम देखिएको हो ।

अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार ६ महिनामा बहाल कर १० प्रतिशतले बढेर १ अर्ब २८ करोड पुगेको छ । ब्याजकर १५ प्रतिशतले घटेर १६ अर्ब ९ करोड मात्र संकलन भएको छ ।

मूल्य अभिवृद्धिकर १६ प्रतिशतले बढेर ६४ अर्ब ५८ करोड रुपैयाँ संकलन भएको मन्त्रालयको तथ्यांक छ । यसैगरी, अन्तःशुल्क २२ प्रतिशतले बढेर ५७ अर्ब ४१ करोड रुपैयाँ संकलन भएको छ ।

गैरकर राजस्व गत वर्षको तुलनामा ३२ प्रतिशतले बढेको छ । यसको अर्थ सरकारले संकलन गर्ने विभिन्न शुल्कबाट हुने आम्दानी बढेको भन्ने हुन्छ । ६ महिनाको अवधिमा ७० अर्ब २० करोड रुपैयाँको गैरकर प्राप्त भएको छ । गत वर्ष यस समयमा ५२ अर्ब ९४ करोड संकलन भएको थियो ।

विदेशी अनुदान पनि बढेर ७ अर्ब ३६ करोड पुगेको छ । गत वर्ष यस अवधिमा २ अर्ब २७ करोड प्राप्ति भएको थियो ।

अन्य प्राप्ति भने गत वर्षको भन्दा ११ अर्ब १० करोड रुपैयाँले कम छ । गत वर्ष यस्तो प्राप्ति १८ अर्ब ८९ करोड रुपैयाँको थियो भने यस वर्ष ७ अर्ब ७८ करोड रुपैयाँको छ ।

समग्रमा ऋणबाहेकको आम्दानी गत वर्षको भन्दा ५६ अर्ब ६१ करोड रुपैयाँले बढेर ५ खर्ब ७४ अर्ब ७५ करोड पुगेको छ । सरकारले ६ महिनाको अवधिमा राजस्वबाट मात्रै ६ खर्ब ७५ अर्ब रुपैयाँ स्रोत उठाउने लक्ष्य निर्धारण गरे पनि अनुदान र अन्य प्राप्तिसमेत जोड्दा ९३ अर्ब रुपैयाँको खाडल रहेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ३९ दशमलव शून्य ६ प्रतिशत आम्दानी र ३५ दशमलव ८९ प्रतिशत खर्च गरेको छ । सरकारले चालू आवका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो । पुस मसान्तसम्ममा ६ खर्ब ६७ अर्ब ६० करोड १९ लाख रुपैयाँबराबर खर्च भएको छ । यस अवधिको खर्च वार्षिक लक्ष्यको ३५ दशमलव ८९ प्रतिशत हो ।

सरकारले चालू आवमा १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । गत पुस मसान्तसम्ममा ५ खर्ब ७४ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ मात्र राजस्व उठेको छ । यो वार्षिक लक्ष्यको ३९ दशमलव शून्य ६ प्रतिशत हो । कर राजस्वतर्फ ३८ दशमलव ११ प्रतिशत अर्थात् ४ खर्ब ८९ अर्ब ३९ करोड ९२ लाख र गैरकर राजस्वतर्फ ५१ दशमलव ९७ प्रतिशत अर्थात् ७० अर्ब २० करोड ८२ लाख रुपैयाँ संकलन भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 141 times, 1 visits today)

epaper

ताजा समाचार

कर्णालीका हिलाम्य सडकमा पूर्वाधारमन्त्री लम्साल !